‘म्याच फिक्सर’ बट रिहा


लाहोर, ८ असार । स्पट फिक्सिङको अभियोगमा ३० महिनाको जेल सजाय पाएका पाकिस्तानी क्रिकेट टोलीका पूर्व कप्तान सलमान बट सात महिना जेल बसेर मुक्त भएका छन् । राष्ट्रिय व्यक्तित्व समानका विदेशी कैदीलाई मुक्त गर्ने बेलायत सरकारको ‘स्किम’ अनुसार बट सजायको २३ महिना बाँकी रहँदै मुक्त भएको उनका निजी वकिल यासिन पटेलले जानकारी दिए । जेलबाट मुक्त भए पनि उनी १० वर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागी हुन पाउने छैनन् ।
दुइ वर्षअघि इंग्ल्यान्ड भ्रमणका क्रममा स्पट फिक्सिङ गरेको भन्दै पाकिस्तानका तत्कालीन कप्तान बटसहित बलरद्वय मोहम्मद आमिर र मोहम्मद सामीलाई दोषी ठहर गरी जेल चलान गरिएको थियो । अदालतले तोकेको सजायअघि नै आमिर र सामी पनि जेलमुक्त भइसकेका छन् ।
बटका वकिल पटेलले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘बट पाकिस्तान फर्कंदै छन् । उनी अब जीवनलाई पुनर्निर्माण गर्न क्रिकेटमा फर्कने प्रयास गर्नेछन्, यसबीचमा बटसँगै उनको परिवारले ठूलो दु:ख सामना गर्‍यो ।’ विज्ञप्तिमा अगाडि उल्लेख छ, ‘अब उनले परिवार र आफन्तसँग समय बिताउनेछन् । उनी अब गत नोभेम्बरमा जन्मिएका छोरालाई हेर्नेछन्, सुम्सुम्याउने छन् ।’ बटलाई गत नोभेम्बरमा जेल चलान गरिएको थियो ।
६ महिना जेल सजाय काट्दै आसिफ गत मेमा जेलमुक्त भएका थिए । उनलाई एक वर्षको जेल सजाय सुनाइएको थियो । त्यस्तै, आमिर पनि तीन महिना जेल सजाय भोगेर मुक्त भएका थिए । उनलाई ६ महिनाको जेल सजाय सुनाइएको थियो । हाल बेलायतमै रहेका आसिफ आफूविरुद्ध लगाइएको सात वर्षको खेल प्रतिबन्धविरुद्ध अपिल गर्ने तयारी गरिरहेका छन् । उक्त घटनामा दोषी ठहरिएका अर्का एकजना मजर मजिद अहिले ३२ महिने जेल सजाय बिताइरहेका छन् । उनलाई स्पट फिक्सिङमा ‘एजेन्ट’का रूपमा दोषी ठहर गरिएको थियो । यस घटनामा जेल सजाय पाएका चारमध्ये अब जेलमा बाँकी रहने उनीमात्र एक्ला अभियुक्त भए ।

प्रतिक्रिया