पाल्पामा च्याउ खाँदा तीनको मृत्यु


बुटवल, १९ असार । जंगलबाट ल्याएको विषालु च्याउको तरकारी खाँदा पाल्पामा एकै परिवारका दुईसहित तीन जनाको ज्यान गएको छ ।
हेक्लाङ–८ का तीन बालबालिकाको पाल्पास्थित मिसन अस्पतालमा उपचारका क्रममा मंगलबार विहान ज्यान गएको हो । च्याउ खाएर बिरामी परेका हेक्लाङ–८ का एकै परिवारका दाजुभाई १३ वर्षीय एक बहादुर सारु र ११ वर्षीय किरण सारु तथा छिमेकी ५ वर्षीय कुशल रानाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घर नजिकैको जंगलबाट च्याउ ल्याएर शनिबार पकाएर खादापछि बेहोस भएका उनीहरुलाई अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
८ वर्षीय नरेश सारु, ६ बर्षीया सुस्मीता सारुको अस्पतालमा उपचार भइरहेको छ । उनीहरुलाई शनिबार नै उपचारका लागि अस्पताल भर्ना गरिएको आमा थानकुमारी रानाले बताईन ।
च्याउ खाएका अन्य तीन जना सिकिस्त विरामी छन् । गुल्मीको ग्वादीका प्रकाश सुनारपनि च्याउ खाएर सिकिस्त अवस्थामा उपचार गराइरहेका छन् ।
उनीहरुले गत १६ गते जंगलबाट च्याउ खोजेर ल्याएका थिए । सोही च्याउको तरकारी खाएपछि सिकिस्त भएका उनीहरुलाई उपचारका लागि दुई दिनअघि मिसन अस्पतालमा ल्याइएको थियो । विरामीहरुको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।
उता, तानसेन–९, पाल्पाका आमा छोरा पनि बिषालु च्याउ खाएर विरामी परेका छन् । ५० वर्षीया चम्पा कुमाल र २५ बर्षीय रन्जीत कुमाल विरामी परेपछि लुम्बिनी मेडिकल कजेलमा उपचार गराएका छन् ।

प्रतिक्रिया