बन्दी शिक्षकको खुल्ला पेटारो


सशस्त्र द्वन्द्वकालमा माओवादी पार्टीको बन्द शिविरमा सय दिनसम्म थुनिएका शिक्षक नारायण सुवेदीको अनुभव समेटिएको किताब ‘१०० दिन माओवादी कब्जामा’ले हरेक नेपालीले आआफ्नो स्मृतिको सतहबाट नामेट पार्न चाहिरहेका युद्धको घाउलाई एकपटक फेरि बल्झाइदिएको छ । हुन त लेखकले आफ्ना मनका त्रासद् क्षणलाई अक्षरका हरफमा कैद गरेर अझ किताबका रूपमा प्रकाशन गरेर सधंँैका लागि जोगाउन खोजेका होलान् † पीडा समेटिएको भएर पनि होला पाठकको मनको कमलो भागलाई सुटुक्क छुन सक्ने खुबी बोकेको छ, किताबले । अनि, यसमा प्रयोग भएका संवादात्मक शैलीले किताबलाई मनोवाद हुनबाट जोगाएको छ । र, त्यही शैली हो, किताबलाई यति चाखलाग्दो बनाउने पनि ।
२०५९ को वैशाख २९ देखि ३ भदौसम्म माओवादीको कब्जामा रहँदा भोगेका पीडादायी अनुभवको एकमुष्ट कुटुरोका रूपमा प्रस्तुत यस किताबले द्वन्द्वकालीन समयमा आमनेपालीले भोग्नुपरेको त्रासदीपूर्ण समयलाई प्रतिविम्बित गरेको छ, ऐनाले झैँ । घुमाउरा र अस्पष्ट वाक्य कतै छैनन् । भन्न खोजेको कुरालाई सोझै भनिदिन्छन् विम्ब, उपमा वा केहीको प्रयोग नगरीकनै, शिक्षकले विद्यार्थीलाई पाठको अर्थ भनेजसरी । त्यसो त उनी शिक्षक भएर पनि होला यसखाले शैलीको प्रयोग भएको †
समाजमा अगुवाइ गरिरहेका कतिपय व्यक्तिले राजनीतिक विचारधाराकै कारण अनाहकमा झेल्नुपरेको पीडाको शृंखलाबद्ध वर्णन छ किताबमा । अनि छ, शिक्षाको दियो बालेर नेपालका विकट बस्तीलाई उज्यालोतिर डोर्‍याउने कार्यमा अग्रसर सुवेदीजस्ता अनेक शिक्षक द्वन्द्वको चपेटामा परेको यथार्थ । जसरी सुवेदी माओवादीको फन्दामा परे त्यसरी नै समाजमा ‘बुर्जुवा’ शिक्षा/ज्ञान फैलाएको आरोप धेरैले खेपे, कतिले त ज्यानै गुमाए ।
त्यसो त बन्दी अवस्थामा रहँदा आफ्नो घरमा बस्दाजस्तो आराम त कहाँ मिल्छ र ? धन्न, उनले शारीरिक यातना खेप्नुपरेनछ, उनले धेरै सुविधा पाएछन्, पाएछन् आफ्नो रोजाइका खानेकुरा, चिया अनि मासुभात खान । कुनै छाक पनि भोकै बस्नु परेनछ । बिरामी हुँदा औषधि उपचार पनि पाएछन् अनि लेख्न कापीकलम । रेडियो सुन्न पाएछन्, किताब र अन्य पत्रिका पढ्न पाएछन् अनि पाएछन् मुक्ति र प्रतीकजस्ता ‘कामरेड’को माया र सद्भाव । उनले ती केही सुविधा नपाएको भए बन्दी अवस्थाका उनका सय दिन कसरी बित्थे होलान् ? तुलनात्मक रूपमा हेर्दा सुवेदीको बन्दी अवस्था उतिसारो कष्टप्रद नदेखिए पनि उनको मानव अधिकारको हनन् भने जरुर भएको छ ।
एकातर्फ, लेखकले १०० दिनको माओवादी कब्जालाई कालको संज्ञा दिएका छन् । घर फर्केर आएपछि उनले आफू मृत्युको मुखबाट फर्केर आएको उद्घोष गरेका छन् भने अर्कोतर्फ, माओवादी कब्जामा ‘बन्दी’ भएर रहँदा ‘जेनेभा सम्झौता’ अनुसार नै आफूले व्यवहार पाएको उद्घोष पनि गरेका छन् । यी कुरा आफैँमा विरोधाभासपूर्ण छन् । यी पक्ष छाडेर किताबलाई राम्रो भन्न सकिने अन्य धेरै आधार छन् । माओवादी लडाकुले बोलेका कतिपय भाषालाई जस्ताको त्यस्तै किताबमा उनेका छन् । र, त्यही आञ्चलिक भाषाले किताबलाई बैग्ले स्वाद दिएको छ ।
किताबमा वर्तमान राजनीति, माक्र्सवाद, क्रान्तिलाई हेर्ने दृष्टिकोणजस्ता कुरा पटकपटक दोहोरिएका छन्, जसले पाठकलाई भिँmजोको काउछो जिउभरि दलिदिन सक्छ । तर, पनि बन्द कोठाभित्र, अझ आफूलाई मन नपरेको राजनीतिक दलको थुनुवा घेरामा रहँदा घरपरिवारको याद कति धारिलो भएर आउँदो हो, उक्त धारिलो यादले उनलाई पटकपटक कसरी रेट्दो हो । अनि, उक्त रेटाइको पीडा उनी कसरी सहँदा हुन् ? यस्ता प्रश्नले किताबलाई हेर्ने पाठकको दृष्टिकोणमा सहानुभूतिको लेप दलिदिन्छ । बिहान भएपछि बेलुकी डुब्न लागेको घाम अनि बेलुकी भएपछि भोलिपल्ट उदाउँदै गरेको घाम देख्न पाइने हो कि होइन भन्ने डरको पोको मुटुको मधुसमा थन्क्याएर बाँचेका प्रत्येक क्षणलाई उनले क्यासेट प्लेअरमा रेकर्ड नै गरेझैँ किताबमा लेखेका छन् ।
उनको वर्णन पाठकलाई तान्ने खालको छ, पढिरहुँजस्तो । किताबले लेखक स्वयंले भोगेका पीडाको वास्तविक कथा त भन्छ नै, सँगै सशस्त्र द्वन्द्वका बेला माओवादी पार्टीमा लाग्नका निम्ति गरिने जबर्जस्ती अनि मन नपरे पनि उनीहरूको ‘नीति, नियम र उर्दी’लाई ‘शीरोधार्य’ गर्नैपर्ने बाध्यात्मक अवस्थाको चित्रण पनि छ । माओवादी पार्टीको बोली र व्यवहारको अन्तर पनि स्पष्ट झल्काएका छन् । अनि, झल्काएका छन्– माओवादी नेतृत्वको फोस्रो आडम्बरको आडमा धानिएको आन्तरिक संरचनाको आधार पनि । यस किताबमा जेजति लेखे सुबेदीले, त्यो आफैँमा पीडादायी छ । त्यसैले होला, किताब पढिसकेपछि कतिपय पाठकलाई यस्तो पनि लाग्नसक्छ— पढ्दा त यस्तो छ भोग्नेलाई झन् कस्तो भयो होला ?

प्रतिक्रिया