रुनी फर्केपछि इंग्ल्यान्डलाई थुप्रै विकल्प

किभ, ५ असार । पहिलो चरणको अन्तिम खेलमा इंग्ल्यान्डका वेन रुनी फर्कनेछन् । इंग्ल्यान्डको प्रतिद्वन्द्वीका रूपमा रहेको युक्रेनका भेट्रान स्ट्राइकर आन्द्रेई सेभचेन्को भने उक्त खेलमा उपस्थित हुने या नहुने भन्ने शंका हुन थालेको छ । स्विडेनसँगको खेलमा युवा खेलाडी एन्डी क्यारोल, थियो वाल्कट र डेनी वेलब्याकले गोलसँगै ३–२ को जित हात पारेको इंग्ल्यान्डको क्याम्पमा रोनीको उपस्थितिले आक्रमणका लागि थप विकल्प पनि रहने भएको छ । इंग्ल्यान्डले गत वर्ष खेलेको अन्तिम छनोट खेलपछि उनलाई दुई खेलको प्रतिबन्ध लागेको थियो । अन्तिम खेलमा बराबरीले मात्र पनि इंग्ल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गर्न सक्नेछ । तर, इंग्ल्यान्डले तेस्रो खेल पनि आक्रमक खेल्ने जनाएको छ । ‘हामी जसरी सुरुका दुई खेल तीन अंकको लक्ष्य राखेर खेलेका थियौं, तेस्रो खेल पनि त्यसैगरी खेल्नेछौं,’ रोनीले भने ।
थियो वाल्कटको चोटले भने इंग्ल्यान्डलाई सामान्य समस्यामा पारेको छ । जेम्स मिलनरको साटो पहिलो रोजाइमै पर्ने सम्भावना रहेका वाल्कट प्रशिक्षणका दौरान घाइते भएका छन् । उनलाई ‘हयामस्ट्रिङ’ भएको छ । ‘उनी भोलिसम्म ठीक भइसक्ने आशा गरेको छु,’ बेलायती प्रशिक्षक रे हड्सनले भने । पछिल्लो खेलमा २० हजार स्विडिस समर्थकका सामु खेलेको इंग्ल्यान्डले युक्रेनको घरेलु दर्शकका कारण पनि कुनै दबाब नहुने जनाएको छ । आफू खेल्ने या नखेल्ने अनिश्चत नै रहेको युक्रेनका सेभचेन्कोले इंग्ल्यान्ड सम्मान गर्न लायक टोली रहेको तर डराउनचाहिँ नडराएको बताए । सेभचेन्कोले इंग्ल्यान्ड सेट पिस, कर्नर र फ्रिकिकमा राम्रो भएका कारण सतर्क हुनुपर्ने बताए ।
समूहमा फ्रान्स र इंग्ल्यान्ड दुवैको चार अंक छ भने युक्रेनको तीन अंक छ । यसैगरी, स्विडेन विना कुनै अंक प्रतियोगिताबाट बाहिरिइसकेको छ । इंग्ल्यान्डका लागि अन्तिम खेलको बराबरीले क्वार्टरफाइनल प्रवेश पर्याप्त हुनेछ । युक्रेन विजयी नभएमा इंग्ल्यान्ड र फ्रान्स स्वत: क्वार्टरफाइनल प्रवेश गर्नेछन् । युक्रेन विजयी भएमा क्वार्टरफाइनल प्रवेश गर्नेछ । फ्रान्सले कुनै अंक जोडे फ्रान्स क्वार्टरफाइनलमा प्रवेश गर्नेछ । फ्रान्स र इंग्ल्यान्ड दुवै पराजित भए गोल अन्तरको आधारमा निर्णय हुनेछ ।
अपराजित यात्रालाई २३ खेलसम्म लम्ब्याएको फ्रान्सको हकमा रियल म्याड्रिडका करिम बेन्जीमा नै हेर्न लायक खेलाडी हुनेछन् । युक्रेनसँगको खेलमा उनले दुवै गोलको अवसर सिर्जना गरेका थिए । इंग्ल्यान्डलाई लगातार दबाबमा राखेर फ्रान्स प्रतियोगितामा दाबेदारझंै देखिएको थियो । पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध २५ यार्डबाट गोल गरेका समीर नास्रीलाई रोक्न स्विडेनका लागि कठिन हुनेछ । प्रतियोगिताबाट बाहिरिइसकेको स्विडेनका लागि कुनै दबाब छैन । यो टोलीको चाहना विना कुनै अंक घर नफर्कने नै हो । सन् २००८ को युरोकप र २०१० को विश्वकपमा पहिलो चरणबाट बाहिरिएको फ्रान्सको टोलीमा अहिले अत्यधिक युवा खेलाडीको बाहुल्य छ । जिनेदिन जिदान, थियरी हेनरी, फेबियन बार्थेज, इम्यानुएल पेटी आदि सहकर्मीहरू लिएर खेल्दै आफ्नो नेतृत्वमा फ्रान्सलाई सन् १९९८ को विश्वकप उपाधि दिलाएका पूर्वडिफेन्डर लरें ब्लाँ अहिले प्रशिक्षकका रूपमा पनि सफल हुनेमा आशावादी छन् ।

एजेन्सी

प्रतिक्रिया