कीर्तिमान रच्दै पिस्टुरियस

लन्डन, २२ असार । पारा ओलम्पिक र गृष्मकालीन ओलम्पिक दुवैमा सहभागिता जनाउँदै दक्षिण अफ्रिकी धावक ओस्कार पिस्टुरियसले नयाँ कीर्तीमान बनाउने भएका छन् ।
पारा ओलम्पिक खेलिसकेका धावक पिस्टुरियस आसन्न लन्डन ओलम्पिकमा दक्षिण अफ्रिकी टोलीबाट ४ गुणा ४ सय मिटर रिलेमा सहभागी हँुदै छन् । ‘यो मेरो जीवनको सबैभन्दा गौरवशाली दिन हो,’ छनोटपछि २५ वर्षीय पिस्टुरियसले भने । ४ सय मिटरमा पनि छनोट खेलेका उनीे तय गरेकोभन्दा बढी समय लगाएका कारण उक्त स्पर्धामा भने छनोट हुन नसकेको दक्षिण अफ्रिकी ओलम्पिक कमिटीले जनाएको छ ।
गत वर्ष कोरियामा भएको विश्वएथलेटिक्स च्याम्पियनसिपमा सहभागिता जनाएका पिस्टुरियस त्यसमा सेमिफाइनलसम्म पुगेका थिए । उनी टिम इभेन्टमा पनि सहभागी थिए । तर, त्यसमा उनी हिट चरणमा मात्र दौडिए । उक्त स्पर्धामा दक्षिण अफ्रिकाले रजतपदक जितेको थियो । कृत्रिम गोडा भएका पिस्टुरियसलाई ‘ब्लेड लिम्बर’ पनि भनिन्छ ।
सन् २००८ मा कृत्रिम गोडाले नै सहयोग पुर्‍याएको दाबी गर्दै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले उनीमाथि प्रतिबन्ध लगाएको थियो । पछि उनलाई कोर्ट अफ आर्बिटेसन अफ स्पोर्ट्सले सफाइ दियो । लन्डनमै हुने पारा ओलम्पिकमा उनले १ सय, २ सय, ४ सय र ४ गुणा सय मिटर रिलेमा सहभागिता जनाउँदै छन् । तीन स्पर्धाको पारा ओलम्पिक उपाधि जिताउने आफ्नो अभियान सफल हुने उनको विश्वास छ ।

प्रतिक्रिया