दुग्ध पदार्थमा भ्याट छुटको माग

काठमाडौं, १८ असार । दुग्धजन्य पदार्थमा मूल्य अभिवृद्धि कर (भ्याट) छुट गर्नुपर्ने माग दूध व्यवसायीले गरेका छन् ।

कृषिजन्य वस्तुमा आधारित उद्योगबाट उत्पादित वस्तुमा भ्याट छुट पाउने व्यवस्था भए पनि दुग्धजन्य पदार्थमा भने भ्याट छुट नभएको भन्दै व्यवसायीले सरकारसँग छुटको माग गरेका हुन् । दूधदहीबाहेक पनिर, आइसक्रिम, मख्खन, स्किम मिल्क पाउडर, बटर, घिउमा लिँदै आएको कर डेरी उद्योगलाई नै ७० प्रतिशत छुट गरी फिर्ता गरिनुपर्नेमा उनीहरूले सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
त्यस्तै नीतिगत रूपमा कृषि तथा वनजन्य उद्योगको विद्युत् महसुलमा ५० प्रतिशत छुट दिने नीति भए पनि हाल सहकारी संस्थाले मात्र यस्तो सुविधा पाएको बताउँदै निजी डेरीले पनि पाउनुपर्ने उनीहरूको माग छ ।
नेपाल डेरी उद्योग संघले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी उत्पादन भएको दुग्धजन्य पदार्थभन्दा भारतबाट सस्तो मूल्यमा आयातीत दूधले व्यवसाय नै संकटमा परेको बताए । संघका अध्यक्ष प्रदीप महर्जनले किसानले दूध उत्पादन गर्दा नै लागत मूल्य बढी हुने भएकाले राज्यले यसतर्फ सोच्चुपर्ने आवश्यकता औँल्याए ।
ग्रामीण कृषकको दूध गाउँबाट संकलन गरी प्रशोधनपछि बिक्री वितरण गरी सहरको पैसा गाउँमा पठाउने सशक्त माध्यमका रूपमा डेरी उद्योग रहेकामा पनि उनले जोड दिए । डेरी उद्योगमा १० अर्बको लगानी रहेको भन्दै संघले १० हजारजनालाई प्रत्यक्ष रोजगारी दिए पनि व्यवसयायीको मागप्रति सरकार उदासीन रहेकामा दुखोसो व्यक्त गरे । दूध व्यवसायमा चार लाख ५० हजार कृषक परिवार प्रत्यक्ष रूपमा लाभान्वित भएको पनि संघले बताएको छ ।
दैनिक साढे चार लाख दूध अभाव हुने गरेको भए पनि हाल मिल्क होलिडे रहेको उद्योगीहरूले जनाएको छ । सुजल डेरी र चितवन मिल्कमा गरी करिब पाँच सय धुलो दूध बिक्री हुन नसकेको उनीहरूले बताए ।
त्यसैगरी संघले आव ०६६/६७ को बजेटमा दूध व्यवसायीलाई सहुलियत दिने बताए पनि यो अझसम्म लागू नभएको भन्दै सरकारसँग सहुलियतको पनि माग गरेको छ । दूधको खरिद तथा बिक्री मूल्य निर्धारण गर्दा दुग्ध विकास संस्थानले हचुवाको भरमा अवैज्ञानिक तरिकाले मूल्य कायम गरेका कारण किसान र उद्योगी मारमा परेको भन्दै निजी, सरकारी र सहकारीसमेतको सुझाबमा मूल्य निर्धारण गर्नुपर्ने माग पनि व्यवसायीले सो अवसरमा राखे ।

प्रतिक्रिया