इंग्ल्यान्ड पेनाल्टी सुटआउटमा केन्द्रित


किभ, ८ असार । टाइब्रेकरमा प्राय: असफल रहने गरेको इंग्ल्यान्डले युरोकप २०१२ को पहिलो चरण पार गर्नेबित्तिकै पेनाल्टी सुटआउटको अभ्यास सुरु गरेको छ । रे हड्सनको प्रशिक्षणमा रहेको इंग्ल्यान्डले आइतबार इटालीसँग क्वार्टरफाइनल खेल्दै छ ।
इंग्ल्यान्डले यसअघि सन् १९९६ को युरोकप स्पेनसँग भएको खेलमा बाहेक टाइब्रेकरमा कुनै पनि खेल जितेको छैन । इंग्ल्यान्ड पाँचपटक टाइब्रेकरमा पराजित भएको छ । इटालीसँगको खेलमा टाइब्रेकरका आधारमा निर्णय भए पनि कुनै दबाब नहोस् भन्ने हेतुले हड्सनले त्यसको तयारी गरिरहेका छन् । ‘हामी आज त्यसै अभ्यासमा केन्द्रित भयौं,’ हड्सनले भने । ‘यो धैर्यको नमुना पनि हो । अहिले नियमित समयमा गोल भयो या भएन भन्ने बिर्सिएर यसैमा सबैजना केन्द्रित हुन जरुरी छ,’ हड्सनले भने । ‘मेरो विचारमा पेनाल्टी सुटआउट भनेको दरिलो मुटु र आत्मविश्वासका आधारमा नै निर्णय हुनेछ,’ उनले अगाडि भने । कुनै समय राम्रा खेलाडी चुक्नु र अनुमान नगरेका खेलाडीले सहजै गोल गर्नु यसैको उदाहरण भएको उनले बताए । सन् १९९० को विश्वकपमा स्टुवार्ट पियर्स र क्रिस वाड्ले चुकेपछि सेमिफाइनलमा इंग्लिस टोली जर्मनीसँग पराजित भएको थियो ।
सन् १९९६ को युरोकपको सेमिफाइनलमा पनि गेराथ साउथगेट चुकेपछि इंग्ल्यान्ड टाइब्रेकरमा नै जर्मनीसँग पराजित भएको थियो । सन् १९९८ को विश्वकपको दोस्रो चरणमा पनि अर्जेन्टिनाले इंग्ल्यान्डलाई टाइब्रेकरमै पराजित गरेको थियो । युरो २००४ र २००६ को विश्वकपमा पनि पोर्चुगलले इंग्ल्यान्डलाई टाइब्रेकरमा नै पराजित गरेको थियो । त्यसपछि नै इंग्ल्यान्डमा स्वेन गोरान एरिक्सनको युग सकिएको थियो । धेरैले स्विडेनी प्रशिक्षक एरिक्सनले खेलाडीको मनोबल बढाउन नसकेकै कारण इंग्ल्यान्ड असफल भएको आरोप पनि लगाउने गरेका छन् ।
‘हामीले २००६ को विश्वकपमा पनि धेरै नै अभ्यास गरे पनि पोर्चुगलसँग टाइब्रेकरमा हारेका थियौं ।’ एरिक्सनले भने । हड्सनले टाइब्रेकरमा जित्न नसके इंग्ल्यान्डले राम्रो नतिजा पाउन नसक्ने बताएका छन् । उनले यसलाई इंग्लिस फुटबलको ‘नेसनल फोबिया’का रूपमा पनि चित्रित गरे । ठूला खेल पेनाल्टी सुटआउटमा असफल भएकै कारण यो सुधार्न अति आवश्यक रहेको हड्सनले बताए । हड्सनले इंग्लिस फुटबलको यो शृंखला अन्त्य हुने विश्वास पनि व्यक्त गरे ।
(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया