“टिकी टाका”को सानदार सफलता

किभ, १९ असार । स्पेनको राष्ट्रिय फुटबल टिम इतिहासकै महान टोलीमा सूचीकृत भएको छ । ‘टिकी टाका’को रूपमा छोटो पासको नयाँ शैलीमा खेलेको विश्वविजेतासमेत रहेको डिफेन्डीङ च्याम्पियन स्पेनले युक्रेनी राजधानी किभमा आइतबार राति भएको फाइनलमा चारपटकको विश्वविजेता इटालीलाई ४–० ले पराजित गर्दै युरोकपको उपाधि रक्षा गरेको छ । स्पेनका लागि डेविड सिल्भा, जोर्डी अल्बा, फर्नान्डो टोरेज र हुवा माटाले गोल गरे । प्रतियोगितमा दुई गोलसहित तीनमा एसिस्ट गरेका सिल्भा सबैभन्दा बढी गोलमा संलग्न खेलाडी बन्न सफल भएका छन् । इटालीविरुद्ध स्पेनले प्रतियोगितामा खेलेका आठ खेलमा यो पहिलो जित हो ।
यसअघि सन् २००८ को युरोकपको क्वार्टरफाइनलमा बराबरी भएपछि स्पेन टाइब्रेकरको सहारामा अघि बढेको थियो । युरोकपको उपाधि जितसहित स्पेनले आधुनिक फुटबलका थुप्रै कीर्तिमान आफ्नो नाममा लेखाएको छ । युरोकपमा १२ खेलको अपराजित यात्रा कायम गरेको स्पेनले पछिल्ला पाँच खेलमा गोल खाएको छैन । यो दुवै कीर्तिमान हो । विश्वकप र युरोकपका पछिल्ला १० नकआउट खेलमा स्पेनले कुनै गोल खाएको छैन । २००६ मा भएको युरोकप छनोट खेलमा स्विडेनसँग २–० ले पराजित भएपछि स्पेनले युरोपेली प्रतियोगितामा कुनै पराजयको सामना गरेको छैन । युरोकपको फाइनलमा पहिलो हाफमा नै दुई गोल गर्ने स्पेन तेस्रो टोली बनेको छ । यसअघि १९६८ को युरोकपको फाइनलमा युगोस्लाभियाविरुद्ध इटालीले तथा १९७८ मा चेकोस्लोभाकियाले पश्चिम जर्मनीविरुद्ध पहिलो हाफमा नै दुई गोल गरेका थिए ।
लगातार चार वर्ष विश्व फुटबलमा सनसनी फैलाउने क्रममा स्पेनले सन् २००८ को युरोकप उपाधि जितेको थियो भने २०१० मा विश्वकप उपाधि जितेको थियो । यसअघि स्पेनले ठूलो प्रतियोगिताका रूपमा सन् १९६४ मा युरोकप पहिलोपटक जितेको थियो । टोरेज युरोकपका दुईवटा फाइनलमा गोल गर्ने कीर्तिमानी पहिलो खेलाडी बने । स्पेनका चर्चित स्ट्राइकर टोरेजले प्रतियोगितामा तेस्रो गोलसहित अन्तर्राष्ट्रिय गोलसंख्या ३१ पुर्‍याए ।
देश आर्थिक मन्दीको सिकार भइरहेको समयमा हजाराँै स्पेनिस समर्थक किभमा उपस्थित थिए । राति खेलको समाप्ति हुनेबित्तिकै ठूलो संख्याका समर्थकले म्याड्रिड, बार्सिलोना र अन्य सहरमा पनि खुसियाली मनाएका थिए । यो जित एकपछि अर्को कीर्तिमान कायम गरेको भिसेन्टे डेल बोस्कीका लागि अझ बढी महत्त्वपूर्ण सावित भयो । उनको टोलीले फाइनलमा फराकिलो अन्तरको जित हात पार्दै कीर्तिमान कायम गर्‍यो भने विश्वकप र युरोपियन च्याम्पियनसिप दुवैको उपाधि जित्ने बोस्की दोस्रो प्रशिक्षक भए । यसअघि हल्मट स्कोहनको प्रशिक्षणमा जर्मनीले १९७२ को युरोकप र १९७४ को विश्वकप जितेको थियो । ‘हामीले खेल्ने शैली सही रहेछ भन्ने पुष्टि भयो । यो कठिन शैली हो । तर, हामीले यसलाई सजिलो देखिने गरी उपयोग गर्‍यौँ,’ अन्तर्राष्ट्रिय प्रतियोगितामा समग्रमा १ सय ३७ म्याच खेलेर १०१औँ जित हात पार्ने कीर्तिमान कायम गरेका स्पेनका कप्तान कासियासले भने । कासियास जर्मनीका प्रेmन्च बेकनबउरपछि लगातार तीन ठूला प्रतियोगिताको फाइनलमा टोलीको नेतृत्व गर्ने कप्तान पनि बनेका छन् । उनी अन्तर्राष्ट्रिय खेलमा ७९आँै क्लिनसिट पाउन, अर्थात् त्यति खेलमा कुनै गोल नखाने गोलकिपर बन्न, पनि सफल भएका छन् ।
युरोपियन च्याम्पियनसिपको उपाधि जोगाएको स्पेनका चार वर्षयताका सबैभन्दा प्रभावशाली खेलाडी जाभी हर्नान्डेज आफ्नो टोलीले पूर्ण फुटबल खेलेको बताउँछन् । चार वर्षअघि जर्मनीलाई १–० ले हराउँदै स्पेनले ४४ वर्षको अन्तरालमा पहिलो उपाधिको रूपमा युरोकप जितेको थियो ।
विश्वकप–२०१० को पहिलो खेलमा स्विजरल्यान्डसँग पराजित भएको स्पेन त्यसपछि लगातार ६ खेल जित्दै पहिलोपटक विश्वकप हात पार्न सफल भएको थियो । यसपटकको युरोकप उपविजेता इटालीका कप्तान गियानलुइगी बुफोनले स्पेनसँग पराजित हुनु स्वाभाविक भएको बताएका छन् । बुफोनले युरोकप र विश्वकप गरी २५औँ/वटा खेलमा सहभागिता जनाएका थिए । अन्य इटालियन खेलाडीमा पावलो माल्दिनी (३६) र फाबियो कानाभारो (२६) ले मात्र बुफोनले भन्दा धेरै खेल खेलेका छन् । स्पेनको यो उत्कृष्टताका बाबुजद प्रशिक्षक भिसेन्टे डेल बोस्कीको शैलीमाथि केही प्रश्नचिन्ह नउठेका होइनन् । पहिलो खेलमा इटालीसँग बराबरी भएपछि नियमित फरवार्ड नै नखेलाउने नीतिको आलोचना भएको थियो ।
विनास्ट्राइकर खेलिएको फाइनल खेलमा भने १४आँै मिनेटमा फाब्रिगासको पासमा डेविड सिल्भाले हेडगोल गरे । ४१आँै मिनेटमा जाभी हर्नान्डेजको पासमा अल्बाले गोल गरे । बायाँ रक्षक अल्बाले जाभीसँग उत्तिकै लोभलाग्दो समन्वय गरेका थिए । यो अल्बाको नवौँ अन्तर्राष्ट्रिय खेलमा पहिलो गोल थियो । ६४आँै मिनेटमा तेस्रो वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका थिएगो मोटा घाइते भएर बाहिरिएपछि इटाली १० खेलाडीमा सीमित भएको थियो । यसबीचमा इटाली साँच्चै निरीहभैँm भएको थियो । ७५आँै मिनेटमा फाब्रिगासको स्थानमा मैदानमा आएका टोरेजले ८१औँ मिनेटमा गोल गरे । ८८आँै मिनेटमा मैदान प्रवेश गरेको दोस्रो मिनेटमै माटाले गोल गरे ।

फाइनलको लाइन–अप
स्पेन : आइकेर कासियास, अल्भारो अल्बेलोआ, जेरार्ड पिके, सर्जियो रामोस, जोर्डी अल्बा, जाभी हर्नान्डेज, सर्जियो बुस्केट्स, जाबी अलोन्सो, आन्द्रेइ इनिएस्टा
(८७ मिनेटपछि हुवा माटा), डेभिड सिल्भा
(५९ मिनेटपछि पेड्रो रोड्रिगेज) र सेस फाब्रिगास
(७५ मिनेटपछि फर्नान्डो टोरेज) ।
इटाली : गियालुइगी बुफोन, इग्नाजियो अबेट, आन्द्रेय बाज्राग्ली, लिओनार्दो बोनुची, जर्जियो चिलिएनी
(२१ मिनेटपछि प्रेmडेरिको बाल्जरेटी), आन्द्रे पिर्लो, क्लाउडियो मर्चिसिओ, रिकार्डो मोटोलिभो
(५६ मिनेटपछि थिआगो मोटा), डयानिएल डे रोसी, एन्टोनियाँे कासानो (४६ मिनेटपछि एन्टोनियाँे डि नाटाले) र मारियो ब्यालोटेली ।

कम गोल भएको प्रतियोगिता
आइतबार राति समाप्त भएको युरोकप–२०१२ पछिल्ला १६ वर्षमा सबैभन्दा कम गोल औसत भएको (लो स्कोरिङ टुर्नामेन्ट) प्रतियोगिता भएको छ । कुल २३ दिन चलेको यो प्रतियोगितामा प्रतिम्याच २.४५ गोल भएका थिए । तर गोलसंख्यामा कम भए पनि यो दर्शक उत्तेजना, रोमाञ्च र खेल प्रविधिको हिसाबले भने उच्चस्तरीय मानिएको छ ।
राम्रो प्रदर्शन गर्न नसकी बाहिरिएका फ्रान्सका प्रशिक्षक लरेँ ब्लाँ र नेदरल्यान्ड्सका प्रशिक्षक बर्ट भान मार्विकले प्रशिक्षक पदबाट राजीनामा दिनुपर्ने भयो । सन् २०१० को विश्वकपमा प्रयोग भएको जाबुलानी बलको सट्टा यसपटक युरोकपमा एडिडास टयाङ्गो बल प्रयोग गरिएको थियो । चार वर्षपछि फ्रान्समा हुने युरोकपमा भने वर्तमान संरचनाअनुसार १६ मात्र नभई २४ टोलीले उपाधिका लागि भिडन्त गर्नेछन् ।

स्पेनको कीर्तिमान शृंखला

लगातार तीन ठूला प्रतियोगिता युरोकप, विश्वकप र फेरि युरोकप जित्ने इतिहासकै पहिलो टोली ।
युरोकपको फाइनलमा ४–० को रूपमा सबैभन्दा ठूलो जित हासिल गर्ने टोली ।
दुईवटा युरोकप फाइनलमा गोल गर्ने स्पेनका फर्नान्डो टोरेज पहिलो खेलाडी ।
युरोकप र विश्वकप दुवै ठूला प्रतियोगिता जित्नेमा स्पेनका डेल बोस्की दोस्रो प्रशिक्षक ।
जर्मनीपछि युरोकप तीनपटक जित्ने स्पेन पहिलो टोली । स्पेनले सन् १९६४, २००८ र २०१२ मा यो उपाधि जितेको हो ।
कप्तान आइकेर कासियासको नेतृत्वमा तीन ठूला उपाधि ।

प्रतिक्रिया