जुनियरमा प्रशान्त र स्मारिका सिनियरमा रोशन र एरियन

काठमाडौं, १४ असार । एभिएमका भावुक जोशी पाँचौं उपत्यकाव्यापी विद्यालयस्तरीय टेबलटेनिस प्रतियोगिताको यु–१२ ब्वायज सिंगल्समा पहिलो भएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बुधबार भएको फाइनलमा भावुकले नोबेलका सन्तु श्रेष्ठलाई ११–९, ११–९ र ११–६ ले हराए । त्यसैगरी यु–१४ ब्वायज सिंगल्सको उपाधि माउन्ट भ्यालीका सुशील कुश्माले जिते । उनले फाइनलमा एभिएमका दिलिप गुरुङलाई ११–६, ११–४ र ११–५ को सोझो सेटमा पाखा लगाए ।
जुनियर सिंगल्सको ब्वायजमा न्यु समिटका प्रशान्त बराल तथा गल्र्समा अरनिको बोर्डिङकी स्मारिका खरेलले शीर्षस्थान हात पारे । उपाधि भिडन्तमा प्रशान्तले ग्यालेक्सीका मिङसु लिम्बूलाई ११–४, ११–२ र ११–३ तथा स्मारिकाले ह्वाइटफिल्डकी निमी शेर्पालाई ११–५, ११–६ र ११–३ को सिधा सेटमा पराजित गरे ।
सिनियर ब्वायजको सिंगल्समा चिल्ड्रेन गार्डेनका रोशन लामा द एक्सेल्सियरका राजन बस्ताकोटीलाई ११–६, ११–९, १२–१४ र ११–७ ले हराउँदै पहिलो भए । सोही स्पर्धाको गल्र्समा मोडर्न इन्डियन स्कुलकी एरियन बद्गामी पहिलो भइन् । फाइनलमा एरियनले एन्जल लर्डकी जेनिशा श्रेष्ठलाई ११–३, ११–७ र ११–५ ले निराश पारिन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरद्वारा आयोजित प्रतियोगिता तीन दिन चलेको थियो ।

प्रतिक्रिया