लक्ष्य कम्तीमा सेमिफाइनल

काठमाडौं, ८  असार । नेपाली युवा क्रिकेटर प्रदीप ऐरी यतिबेला निकै ‘एक्साइटेड’ छन् । उनकै शब्दमा ‘पोजिटिभ फिलिंग्स’ले मनोबल दह्रो भएको छ । यही शनिबारदेखि मलेसियामा सुरु हुने एसियाली क्रिकेट काउन्सिल(एसिसी) यु–१९ एसिया कपका लागि बिहीबार त्यसतर्फ प्रस्थान गर्नुअघि उनले भने, ‘खोइ, किन हो डर कत्ति पनि छैन । जुनसुकै टोलीलाई पनि हराउन सक्छौं जस्तो लागेको छ ।’
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का टेस्ट मान्यताप्राप्त एसियाका सबै चार टोली क्रमश: भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसमेत आठ टोलीको सहभागिता रहने यस प्रतियोगिताका लागि प्रदीपले पहिलाको भन्दा धेरै मिहिनेत गरेको बताए । ‘यसै कारण हाम्रो अपेक्षा यसपटक बढी छ । अपेक्षाअनुसारकै मिहिनेत गरेकाले मनोबल बलियो भएको हो ।’ सिनियर राष्ट्रिय टोलीका सदस्यसमेत रहेका यी ब्याट्सम्यानले भने ।
नेपालले समूह चरणमै पाकिस्तान र भारतसँग प्रतिस्पर्धा गर्नेछ । विगतमा यु–१९ स्तरका अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गरेका कारण नेपालमाथि सबैको ध्यान परेको छ । भनाइ नै छ, ‘नेपाल टेस्ट टोलीका कारणले भन्दा टेस्ट टोली नेपालदेखि डराउँछन् ।’ सन् २००८ को आइसिसी यु–१९ विश्वकपयता यस उमेर समूहको भिडन्तमा नेपालले टेस्ट मान्यताप्राप्त टोलीसँग प्रतिस्पर्धा गरेको छैन । यु–१९ स्पर्धामा नेपालले दक्षिण अफ्रिकादेखि पाकिस्तानसम्मका टेस्ट मान्यताप्राप्त टोलीलाई पराजित गरेको छ ।
कडा मिहिनेत र विगतमा देखाएको ‘क्लास’का कारण नेपालले यस प्रतियोगितामा सेमिफाइनलसम्म पुग्ने लक्ष्य राखेको छ । यसका लागि नेपालले मलेसियासहित भारत र पाकिस्तानमध्येका दुई टोलीलाई पछि राख्नुपर्नेछ अंक तालिकामा ।
‘टेस्ट टोली भनेर भारत र पाकिस्तानदेखि डराउनुपर्ने कारण नै छैन,’ नेपाली टोलीका प्रशिक्षक पुबुदु दसानायकेले भने, ‘उनीहरू अनुभवमा मात्र हामीभन्दा अगाडि हुन् । त्यसबाहेक सम्पूर्ण रूपमा हाम्रो स्तर एउटै हो ।’ नेपाली टोलीमा रहेका खेलाडीमध्ये राहुल विश्वकर्मासँग मात्र यु–१९ विश्वकप खेलेको अनुभव छ । उनीसँगै कप्तान पृथु बाँस्कोटाबाहेक कुनै पनि नेपाली खेलाडीले सन् २०११ अघि यु–१९ स्पर्धामा अन्तर्राष्ट्रिय अनुभव बटुलेका छैनन् । यद्यपि दसानायकेलाई विश्वास छ, ‘मेरा खेलाडीमा पाकिस्तान र भारत जस्ता टोलीलाई हराउन सक्ने क्षमता छ ।’ दसानायकेकै विचारमा सहमति जनाउँदै प्रदीप भन्छन्, ‘पाकिस्तान र भारत नाममा मात्र हामीभन्दा माथि हुन् ।’ पछिल्लो एसिसी यु–१९ एलिट कपमा उपविजेता भएको नेपाल यु–१९ विश्वकपको विश्वस्तरको छनोटमा सहभागी १६ टिममध्ये दोस्रो भएको थियो । यसले पनि नेपाली यु–१९ टोलीको स्तर देखाएको छ र उमेर समूहमा आफ्नो उपस्थितिलाई हरेक ठाउँमा बलियो बनाएको छ ।
आइसिसी यु–१९ विश्वकपको पूर्वसन्ध्यामा हुन लागेको यस प्रतियोगितामा नेपाली टोलीको ‘टेस्ट’ पनि हुनेछ । यसै कारण यो प्रतियोगिता विश्वकपभन्दा पनि कठिन हुने बताउँदै प्रशिक्षक दसानायके यो प्रतियोगिता विश्वकपका लागि ‘तयारी र प्रतिस्पर्धा’ दुवै एक हुने विश्लेषण गर्छन्, ‘हामी विश्व क्रिकेटका दुई महारथी टोली पाकिस्तान र भारतलाई यस प्रतियोगितामा पहिलो चरणमै भेट्दै छौं । विश्वकपमा सहभागी हुने १६ मध्ये ६ टोली यस प्रतियोगितामा सहभागी हुँदै छन् । यसै कारण यसै प्रतियोगिताबाट हाम्रो विश्वकपका लागि ‘प्रि–एक्ज्याम’ हुनेछ ।’ सन् २००९ मा एसिसी यु–१९ प्रतियोगिताबाट सेमिफाइनलबाट बाहिरिएका कारण आगामी अगस्टमा नेपाल चार वर्षपछि आइसिसी यु–१९ विश्वकपमा सहभागी हुँदै छ ।
नेपाली युवा टोलीले एसिसी यु–१९ एसिया कपका लागि दैनिक आठ घन्टा प्रशिक्षण गरेको थियो । ‘हामीले फिल्डिङ र ब्याटिङमा विशेष ध्यान दियौं किनभने पछिल्लो समय फिल्डिङ र पहिलादेखि नै ब्याटिङमा हाम्रो प्रदर्शन सन्तोषजनक छैन,’ तेस्रोपटक नेपालका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्न लागेका फजलुर रहमानले भने, ‘त्यसैले यस पक्षलाई सुधार गर्न हाम्रो प्रशिक्षण केन्द्रित रह्यो ।’ प्रशिक्षक दसानायकेले प्रतिद्वन्द्वी टोलीको फुटेज अध्ययन गर्न नसके पनि ती टोलीका खेलाडीका बारेमा विस्तृत अध्ययन गरिएको जानकारी दिए । यद्यपि, उनलाई एउटै डर छ, नेपाललाई ब्याटिङमा समस्या हुन सक्छ । जुन विषय नेपाली क्रिकेटमा लामो समयदेखि नै समस्याका रूपमा रहेको छ ।

नेपालको खेल तालिका
२३ जुन   विरुद्ध पाकिस्तान
२४ जुन  विरुद्ध मलेसिया
२६ जुन  विरुद्ध भारत

प्रतिक्रिया