खेलकर्मीले मनाए गुरुपूर्णिमा

काठमाडौ, २० असार । खेलक्षेत्रमा सक्रिय खेलकर्मीले मंगलबार गुरुपूर्णिमा मनाए । सबै खेलाडीले प्रशिक्षकहरूको उपस्थितिमा गुरुपूर्णिमा मनाएका थिए । सातदोबाटो सुटिङ रेन्जमा सुटिङ खेलाडीले मुख्य प्रशिक्षक ध्रुवविक्रम शाह र वरिष्ठ प्रशिक्षक प्रदीप खातीको उपस्थितिमा गुरुपूर्णिमा मनाए । कार्यक्रममा ओलम्पियन टीकाराम श्रेष्ठ र फूलमाया क्यापछयाकीका साथै अन्य खेलाडीको पनि उपस्थिति थियो । त्यसैगरी, सहायक प्रशिक्षक प्रमिला राई र मुख्य प्रशिक्षक सूर्यबहादुर लामाको उपस्थितिमा नेपाल क्योकुसिन कराते डो संघ ठमेल डोजोले गुरुपूर्णिमा मनायो ।
यसैगरी, नेपाल वादोरियो कराते संघले जापानी गुरु यासुकी कुरानामीको फोटोमा माल्यार्पण गरेर गुरुपूर्णिमा मनाएको छ । सो अवसरमा नेपाल वादोरियो करातेका मुख्य प्रशिक्षकसमेत रहेका हरिशरण केसीबाट अन्य प्रशिक्षक र खेलाडीहरूले आशीर्वाद लिएर गुरुपूर्णिमा मनाए । करिब २ सय २५ जना खेलाडीले आफ्ना गुरुहरूबाट आशीर्वाद ग्रहण गरेका थिए । बसुन्धरास्थित यति पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा संघका अध्यक्ष श्याम खड्का, उपाध्यक्ष अर्जुन सिंह, महासचिव शशिकुमार तिलुङ, सचिव धर्मराज रिजाललगायतको उपस्थिति थियो ।
त्यस्तै नेपाल सिन क्योकुसिन कराते संघले पनि केन्द्रीय डोजोमा एक कार्यक्रमको आयोजना गरी भव्यताका साथ गुरुपूर्णिमा मनायो । सो अवसरमा संघका अध्यक्ष कृष्ण लम्साल, ब्रान्च चिफ लक्ष्मणकुमार श्रेष्ठ, कोषाध्यक्ष दीपु श्रेष्ठलगायतको उपस्थिति थियो । मंगलबार नै नेपाल भारोत्तोलन संघले पनि गुरुपूर्णिमा भव्यताका साथ सम्पन्न गरेको छ ।
नेपाल वादोकाई कराते संघका प्रशिक्षक तथा खेलाडीहरूले पनि मंगलबार गुरुपूर्णिमा मनाएका छन् । आफ्ना गुरु मानबहादुर तामाङको आशीर्वाद लिन केन्द्रीय कार्यालयमा वादोकाई संघका वरिष्ठ उपाध्यक्ष्य देव लामा, उपाध्यक्ष होमबहादुर लामा, महासचिव नारायणबहादुर मगर, सचिव आइतमान तामाङ, केन्द्रीय सदस्य राजेन्द्र गौतम, सुजेन्द्र केसी, सोमबहादुर तामाङ, श्यामकुमार स्याङतान, राजु लामा, बलबहादुर बस्नेतलगायतले गुरु तामाङबाट आशीर्वाद लिएका थिए । तामाङ नेपाल वादोरियो कराते महासंघका अध्यक्ष एवं नेपाल वादोकाई करातेका अध्यक्ष तथा मुख्य प्रशिक्षक हुन् ।
त्यसैगरी मंगलबारै संघका जोसेफ स्कुल, महाँकाल डोजो, गौशाला डोजो, मनमैजु मातासिं डोजो, गोंगबु डोजोलगायत डोजोहरूमा भव्यताका साथ गुरुपूर्णिमा मनाइएको संघका महासचिव नारायणबहादुर मगरले बताए ।

प्रतिक्रिया