दोहोरो रजिस्ट्रेसन भर्नेलाई सास्ती

काठमाडौं, १२ असार । दुर्गम जिल्लाबाट एसएलसी उत्तीर्ण भएको सर्टिफिकेट हात पारेर छात्रवृत्तिलगायत सुविधा पाउने लोभमा दुई ठाउँबाट रजिस्ट्रेसन भरेका विद्यार्थीको बिचल्ली भएको छ । काठमाडौं तथा देशका ठूला सहरमा बसेर बोर्डिङ स्कुलमा पढी कर्णालीलगायत दुर्गम जिल्लाबाट एसएलसीको रजिस्ट्रेसन भरेका हजारभन्दा बढी विद्यार्थीको बिचल्ली भएको हो ।

उनीहरूले एसएलसी परीक्षा दिए पनि दुई ठाउँबाट रजिस्ट्रेसन भरेका कारण रिजल्ट पाउन सकेका छैनन् । रिजल्ट नै नपाएपछि आजकल परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा यस्ता विद्यार्थी र अभिभावक धाइरहेका छन् । पनिकाले नाम, जन्ममितिलगायतका आधारमा दोहोरो रजिस्ट्रेसन भर्ने विद्यार्थी संख्या एक हजार दुई सय १४ रहेको जनाएको छ ।
पनिकाका उपनियन्त्रक गणेश ढकालले विभिन्न लोभमा दुई ठाउँबाट परीक्षा फारम भरेका विद्यार्थी र अभिभावक अहिले धाइरहेको बताए । ‘कुन जिल्लाको कुन स्कुलको विद्यार्थी हो भन्ने किटानी भएपछि रिजल्ट फुकुवा हुन्छ,’ उपनियन्त्रक ढकालले भने, ‘एक हजार दुई सय १४ जनाको दोहोरो रजिस्ट्रेसन भएकामा प्रमाण पुर्‍याएका करिब एक सय विद्यार्थीको रिजल्ट दिइसकेका छौँ ।’
सुविधाको लोभमा दोहोरो रजिस्ट्रेसन भर्नुमा बालबालिकाभन्दा पनि अभिभावकको दोष रहेको उनले बताए । उनले भने, ‘विद्यार्थी तनाबमा भएकाले नम्बर देखाइदिएका छौँ ।’ ढकालले दोहोरो रजिस्ट्रेसनको समस्या धादिङबाट देखिन सुरु गरेको जानकारी दिए ।
०६८ सालमा सञ्चालित एसएलसी परीक्षाको नतिजा ३१ जेठमा सार्वजनिक भएको हो । दोहोरो रजिस्ट्रेसन भरेका विद्यार्थीले भने रिजल्ट पाउन सकेका छैनन् ।
०६८ सालको एसएलसी परीक्षामा नियमित तथा एक्जाम्टेड गरी पाँच लाख २८ हजार दुई सय ५७ विद्यार्थीले आवेदन गरे पनि चार लाख ९६ हजार २८ परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । तीमध्ये कुल दुई लाख आठ हजार एक सय ८७ परीक्षार्थी उत्तीर्ण भएका छन् । ७ देखि १६ चैतसम्म सञ्चालित परीक्षामा नियमिततर्फ चार लाख १९ हजार ४९ सहभागी भएकामा एक लाख ९७ हजार ६ सय ३८ परीक्षार्थी अर्थात् ४७ दशमलव १६ प्रतिशत उत्तीर्ण भएका छन् । एक्जाम्टेडतर्फ ७६ हजार नौ सय ७९ सहभागी भएकामा दस हजार पाँच सय ४९ अर्थात् १३ दशमलव ७० प्रतिशत उत्तीर्ण भएका छन् ।

प्रतिक्रिया