रापिनोएले भनिन्, ‘म समलिंगी हुँ’

न्युयोर्क, २४ असार । अमेरिकाको ओलम्पिक महिला फुटबल स्टार मेगान रापिनोएले आफू समलिंगी भएको बताएकी छन् । अन्य समलिंगी पनि सार्वजनिक हुन उनीहरूलाई रापिनोएको आग्रह छ । रापिनोए, अमेरिकी महिला राष्ट्रिय फुटबल टिमको महत्त्वपूर्ण सदस्य छिन् ।
आउट डटकमले गरेको अन्तरवार्तामा रापिनोएले आफू अस्ट्रेलियाली महिला फुटबलर साह्रा वाल्ससँग विगत एक वर्षयता ‘डेटिङ’ गइरहेको बताइन् । ‘मलाई लाग्छ, मानिसहरू आदर र सम्मान गर्न थालेका छन् त्यसैले म नडराई भन्छु, ‘म महिला समलिंगी (गे) हुँ ।’ रापिनोएले भनिन्, ‘साँच्ची नै म समलिंगी हुँ ।’
गत वर्ष महिला विश्वकपमा अमेरिकाले फाइनलयात्रा तय गर्दा रापिनोएको प्रदर्शन सानदार थियो । उक्त प्रतियोगितामा क्वार्टरफाइनलमा ब्राजिलविरुद्ध भिड्ने क्रममा रापिनोएले अबे वाम्बाचलाई एउटा सुन्दर क्रस उपलब्ध गराएकी थिइन् जसलाई वाम्बाचले सदुपयोग गरेपछि अमेरिकाले खेल बराबरीमा ल्याइपुर्‍याएको थियो । ‘सबै महिला समलिंगी खेलाडी सार्वजनिक हुनुपर्छ,’ रापिनोएको आग्रह छ, ‘उनीहरूलाई सम्मान गरिनुपर्छ र त्यस्तो कार्यको प्रशंसा पनि हुनुपर्छ ।’
आसन्न लन्डन ओलम्पिकमा उपाधिरक्षा गर्ने अभियानमा रहेको अमेरिकाका लागी रापिनोएको प्रदर्शन महत्त्वपूर्ण हुन सक्ने अनुमान गरिएको छ । चार वर्षअघि बेइजिङमा सम्पन्न ओलम्पिकमा अमेरिकाले महिला फुटबलतर्फ स्वर्णपदक जित्दा रापिनोए नै मुख्य खेलाडी थिइन् । ब्राजिलविरुद्ध फाइनलमा अतिरिक्त समयमा गोल गरी अमेरिका त्यतिबेला च्याम्पियन भएको थियो ।
राष्ट्रिय टिममा स्थान बनाएयता रापिनोएले आफ्नो लैंगिकताबारे गोप्य राखेकी थिइन् । वाल्ससँगको सम्बन्ध पनि गोप्य नै थियो । आफूलाई समलिंगी सम्बन्धमा कहिले जिज्ञासा नराखेका कारण यो विषयबारे केही नबोलेको रापिनोएको भनाइ छ । एजेन्सी

प्रतिक्रिया