ग्रिसलाई पन्छाउँदै जर्मनी सेमिफाइनलमा

जिडान्स्क, १० असार । चान्सलर एन्जेला मर्केलले म्याचमा आफ्नो देशले खेलेका र बनाएका हरेक मुभमा हर्षबढाइँ गरिरहेकै समयमा जर्मनीले फुटबल मैदानमा ग्रिसमाथि एकछत्र प्रभाव कायम गर्‍यो । दुई देशबीच राजनीतिक तनाब व्याप्त भइरहेका बेला जिडान्स्कमा शुक्रबार राति ग्रिसलाई ४–२ ले पराजित गर्दै रेकर्डका साथ सातौंपटक जर्मनी युरोकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
तीनपटक युरोकप च्याम्पियन भइसकेको जर्मनी म्याच अवधिभरि नै हाबी थियो । र, टोलीलाई थप हौसला प्रदान गर्न चान्सलर मर्केल म्याच सकिएपछि खेलाडीहरूको चेन्जिङ रुममै गएर उनीहरूलाई भेटेकी थिइन् । जर्मन फरवार्ड मेसुट ओजिलले भने, ‘उहाँले हामीलाई बधाई दिनुभयो र हामीले निकै राम्रो खेलेको भन्नुभयो । उहाँले भनेका अन्य सबै कुरा हामी खेलाडीबीच मात्र रहनेछन् ।’ फिलिप लामले ३९ औं मिनेटमा जर्मनीलाई अग्रता दिलाएका थिए । यद्यपि, ५५ औं मिनेटमा नै जर्गियोस सामारासले खेललाई १–१ को बराबरीमा पुर्‍याएका थिए तर त्यसपछि जर्मनीका लागि सामी कदिरा, मिरोस्लाभ क्लोस र मार्को रेउसले क्रमश: गोल थप्दै गएका थिए ।
अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा जर्मनीको यो लगातार १५ औं विजय हो । फिफा विश्वकप २०१० मा तेस्रो स्थानका लागि भएको खेलमा उरुग्वेलाई पराजित गरेयता जर्मनी लगातार अपराजित रहँदै आएको छ । आफ्नो अपराजयको यो शृंखलालाई १६ औंमा पुर्‍याउन जर्मनीले इंग्ल्यान्ड र इटालीबीचको क्वार्टरफाइनल विजेताविरुद्ध वार्सामा बिहीबार सेमिफाइनल भिडन्त गर्नेछ ।
जर्मनीले सुरुदेखि नै बोलबाला कायम गरेको भए पनि पहिलो हाफको धेरै समय ग्रिसको रक्षापंक्ति अत्यन्त सशक्त थियो । अन्तत: लामले जर्मनीलाई अग्रता दिलाउने क्रममा बललाई छातीले रोक्दै नियन्त्रणमा लिई मध्यतिर ड्रिबल गर्दै लगेर ग्रिक गोलकिपर मिखालिस सिफाकिसका औंला छुँदै छेउबाट पोस्टभित्र छिर्ने गरी टाढाबाट ‘लङ डिस्टान्स सट’ प्रहार गरेका थिए ।
‘हामीले प्राप्त अवसरहरूलाई सदुपयोग गर्न सकेनौं,’ ग्रिसका प्रशिक्षक फर्नान्डो सान्तोसले भने, ‘हाम्रो रक्षापंक्तिले राम्रो गर्दागर्दै पनि भएको पहिलो गोलले नै हामीलाई निकै अप्ठेरोमा पारिदियो ।’ ग्रिकहरू दोस्रो हाफको सुरुमा बेहतर देखिएका थिए र त्यसक्रममा दिमित्रिस साल्पाइगिडिसबाट पाएको पर्फेक्ट क्रसपासमा सामारासले जर्मन गोलकिपर म्यानुएल नुएरलाई कुनै मौका नदिई ‘इक्वलाइजर’ गोल गरेका थिए ।
‘ग्रिस सधैँ उत्साही टोली हो । उसले एउटा अवसर पायो र दुईवटा गोल गर्‍यो,’ जर्मन प्रशिक्षक जोचिम लोउले भने, ‘तर, स्कोर १–१ ले बराबरी भए पनि हामी अत्तालिएनौं र क्रमश: गोल थपिँदै गए ।’ उनीहरूले त्यस्तै गरे पनि । कदिराले ६१ औं मिनेटमा जेरोम बोतेङबाट प्राप्त क्रसमा भली गर्दै गोल गरे भने ६८औं मिनेटमा ओजिलले प्रहार गरेको फ्रिकिकमा क्लोसले हेडर गोल गरे । रेउसले स्कोर ७४ औं मिनेटमा ४–१ पुर्‍याए । खेलको ८९औं मिनेटमा बोतेङको हयान्डबल भएपछि प्राप्त पेनाल्टीमा साल्पाइगिडिसले सहानुभूति गोल गरेका थिए ।
जोचिम लोउले मारियो गोमेजसमेत प्रमुख तीन स्ट्राइकरलाई विश्राम दिएका थिए तर उनीहरूको सट्टा खेलाइएकाहरूले राम्रो परिणाम दिए । पोलिस रगत मिसिएका क्लोसले ओजिल र एन्ड्रे सुरलसित जोडी बनाई ग्रिक डिफेन्सलाई लगातार सताएका थिए ।
ग्रिसका कप्तान जियोर्गस कारागाउनिस रुसविरुद्ध १–० ले जितेको म्याचमा दोस्रो पहेँलो कार्ड पाएपछि जर्मनीविरुद्ध खेल्न पाएनन् । उनको अनुपस्थितिमा ग्रिसको मिडफिल्ड कमजोर भएको थियो र जर्मनीलाई खेल आफ्नो नियन्त्रणमा राख्न र एकपछि अर्को अवसर सिर्जना गर्ने मौका मिलेको थियो ।

दशकपछिको ‘दुर्लभ’ भिडन्त 

वार्सा : दस वर्षभन्दा धेरै भइसक्यो, इटाली र इंग्ल्यान्डबीच फुटबल भिडन्त भएको छैन । ठूला प्रतियोगितामा इंग्ल्यान्ड र इटालीबीच दुइ पटक मात्र प्रतिस्पर्धा भएको छ । सन् १९८० को युरोकप संस्करणमा समूह चरणमा यी दुई टोलीबीच भेट भएको थियो । जसमा इटाली १–० ले विजयी भएको थियो । सन् १९९० को विश्वकप संस्करणमा तेस्रो स्थानका लागि भिडेका यी दुई टोलीबीच इटालीले नै २–१ ले बाजी मारेको थियो । पछिल्लोपटक सन् २००२ मा यी दुई देश मैत्रीपूर्ण खेलमा भिडेका थिए जसमा फेरि एकपटक इटाली २–१ ले विजयी भएको थियो । यो त भयो इंग्ल्यान्ड र इटालीबीचको विगत ।
युरोकप २०१२ मा इंग्ल्यान्ड र इटालीको टोलीमा अनुभवी तथा युवा खेलाडीको प्रभाव छ । यति मात्र होइन, आक्रामक र झगडालु स्वभावका खेलाडीहरू पनि यी दुवै टोलीमा छन् जो आफ्नो खेल क्षमताका कारण आलोचना र प्रशंसा दुवैबाट चर्चामा रहिरहन्छन् । यी नै टोली जारी यस प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा आइतबार आमनेसामने हुँदै छन् । यस खेललाई अत्यन्तै प्रतीक्षा गरिएको छ । यसका अनेक कारण छन्, ती हुन् यी टोलीबीच रहेका समानता ।
विभिन्न प्रतियोगिता (छनोटसहित) मा इंग्ल्यान्ड र इटालीले पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेका छन् । प्रतिस्पर्धात्मक भिडन्तलाई आधार मान्ने हो भने इंग्ल्यान्ड पछिल्ला ११ खेलमा र इटाली १३ खेलमा अपराजित छ । विश्व फुटबलका प्रभावशाली शक्तिमध्येका यी दुई टोली बलियो डिफेन्स र काउन्टर एट्याकमा खेल्ने विशेषताका कारण पनि यो भिडन्त चर्चामा छ । यसको अर्को मतलब इटाली र इंग्ल्यान्डमध्ये एकको यात्रा क्वार्टरफाइनलभन्दा अगाडि बढ्न सक्दैन । यी दुवै टोलीको खेल्ने शैली एउटै छ, अर्थात् ४–४–२ ।
यतिबेला विश्वस्तरका खेलाडी जन्माइरहेको र साथमा रहेको इंग्ल्यान्ड इटालीविरुद्ध बेहोरेका हरेक हारको एक/एक गरी बदला लिने प्रयासमा छ । इंग्लिस प्रशिक्षक रे हड्सनलाई यसैको चुनौती छ ।
त्यसो त इंग्लिस फुटबलमा इटालियन प्रशिक्षकहरू एकपछि अर्को गरी सफल भइरहेका छन् । गिआनलुका भिलाई, कार्लो एन्सेलोटी, रोबर्टो डि माटेओ र रोबर्टो मान्सिनी सबै इटालियन हुुन्, जसले प्रशिक्षकका रूपमा इंग्लिस क्लब फुटबलमा सफलता हात पारे । इटालीको खेल्ने शैली फरक छ जसलाई पछिल्लो समय इंग्ल्यान्डले समेत पछ्याइरहेको छ । त्यसैकारण इटाली आफ्नो शैलीलाई परिष्कृत र फरक बनाउनेतिर लागिपरेको छ । सिजर प्रान्डेलीको प्रशिक्षणमा रहेको इटाली अहिले सुस्त र रक्षात्मक तरिकाको परम्परागत आडमा खुल्लारूपमा आक्रामक खेल्ने दिशामा लागि परेको छ ।
इटाली र इंग्ल्यान्डको बलियो पक्ष भनेको नै गोलकिपर र डिफेन्डर हुन् । म्यानचेस्टर सिटीलाई इंग्लिस प्रिमियर लिग जिताएका २५ वर्षीय गोलकिपर जोए हार्ट अहिले इंग्ल्यान्ड टोलीको पहिलो रोजाइमा छन् । त्यस्तै इटाली टोलीमा भेट्रान गोलकिपर गिआनलुइगी बुफों छन्, जोसँग विश्वकप जितेको अनुभव छ । दुवै टोलीमा इंग्लिस म्यानचेस्टर क्लबबाट खेलेका स्ट्राइकर छन् जो लयमा पनि देखिएका छन् । दुई म्याचको प्रतिबन्धपछि समूह चरणको अन्तिम खेलमा युक्रेनविरुद्ध उत्रँदै म्यानचेस्टर युनाइटेडका वेयन रुनीले इंंग्ल्यान्डका लागि उक्त खेलमा निर्णायक गोल गरेका थिए । त्यस्तै यस सिजन म्यानचेस्टर सिटीलाई घरेलु लिग जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका इटालीका मारियो ब्यालोटेलीले समूहको अन्तिम खेलमा आयरल्यान्डविरुद्ध गोल गरेका छन् । दुवै टोलीको रक्षापंक्ति यी दुई स्ट्राइकरलाई रोक्नमा केन्द्रित हुनेछ । यद्यपि, ब्यालोटेली पहिलो ११ सदस्यीय टोलीमा रहने/नरहने निश्चित छैन ।
समूहको अन्तिम खेलमा वैकल्पिक भएका ब्यालोटेलीले दोस्रो हाफमा आएर गोल गरेका थिए । उनको स्थानमा खेलेको नाटालेले उक्त खेलमा प्रभावशाली प्रदर्शन गर्न सकेनन् । म्यानचेस्टर सिटीबाट ब्यालोटेलीसँग खेलेका जोलेओन लेस्कट र जोए हार्ट भने इंग्ल्यान्डका लागि पहिलो रोजाइमा रहने निश्चित छ । इंग्ल्यान्डले यसअघिकै टोली इटालीविरुद्ध उतार्न सक्ने सम्भावना छ । यता इटाली टोलीमा भने केही परिवर्तन हुने सम्भावना छ । थिआगो मोटा चोटका कारण खेल्ने/नखेल्ने निश्चित छैन । चोटग्रस्त डिफेन्डर जर्जिओ चेलिआनीको स्थानमा लिओनार्दो बोनुच्ची उत्रन सक्ने सम्भावना छ । (एजेन्सी)

रोनाल्डोबारे सुन्दरीको विवाद
वार्सा : पूर्वफिफा वर्षखेलाडी क्रिस्टियानो रोनाल्डो युरोकप २०१२ मा क्रमश: लयमा फर्किरहेका छन् । उनले समातेको लयका कारण नै पोर्चुगलले प्रतियोगितामा सेमिफाइनल यात्रा तय गरिसकेको छ । पोर्चुगलका हरेक सफलतामा पहिलो श्रेय पाइरहेका रोनाल्डो आफूलाई लियोनेल मेसीभन्दा उत्कृष्ट साबित गर्न खोज्दै छन् । मेसी र रोनाल्डोबीच सर्वोत्कृष्टताको लडाइँमा यी दुईका फ्यानबीच सामाजिक सञ्जाल ट्विटरमा भनाभन नै चलेको छ । ती फ्यानमध्ये एक अरू कोही नभएर रोनाल्डोकी गर्लफ्रेन्ड तथा सुपर मोडल एरिना स्याक हुन् । बाँकी अर्की पनि परिचयका हिसाबले सुपर मोडल नै हुन् तर उनी अर्थात् बार राफैली मेसी आबद्ध क्लब बार्सिलोनाकी फ्यान हुन् ।
सन्दर्भ हो, जारी युरोकपमा क्वार्टरफाइनलमा चेक गणतन्त्रविरुद्ध पोर्चुगल १–० ले विजयी भएको थियो । उक्त जितमा रोनाल्डोले दोस्रो हाफमा हेडमार्फत् निर्णायक गोल गरेका थिए । जेल लगाएर कपाल सपक्क बनाएका रोनाल्डोले गोल गरेलगत्तै राफैलीले ‘रोनाल्डोलाई जेल लगाएर खेल्न प्रतिबन्ध लगाउनुपर्ने’ ट्विटरमा लेखिन् । राफैलीको यस्तो आलोचना स्याकले देखिन् र आक्रामक प्रतिक्रिया दिइन्, ‘घृणात्मक हेराइ, न्यायोचित हुन्न, माया गर्न सिक ।’ राफैलीलाई यसले ठूलै झड्का दियो । तर, उनी चुप लागेर बसिनन् र आफूलाई नम्र बनाएर पन्छिन खोजिन्, ‘म तिमी र तिम्रो ब्वाइफ्रेन्ड दुवैलाई मन पराउँछु, साँच्ची भन्ने हो भने मलाई ‘हेयर जेल’ मन पर्दैन ।’ यसपछि भने वाकयुद्ध टुंगियो । तर जे होस्, रोनाल्डो र मेसीबीचको श्रेष्ठताको लडाइँ कसैबाट छुपेको छैन । यस वर्ष फिफा वर्षखेलाडीका लागि यी दुई नै मुख्य प्रतिस्पर्धी हुने देखिएको छ । (एजेन्सी)

प्रतिक्रिया