एउटा जिन्दगी परी कथाजस्तो

झट्ट सुन्दा कुनै किम्बदन्तीजस्तो लाग्ने, कुनै परीकथाजस्तो लाग्ने र कुनै सिनेकथाजस्तो लाग्ने यो प्रसंग वर्तमान समयको हो, तपार्इं हामी बाँचिरहेको यही कठोर वास्तविकताले भरिएको हिजोआजको हो । यसमा केवल दुई पात्र छन्– छोरी र आमा (त्यसो त नेपथ्यमा शिक्षिका, बुबा, दाइ, भाइबहिनी र अरू सहयोगीसमेत अनेक छन्) । र, ती सबैलाई यस अवसरमा सम्झनु पत्रकारिताको धर्म पनि हो । तर, हाम्रो गाँठी कुरा जोडिएको छ ती युवतीसित, जसको नाम हो शर्मिला लामिछाने ।
अन्य कुरा आफ्नो ठाउँमा छन् तर शर्मिलाको सबैभन्दा ठूलो विशेषता के हो भने उनले खेलकुदको क्षेत्रबाट नेपाललाई विश्वभरि चिनाइन् । त्यो कसरी ? स्वाभाविक प्रश्न उठ्छ । त्यो कसरी भने उनले गत २५ जुनदेखि ४ जुलाईसम्म ग्रीसको राजधानी एथेन्समा भएको ‘तेह्रौं स्पेसल ओलम्पिक्स, वल्र्ड समर गेम्स’ मा भाग लिंदै एथलेटिक्समा स्वर्णपदक जितिन् । त्यहाँ उनले छोटो दूरीको दौड र सटपुट स्पर्धामा भाग लिएकी थिइन् । दौडमा उनी चौथो स्थानमा आउन सफल भइन् तर सटपुटमा भने उनले स्वर्णपदक जितिन् र स्पेसल ओलम्पिक्सको दुनियाँमा नेपालको नाम अंकित गरिन् ।
तैपनि उनको नाम सबै नेपालीको जन–गण–मनमा थिएन । धन्यवाद दिनुपर्छ नेपाल खेलकुद पत्रकार मञ्चलाई जसले उनलाई वर्ष ०६८ को ‘पारा–ओलम्पिक एथलिट अफ दि इअर’ पुरस्कारले विभूषित गर्‍यो । अनि चर्चा चल्यो, उनको विशेषता के त ? र, त्यसपछि उनी भरर्र सबै नेपाली मिडियामा अकस्मात् छाउन पुगिन् ।
सौर्य दैनिकका लागि जयदेव गौतमसित कुराकानी गर्दै उनले भनिन्, ‘विदेशमा पदक जित्दा मलाई निकै खुसी लाग्यो । सुरुमा त मलाई थाहा थिएन मैंले जितें भनेर, तर सँगै गएका सर र साथीहरूले भनेपछि म प्रथम भएँ भन्ने थाहा भयो । त्योबेला मैंले सबैभन्दा बढी आफ्नी ममीलाई सम्झें । उहाँले मेरा लागि कति धेरै गरिरहनुभएको छ भन्ने सम्झें । अनि त मेरा आँखाबाट आफ से आफ पानीका थोपा पो बग्न थाले त ।’
एक्काइस वर्षीया शर्मिलाले एथेन्समा जितेको त्यो पदकको महिमा आफ्नी ममीलाई सम्झेर आँसु खसाल्नुमा मात्र सीमित छैन, यो त पृथक क्षमता भएका (डिफरेन्टी एबल) कुनै नेपाली खेलाडीले अन्तर्राष्ट्रिय क्षेत्रमा पाएको सर्वाधिक ठूलो पदक पनि हो । यस अर्थमा उनले नयाँ इतिहास कोरेकी थिइन् । तर जहाँ बलेको आगो ताप्नेहरूको हालीमुहाली छ त्यस्तो क्षेत्रमा यहाँ यसको रेकर्ड राख्ने र पहिचान औ सम्मान गर्ने कसले ?
पत्याउनै गाह्रो हुन्छ, शर्मिला लामिछाने तिनै बालिका हुन् जो तीन वर्षको उमेरसम्म बोल्नै सकेकी थिइनन् । जन्मँदा उनी सामान्य थिइन्, तर जसै उमेर बढ्दै गयो उनमा रहेका असामान्यताहरू एकपछि अर्को गर्दै देखिन थाले । पिता ऋषिराम र आमा यगुमायाका दुई छोरा र दुई छोरी सन्तानमा जेठी छोरी र माइली सन्तानका रूपमा विसं ०३७ असार ९ गते चितवनको भरतपुर नपा–१० कालिका मन्दिर मार्गमा जन्मेकी शर्मिलाको जीवनका दस वर्षसम्मको जीवन सम्झनलायक छैन ।
उनले चार वर्षको उमेरमा पाइला हालेपछि उनलाई स्थानीय चितवन माविमा भर्ना गरियो । तर, उनी त घरबाट स्कुल जान हिंड्ने र बाटामा खेल्दाखेल्दै त्यहीं निदाउने र स्कुल नै नपुग्ने पो हुन थाल्यो । तापनि उनलाई त्यही स्कुलमा राखियो । पछि समस्या के भइदियो भने उनी त्यही स्कुलमा एक कक्षामै लगातार तीन वर्ष फेल भइन् । उनको समस्या के देखियो भने, उनले अक्षर हेर्ने, लेख्न प्रयास गर्ने तर अक्षरै चाहिँ नचिन्ने †
छोरीको यो अवस्थाबारे आमा निकै चिन्तित थिइन् । उनलाई छोरीको विषयमा के गरूँ के नगरूँ भइरहन्थ्यो । अनि उनी स्कुलमा पुगिन् र त्यहाँ उनले शिक्षक–शिक्षिकासित समस्याबारे गहिरिएर खोजतलास गरिन् । प्राप्त जवाफले उनलाई खङ्ग्रङ पार्‍यो, छाँगाबाट खसेसरी तुल्यायो जतिबेला स्कुलमा पढाउनेहरूले उनलाई भनिदिए, ‘तिम्री छोरी शर्मिला सुस्त मनस्थिति भएकी बालिका हो र उसले यस्तो सद्दे स्कुलमा पढ्न सक्दिन । उसलाई त्यस्तै किसिमको अर्को स्कुलमा पढाउनु पर्छ ।’
अनि त आमाको मन । उनलाई के गरूँ के नगरूँ जस्तो भयो । तर, उनले हिम्मत हारिनन् । उनलाई लाग्यो, ‘यो मेरीे छोरी हो । यसका लागि मैंले केही गरिनँ भने अरू कसले पो गर्छ र ? म आफूले लागेपुगेसम्म सबै कुरा गर्छु ।’ उनी छोरीलाई लिएर काठमाडौं धाइन् । त्रिपुरेश्वरको कुनै नर्सिङ होममा परीक्षण गराइन् । उनले चिकित्सकलाई थप जानकारी गराइन्– शर्मिला राति ओछ्यानबाट आफै उठ्छे, कोठाको ढोकाको चुकुल खोल्छे र यताउता बरालिइहिंड्छे । पछि उसलाई यसबारेमा केही थाहा हुँदैन ।
अनि चिकित्सकहरूले दिनहुँ खानु पर्ने एक किसिमको औषधि दिए ।
तर, आमा यगुमाया अन्यत्र पनि धेरै ठाउँ पुगिन् छोरीको समस्या लिएर । कहिले बुटवल त कहिले कता, त कहिले चितवनकै गाउँ–ठाउँ र अन्कन्टार इलाकाहरूमा । पढालेखाहरूले उनलाई सुस्तमनस्थिति भएका बालबालिकाले पढ्ने स्कुलमा भर्ना गर्ने सल्लाह दिए । तर छोरीले, ‘दाइले त्यही स्कुलमा पढ्न हुने, मैंले किन नहुने ? आखिर म पनि त त्यही स्कुलको विद्यार्थी हुँ नि’ भन्दै रुँदै अनेकभाँति तर्कनाहरू गर्न थाली । फेरि आमाको मन † उनले घरनजिकै नारायणी मावि (हाल नमूना नारायणी मावि) मा बौद्धिक अपांगहरूका लागि अलग कक्षा रहेछ, त्यसमै भर्ना गरिदिइन् छोरीलाई ।
अनि जीवनले फरक मोड लिन थालेको आभास हुन थाल्यो ।
काठमाडौंका चिकित्सकहरूले दिएको औषधिको प्रभावले गर्दा शर्मिला रातिराति कोठाबाट बाहिर निस्कन छाडिन् । त्यसरी निस्कँदा उनमा एक खालको भय उत्पन्न हुन थालेछ । त्योबाहेक, स्कुलका शिक्षिकाहरू गायत्री अधिकारी र यमुना श्रेष्ठले उनलाई निकै राम्रो गरी सिकाउने र घरमा आमाले पनि उस्तै परिश्रमपूर्ण तरिकाले सिकाउने हुन थाल्यो । खेलमा जिते उनै शिक्षिकाहरू भन्थे, ‘शर्मिला राम्रो भएको छ । तिमीले जितेकी छयौ । फेरि पनि जित है †’ खासगरी त घरको सिकाइ शर्मिलाका लागि फलदायी हँुदै गएको देखिन थाल्यो । अब शर्मिला खाना पकाउन, भाँडा माझ्न, पाहुनापाछाको सत्कार गर्न, घरको र निजी सरसफाइका कुरामा निकै पोख्त हुँदै आइन् । उनको घरायसी व्यवहारप्रति आमा यगुमाया अत्यन्त सन्तुष्ट देखिन्छिन् ।
पृथक किसिमको कक्षामा भर्ना भएपछि विस्तारै शर्मिलाभित्र रहेको प्रतिभा प्रस्फुटन हुन थाल्यो । उनीभित्रको इच्छा क्रमश: बाहिर आउन थाल्यो । खासमा उनलाई खेलकुदमा अखण्ड रुचि रहेछ । त्यमा पनि, दौडमा । उनी भन्ने गर्थिन्, ‘मैले दौडेर सबैलाई जित्ने हो । कसैले पनि मलाई उछिन्न पाउँदैन ।’ आमा भन्छिन्, ‘म त फस्र्ट हुने हो भन्दै बिहानबिहान दौडने गर्थी छोरी ।’ यसरी उनी दौड र सटपुटतिर अग्रसर भइन् । स्वयं उनलाई नै त्यतिबेला थाहा थिएन, कालान्तरमा यही खेलले उनलाई राष्ट्रव्यापी र अन्तर्राष्ट्रिय पहिचान दिलाउने छ भनेर ।
शर्मिला तीन वर्षकी भएपछि बल्ल उनको पहिलो बक् फुट्यो । त्योबेला उनको पेट असाधारण किसिमले ठूलो थियो, खुट्टा सुकेका थिए र पुट्ठो निकै सुकेको थियो । तर हिंडाइ भने सामान्य नै थियो । तर अहिले ४३ वर्षमा हिंडिरहेकी आमा यगुमायाले हार मानिनन् । सामान्य लेखपढ मात्र भएकी उनमा अनौठो अठोट देखिन्छ, हत्पत्ति हार नमान्ने एउटा खास स्वभाव अन्तर्निहित रहेको महसुस हुन्छ । उनी चितवनकै एउटा होटलमा काम गर्छिन् । उनका श्रीमान् र शर्मिलाका बुबा ऋषिराम पनि पहिले चितवनकै होटलमा सहायक कुकका रूपमा काम गर्थे तर अठार वर्ष काम गरेपछि उनमा दमको रोग बाक्लै देखिन थाल्यो र त्यसपछि उनलाई कामबाट छुटाइयो । अहिले कुनै ‘इन्कम जेनरेट’ नगरीकन उनी घरमै बस्छन् । शर्मिलाका दाजु प्रकाशलाई पढ्नेतिर खासै जाँगर चलेन र अहिले उनी लेखपढको दुनियाँ छाडेर साउदी अरबतिर रियालमा रमाइरहेका छन् । बहिनी प्रमिला नौ कक्षामा पढ्दै छिन् भने भाइ प्रवेश पढ्न छाडेर घरमै बसिरहेको छ । यसरी घरको अवस्था कसैगरी पनि अनुकूल भन्न सकिने किसिमको छैन । तर, उनी भन्छिन्, ‘छोरीले जहाँसम्म जान्छु र जतिसम्म खेल्छु भन्छे, त्यतिबेलासम्म म लागिरहन्छु र उसलाई सहयोग गरिरहन्छु ।’
‘ग्रीसमा अरू कुनै पनि साथी फस्र्ट भएन, खाली सेकेन्ड वा थर्ड मात्र भएँ । म मात्र हो फस्र्ट भएको,’ निर्दोष मुस्कान अनुहारभरि छर्दै शर्मिला भन्छिन् । उनी चौध वर्षको उमेर भएदेखि विशेष खेलकुदमा सहभागी हुन थालेकी हुन् । पन्ध्र वर्षको हुँदा उनले वाग्लुङमा भएको अन्तरजिल्ला खेलकुदमा दौडमा स्वर्ण जितिन् । पछि ०६७ माघमा चितवनकै क्याम्पाचौरमा भएको राष्ट्रिय बौद्धिक अपाङ्ग खेलकुदमा पनि उनले दौड र सटपुटमा विजय हात पारिन् । त्यही विजयले उनको ग्रीस यात्राको ढोका खोलिदियो ।
आमाले उनलाई ऋण काढेरै भए पनि विदेश पठाइन् । उनलाई लाग्छ, ‘आमा जिउँदो छँदासम्म त हो नि । आमा मरेपछि के हो के हो । त्यसैले मैंले ऋण काढेरै भए पनि छोरीलाई विदेश खेल्न पठाएँ । कम्तीमा छोरीले विदेश देख्छे, धेरैथरिका साथीहरू भेट्छे, केही न केही नयाँ कुरा सिक्छे र नानी टाठी पनि हुन्छे भनेर पठाएको हो । र, उसले विदेशमा जितेर पनि देखाइ दिई । मेरो इच्छा र छोरीको परिश्रम सफल भएको छ ।’ उनीहरूलाई दु:ख एउटा मात्र छ, एउटी सुस्त मनस्थितिकी युवतीले विदेशमा खेलेर स्वर्ण पदक जितेर ल्याई तर सरकारीस्तरबाट उसको कुनै कदर भएन । एक वर्षभन्दा धेरै भइसक्यो, अहिलेसम्म कुनै पनि सरकारी निकायबाट केही भएको छैन । खेलकुदमा विकास र आश्वासनका एमानका खोला बगाउनेहरू किन यससम्बन्धमा मौन देखिएका ? हो, खेलकुद पत्रकारहरूको पहलमा केही भयो तर सरकारी निकायबाट ‘फरक ढंगले सक्षम खेलाडीहरू’प्रति यो चरम उपेक्षा किन ? र, कहिलेसम्म ?

प्रतिक्रिया