भारत र पाकिस्तानकाे युद्धविरामबारे अन्तर्राष्ट्रिय मिडियामा कसरी चर्चा भइरहेको छ ?

शनिबार मुल्तानमा पाकिस्तान र भारतबीच युद्धविराम भएपछि पाकिस्तानी जनताले मिठाई आदानप्रदान गर्दै उत्सव मनाएका थिए । धेरै दिनसम्म घातक जेट लडाकु, क्षेप्यास्त्र, ड्रोन र तोपखाना आक्रमणहरुपछि पाकिस्तान र भारतले शनिबार पूर्ण र तत्काल युद्धविराममा सहमति जनाएका थिए ।

काठमाडौं । जम्मू–कश्मीरको पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच तनाव चरम सीमामा छ । यद्यपि, शनिबार दुवै देशले युद्धविरामको घोषणा गरे । तर युद्धविराम भएको केही घण्टापछि नै दुवै देशले एक–अर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाए ।

दुई देशबीचको युद्धविराम र त्यसको उल्लंघनको बारेमा अन्तर्राष्ट्रिय मिडियामा चर्चा भइरहेको छ । भारत र पाकिस्तानको बारेमा लेखहरू विश्वभरका प्रसिद्ध पत्रपत्रिका र समाचार आउटलेटहरूमा प्रकाशित भएका छन् ।

अमेरिकी मिडियामा यसरी भइरहेको छ चर्चा

न्युयोर्क टाइम्सले लेखेको छ, ‘चार दिनसम्म ड्रोन र मिसाइल आक्रमणपछि भारत र पाकिस्तान युद्धविराममा सहमत भएका छन्, तर केही घण्टापछि सीमामा गोलीबारी जारी रहेको रिपोर्ट आयो ।’

न्युयोर्क टाइम्सले लेखेको छ, ‘राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा युद्धविरामको घोषणा गर्नुभयो र यो संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको बताउनुभयो, भारत र पाकिस्तानका अधिकारीहरूले युद्धविरामको पुष्टि गरे, तर पाकिस्तानले मात्र अमेरिकी भूमिकालाई स्वीकार गर्यो ।’

वासिङ्टन पोस्टले लेखेको छ, ‘युद्धविराम दुई देशबीच जारी झडप रोक्नको लागि गरिएको प्रयास हो, यो बुधबार भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण सुरु गरेपछि सुरु भयो ।’

‘भारतले यसलाई अप्रिल २२ मा पहलगाममा भएको आक्रमणको बदलाको रूपमा वर्णन गरेको छ, अर्को तीन दिनसम्म दुवै देशले एक–अर्काविरुद्ध आक्रमण जारी राखे’, उसले लेखेको छ ।

बेलायती मिडियामा यस्तो छ चर्चा

‘२०१६ र २०१९ मा भारत र पाकिस्तानबीच भएका पछिल्ला झडपहरू कश्मीर लगायत सीमावर्ती क्षेत्रहरूमा सीमित थिए,’ फाइनान्सियल टाइम्सले लेखेको छ, तर यसपटक दुई देशबीच अझ तीव्र द्वन्द्व देखियो, दुवै देशले एक–अर्काको हवाई अड्डालाई निशाना बना, ड्रोन प्रहार गरियो ।’

द टेलिग्राफले लेखेको छ, ‘भारत र पाकिस्तान युद्धको नजिक पुगे, दुई छिमेकीहबीच अन्तिम पटक यस्ता आक्रमणहरू १९७१ मा युद्धको समयमा भएका थिए, यो युद्ध स्वतन्त्र बंगलादेशको गठनसँगै समाप्त भयो ।’

टेलिग्राफले लेखेको छ, ‘भारतले तीन पाकिस्तानी हवाई अड्डाहरूलाई निशाना बनायो, जबकि पाकिस्तानी जेटहरूले तुरुन्तै उडान भरे र सीमापार भारतीय चौकीहरू विरुद्ध जवाफी हमला गरे ।’

‘आज र १९७१ बीचको मुख्य भिन्नता यो हो कि त्यतिबेला दुवै पक्षसँग आणविक हतियार थिएन, तर आज उनीहरूसँग छ’, उसले लेखेको छ ।

साउदी अरबको मिडियामा कस्तो चर्चा भइरहेको छ ?

साउदीमा अरब न्यूज डटकमले लेखेको छ, ‘भारत र पाकिस्तानले एक–अर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीच युद्धविरामको घोषणा गरेको केही घण्टापछि यी आरोपहरू लगाइएको हो ।’

‘चार दिनसम्म ड्रोन, मिसाइल र जेट लडाकु आक्रमणपछि शनिबार दुवै देशले युद्धविराममा सहमति जनाए। यी आक्रमणहरूमा कम्तिमा ६० जनाको मृत्यु भयो र सीमामा रहेका मानिसहरूले आफ्नो घर छोड्नुपर्यो, डोनाल्ड ट्रम्पले युद्धविरामको घोषणा गर्नु अचम्मको कुरा थियो’, खलीज टाइम्सले लेखेको छ, ‘दुबईमा बस्ने एक वित्त पेशेवर सिद्धार्थ गुप्ता भन्छन् कि भारत र पाकिस्तान बीच युद्धविरामको खबरले उनको मनको बोझ हलुका भएको छ, सिद्धार्थले अब तनाव बढ्ने डर हट्ने आशा व्यक्त गरे ।’

‘पाकिस्तान प्रशासित कश्मीरमा बस्ने मञ्जुर खान भन्छन् कि उनी र उनको परिवारले अब गोलाबारीको आवाज सुन्नु पर्दैन’, उसले लेखेको छ । ‘साउदी अरेबियाले भारत र पाकिस्तान बीचको सैन्य टकरावलाई कम गर्न आफ्नो कूटनीतिक प्रयासहरू तीव्र पारेको छ,’ साउदी गजेट डटकमले लेखेको छ ।

विदेशमन्त्री राजकुमार फैसल बिन फरहानले शनिबार भारतीय विदेशमन्त्री डा. जयशंकर र पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारसँग छुट्टाछुट्टै फोन वार्ता गरेका थिए ।

बंगलादेश र नेपालका मिडियाले के लेखे ?

बंगलादेशको अंग्रेजी पत्रिका ‘द डेली स्टार’ले लेखेको छ, ‘यो दुई दक्षिण एसियाली देशहरू बीचको पछिल्लो तीन दशकमा सबैभन्दा भीषण लडाईं थियो, यो पूर्ण स्तरको युद्धमा परिणत हुने खतरा थियो ।’

‘यो लडाईंले आणविक आक्रमणको जोखिम बढायो किन भने पाकिस्तानी सेनाले आणविक हतियार सम्बन्धी उनीहरूको शीर्ष निकायको बैठक हुने बताएको थियो’, उसले लेखेको छ ।

डेली स्टारले अर्को रिपोर्टमा भनेको छ, ‘मुख्य सल्लाहकार प्रोफेसर मुहम्मद युनुसले युद्धविराम सम्झौतामा पुगेकोमा भारत र पाकिस्तानका प्रधानमन्त्रीहरूको प्रशंसा गरे ।’ भारत र पाकिस्तान बीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरेकोमा मोहम्मद युनुसले डोनाल्ड ट्रम्पलाई धन्यवाद दिए ।’

यसैबीच, नेपालको अखबार काठमाडौं पोष्टले लेखेको छ, ‘दक्षिण एसिया केन्द्रका एट्लान्टिक काउन्सिलका फेलो शुजा नवाज भन्छन् कि आगामी दिनहरूमा सिन्धु सन्धिमाथि प्रमुखताका साथ छलफल गरिनेछ, यसले दुवै देशका सरकारहरूलाई आफूले हासिल गरेको उपलब्धिको श्रेय लिने अवसर दिनेछ ।’

शनिबार पाकिस्तान प्रशासित कश्मीरको नीलम उपत्यकाको जुरा सेक्टरमा पाकिस्तान र भारतबीचको नियन्त्रण रेखा (एलओसी) मा सीमापार गोलाबारी भएपछि एक पसले आफ्नो पसलको भग्नावशेषको छेउमा बसिरहेको तस्विर । पाकिस्तानको सेनाले शनिबार भनेको थियो कि भारतले राजधानीको बाहिरी इलाकामा रहेको एउटा सहित तीनवटा हवाई अड्डाहरूलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको थियो ।

पाकिस्तान मरकजी मुस्लिम लिग (पीएमएल) पार्टीका कार्यकर्ताहरूले शनिबार लाहोरमा पाकिस्तान र भारत युद्धविरामको खुसीयाली मनाउन सेना प्रमुख जनरल सैयद असिम मुनीरको तस्विर बोकेर देशको राष्ट्रिय झण्डा फहराउँदै ।

प्रतिक्रिया