उसबखतको नेपाल

संवत् २००३ मा भारतमा खोलिएको नेपाली राष्ट्रिय कांग्रेसका नेताहरूका अभिव्यक्तिहरूबाट रुष्ट भएका गोपालप्रसाद रिमालले ‘नेपाल नेसनल लिग’ नाउँको संगठन खोल्ने सम्बन्धमा जनरल विजयशमशेर र कमान्डर–इन–चिफ मोहनशमशेरहरूसँग विचार–विमर्श गर्नुभएको थियो भनी भुवनलाल प्रधानले ‘असँ’ पुस्तकमा लेख्नुभएको छ । तर, उनीहरूको स्वीकृति नपाएपछि उहाँले केही साथीहरूसँग मिलेर ‘नेपाल नेसनल लिग’ नाउँको संगठनअन्तर्गत तत्कालीन अछूत जातिहरूलाई पानी चलाउने, नेवार–मधिसेलाई सैनिक सेवामा लिने, देशभित्र भ्रमणका लागि राहदानी नचाहिने गर्ने, राष्ट्रिय झन्डाको सार्वजनिक प्रयोग गर्ने आदि माग गर्दै ००३ साल फागुनदेखि गुह्वेश्वरी, शोभाभगवती, कङ्केश्वरी आदि पीठपीठमा गोपालप्रसाद रिमालरचित गीत गाएर सामूहिक प्रार्थना गर्न थालेका थिए । यस्ता कवि जसका कविताको एकएक शब्दमा संघर्ष, विद्रोह र क्रान्तिको झिल्को झल्किन्थ्यो, उहाँलाई पनि केही निन्दक र आन्दोलनभित्रैका केही व्यक्तिले मोहनशमशेरका ‘भित्रिया मानिस’ भन्ने लाञ्छना लगाएका थिए जबकि यथार्थमा प्रजा पञ्चायतका सूत्रधार एवं मूल संगठनकर्तामा प्रेमबहादुर कंसाकारसमेत गरी गोपालप्रसाद रिमाल पनि एकजना हुुनुहुन्थ्यो ।
उतिबेला काठमाडौं चार भञ्ज्याङलाई अर्थात् आजको उपत्यकालाई मात्र नेपाल भनिन्थ्यो । अन्यत्र पहाड र मध्यदेश (मधेस) भन्ने थिए । जुद्धशमशेरद्वारा गद्दी त्यागपछि राणाशासनको अवनति सुरु भयो । उनीपछि ‘श्री ३ महाराज’का रूपमा राणा प्राइममिनिस्टर भएका पद्ममशम्शेर ‘रुन्चे’ राजाका रूपमा चर्चित भए र राणाशासन उनको हातबाट सुरक्षित नहुने ठानेर उनका रोलवाला भाइहरूले आपसी मिलेमतो गरी उनलाई भारतको राँची सहर धपाइदिए । त्यसपछि नेपालको इतिहासमा आखिरी ‘श्री ३ महाराज’का रूपमा राणा प्राइममिनिस्टर मोहनशम्शेरले गद्दी चढे । मुख्यत: अन्तर्राष्ट्रिय परिस्थिति र बाह्य कारणले नेपालको शासन राणाहरूको एकलौटी हातबाट खुस्किने अवस्था आइसकेको थियो । त्यसैकारण कूटनीतिमा चतुर ठानिएका मोहनशमशेरका लागि पनि नेपालको राजकाज चलाउने काम उनको सामथ्र्यभन्दा बाहिरको कुरा भइसकेको थियो । पद्मशम्शेरकै समयमा देशमा राणाशासनको पकड खुकुलो हुन थालेको स्पष्ट अनुभूति हुन थालिसकेको थियो । देशमा पहिलोपटक कन्या स्कुल सुरु भयो । त्यतिबेलाको चलनअनुसार राणा प्राइममिनिस्टरको नामबाट हाइस्कुलको नाम राखिए तापनि त्यो घटना परिवर्तनको एउटा महत्त्वपूर्ण द्योतक थियो । राणाशासकहरूलाई पनि अब नारी शिक्षाको बाध्यता बुझ्न कर लाग्यो ।
उता ००३ सालदेखि मानिसहरूमा राजनीतिक चाख र कौतूहल बढ्दै गयो । एक लाख पनि ननाघ्ने जनसंख्या भएको काठमाडांै, त्यसमा पनि गिनेचुनेका शिक्षित परिवारको हिसाब गर्दा समाजमा प्रस्फुरण हुन थालेको सचेतता आफैँमा उल्लेखनीय थियो । यसमा ०९७ सालको प्रजापरिषद् आन्दोलनको स्पष्ट प्रभाव थियो । पारिवारिक शक्तिको हैसियतबाट एकदम एक्लो रहेका पद्ममशमशेरमाथि उनीपछिका रोलवाला रहेका र त्यतिबेलाका कमान्डर–इन–चिफ मोहनशमशेर र उनका बृहत भाइ–परिवारको दबाब बढ्दै गयो । पद्मशमशेर खुकुला र कमजोर राजा भएकाले देश बिग्रिने भयो भनेर मोहनशमशेरमण्डली त्यस्तो स्थितिलाई ‘रोक्न’का लागि आºनो शक्ति सञ्चय गरिरहेको थियो ।
उता छिमेकी भारत अंग्रेज सरकारको औपनिवेशिक शासनबाट फुक्का भइसकेको थियो र महात्मा गान्धी तथा जवाहरलाल नेहरूको नाम नेपालमा पनि सुनिन र चर्चा हुन थालिसकेको थियो । परिवर्तनको संकेत एउटा अर्को विचित्र सोखबाट पनि पाइन्थ्यो । मध्यमवर्गीय परिवार अब बिस्तारै–बिस्तारै घरमा चिया खान थाल्ने भइसकेको थियो । चिया खानु भनेको ‘कांग्रेसी’ बानी भन्ने बात लागेको समाजमा काठमाडांै सहरका २/४ पसलेहरूले खुला चिया बिक्री सुरु गरेका थिए । त्यस्ता पसलेहरूमा एकजना नामीचाहिँ धरहराका माहिलासाहु थिए । यी नै माहिलासाहुको पसलमा विश्वेश्वरप्रसाद कोइराला ००४ सालमा गुप्त रूपमा काठमाडौं आउँदा रामहरि शर्माका साला हरिप्रसाद रूपाखेतीसँगसँगै बाइस्कल चढेर कर्मकाण्डी ब्राह्मणको पहिरनमा गोप्य ढंगले चिया खान जानुहुन्थ्यो ।
म्याट्रिक जाँच पनि आयो र जाँच धेरै राम्रो नभए पनि पासचाहिँ निश्चय नै हुने विश्वास लिएर यो पंक्तिकारले २००३ सालको मंसिरतिर जनकपुर जाने अवसर पायो । पिताजीबाट मलाई म्याट्रिक जाँच दिएबापत प्राप्त भएको कोसेली थियो, त्यो यात्रा । तिनताका ‘मधेस’ जानु भनेको नयाँ आविष्कार गर्ने मौका पाएजस्तो हुन्थ्यो– केटाकेटीहरूका लागि । घरमा आठ–दस दिनअघिदेखिको चहलपहल, सामान–भारी मिलाउने तरखर, राहदानी तयार पार्ने गम्भीरता, राहदानीमा लेखाइको रीत नपुगी गलत भएमा राणाशासनबाट कडा सजायँ हुने हुँदा एक–एक अक्षर लेख्न बिराइएला वा बिग्रेला भन्ने डर, त्यसपछि उत्तिकै गम्भीरतासँग त्यो बनाउन जाने अर्थात् त्यसमा राहदानी अड्डाको छाप लगाउन जाने चटारो, त्यसपछि नेपाल राष्ट्रको आºनै मुद्रा भएर पनि आºनै मधेस तथा कतिपय पहाडी क्षेत्रहरूमा ‘नचल्ने’ नेपाली रुपियाँलाई भारतीय नोट र चाँदीका कम्पनी सिक्कामा साटेर बूढापाकाहरूले सुरक्षित रूपमा कम्मरमा पेटीजस्तै बाँधेर राख्ने गरेको र हामी फुच्चेहरूले चाहिँ विभिन्नखाले सिक्काहरू निजी खर्च गर्न पकेटमा राख्न पाउँदाको आनन्द, अनि प्रस्थान गर्नुअघिको साह्रै रोमाञ्चक रात– यी बयान गरिनसक्नु आनन्दका घडी हुन्थे । (पछि २०१३ सालमा टंकप्रसाद आचार्य प्रधानमन्त्री भएपछि नेपालभरि नेपाली मुद्रा मात्र प्रसार हुने प्रणाली कायम भयो ।)
हिँड्ने दिन बिहान सबेरै लहरीमा बसेर थानकोटफेदी पुगिन्थ्यो । त्यहाँबाट आफ्ना ठूलाबडा ओलिन्काठमा र हामी फुच्चे कि माताजीसँगै तामदानमा बसेर कि त बेग्लै डोकोमा बसेर उकालो लागिन्थ्यो । एक–डेढ घन्टापछि माथि चन्द्रागिरीको भञ्ज्याङ पुगिन्थ्यो । यो त्यही स्थान हो, जहाँको एउटा चिया पसल्नीलाई आधार बनाएर कथाकार भवानी भिक्षुले ‘ऊ फेरि फर्कला’ भन्ने अत्यन्त मार्मिक र लोकप्रिय लघुकथा लेख्नुभएको थियो । त्यहीँ केही सुस्ताएपछि ओरालो लागिन्थ्यो, मार्खु– चित्लाङको बाटो । अनि कहिल्यै नसकिनेजस्तो लामो फाँट गुज्रेपछि कुलेखानी आइपुगिन्थ्यो र त्यहीँ एक–डेढ घन्टाको विश्रामसहित खाना खाने काम हुन्थ्यो । त्यसपछि फेरि साँघुरो उकालो लाग्दै झन् साँघुरो ठाउँमा अवस्थित चिसापानी गढीको राहदानी–भन्सार जाँच अड्डा पुगिन्थ्यो । गढी आइपुग्नुभन्दा पहिला सबैलाई एक्कासि गम्भीर भएको पाइन्थ्यो । पिताजी–माताजीबाट ‘अब गढी आइपुग्न लाग्यो, सब चुप लाग्नु है’ भन्ने आवाज सुनिन्थ्यो । त्यो स्यानो ठाउँमा बन्दुक लिएर उभिएको सिपाही समाजमाथि राणाशासनको नियन्त्रण–पद्धतिको प्रतीक थियो । त्यहाँ झन्डै १ घन्टासम्म भारी–बाकस जाँच्ने र खोजतलास गर्ने काम भएपछि बल्ल भीमफेदीतिर लाग्न पाइन्थ्यो । गढी पार गरेपछि साँच्चै ‘मधेस’ को रोमाञ्चक वातावरणले समातिहाल्थ्यो । हरेकजना आफू सहसा फुक्का भएको जस्तो अनुभव गर्दथ्यो । यस्तो भाव कुनै राजनीतिक कारणबाट आउने गरेको त अनुभूति हँुदैनथ्यो तर स्वतन्त्रताको आºनै किसिमको आनन्दचाहिँ विशेषगरी हामीजस्ता साना केटाकेटीलाई पनि हुन्थ्यो । माथिबाटै तल फेदीका सेतो चून पोतिएका, रातो टिनको छाना लगाइएका राम्रा लाग्ने घरहरू देखिन्थे र तिनकै माझमा ठूलै भीमफेदी धर्मशालाको घर पर्दथ्यो । त्यो दृश्यलाई गढीबाट तल पैदलै ओर्लिंदा बढी रमाइलोसँग देख्न पाइन्थ्यो । त्यसैले हामीजस्ता फुच्चेहरू पैदल नै ओह्रालो लागेका हुन्थे । भीमफेदी बजार पहाडैपहाडले घेरिएको र राजधानीलाई विशाल तराईको मैदानीफाँटसँग जोड्ने मूलद्वार थियो । यहीँ नै आधुनिक औद्यौगिक विकासको एउटा स्यानो प्रतीक रहेको मालसामान ढुवानी गर्ने बिजुलीचालित रोपलाइनसँग परिचय पाइन्थ्यो ।
यही बजारमा १९९२/९३ सालतिर नेपाली क्रान्तिका प्रथम अग्रदूत टंकप्रसाद आचार्य पारिवारिक व्यवसायका रूपमा आउने–जाने यात्रुहरूका लागि होटल चलाउन आºना पिता पूर्वबडाहाकिम टीकाप्रसाद आचार्यलाई सघाउने गर्नुहुन्थ्यो । प्रजापरिषद् क्रान्तिका अर्का विशिष्ट योद्धा दशरथचन्दसँग मोहनविक्रम शाहको बारा जिल्लाको बिर्ता जग्गामा भेट परिचय भएर राणाशासनको उन्मूलनका लागि नयाँ आन्दोलनको रूपरेखा बनाएपछि यही भीमफेदी बजारमा आचार्यको क्रान्तिका तेस्रा नायक धर्मभक्त माथेमासँग भेटघाट भएको थियो । यसर्थ, भीमफेदी बजारले नेपालको राजनीतिक इतिहासमा अविस्मरणीय भूमिका खेलेको छ । २००७ सालपछि पनि यो ठाउँले नेपाल कम्युनिस्ट आन्दोलनको संगठन र विकासमा उल्लेखनीय काम गरेको छ ।
भीमफेदीमा राति बास बसेर भोलिपल्ट बिहान सबेरै अगाडिको बाटो लागिन्थ्यो । त्यसबेलाको दृष्टिबाट समेत बाबा आदमको पालाजस्तो बसमा कोचिएर भैँसे–हेटौँडाको बाटो गरी बल्लबल्ल त्यो बस छिर्नसक्ने सुरुङ हुँदै चुरे डाँडाभित्रबाट गुज्रिनुपथ्र्यो । अनि सबै यात्रीहरू ‘चुरै माईकी जय’ भन्दै जान्थे । सब ठाँउको आºनै आकर्षण थियो र बाटाभरिको थकाइले पनि त्यो आकर्षणलाई फिक्का पार्न सक्तैनथ्यो । अनि अमलेखगञ्जको फाँट र बगर हुँदै रेलवेस्टेसन आइपुग्दा भने साँच्चै नयाँ दुनियाँमा पसेको जस्तो लाग्थ्यो ।
अमलेखगन्जका बासिन्दाहरूको पहिरन, बोली, पसल थाप्ने तरिका र स्टेसनमा प्रतीक्षा गर्दाको रेलगाडीको कौतूहल– सबै अचम्मलाग्दा हुन्थे । आज हेर्दा खेलौनाजस्तो लाग्ने रेलगाडी दिउँसो ११ बजेतिर प्लेटफार्ममा आएर अड्दा ‘मधेस’ लाग्ने र ‘नेपाल’ (अर्थात् काठमाडौं) फर्किनेहरूबीच भेटघाट, भलाकुसारी, संवाद आदान–प्रदानको रमाइलो दृश्य देखिन्थ्यो किनभने यात्रुहरूमा कोही न कोही आफन्त हुन्थे नै । यस्तै रमाइलोसँग १२, साढे १२ बजेतिर रेलगाडी वीरगन्ज र रक्सौलतिर लाग्थ्यो । रेलगाडी चल्नासाथ ‘आँखा नलोलाउनु है, ननिदाउनु है, औलो लाग्छ’ भन्ने गरेको सुनिन्थ्यो । घना चारकोसे झाडीबाट रेल गुज्रिँदा हुन पनि आँखा कसोकसो झिम्मझिम्म हुन पुग्दथे । दायाँबायाँ खुला ठाउँ देखिँदैनथ्यो । साँचो हो वा ठट्टा हो थाहा छैन, रेलगाडीमा बसेर जाँदा कसैकसैले त बाघहरू पनि गर्जिरहेको देखेका थिए रे । वीरगन्ज आइपुग्दा प्लेटफार्ममा आकर्षक घुइँचो हुन्थ्यो । यो ठाउँ अमलेखगन्जभन्दा धेरै रमाइलो अनुभव हुन्थ्यो– मानिसहरूको पहिरन बढी गतिलो र चमक–धमक पनि बढी भएको हुनाले । फेरि वीरगन्ज स्टेसनमा खान पाइने चियाको स्वाद त बिर्सन गाह्रैपर्ने खालको हुन्थ्यो । सेकेन्ड क्लासको डिब्बाको झ्यालबाट बाहिर हेर्दा र बाहिरकाहरूले आफूतिर हेर्दा आºनो रवाफ बढेको जस्तो लाग्थ्यो । यसरी आधाघन्टाजति वीरगन्ज स्टेसनको विश्रामपछि गाडी रक्सौलतिर लाग्थ्यो अनि बेलुका पाँचबजेतिर रक्सौल पुगिन्थ्यो । वीरगन्जबाट रक्सौल पुग्दाचाहिँ अब आफू मुग्लान पसेको स्वत: अनुभूति हुन्थ्यो । अगाडि जानका लागि त्यस रात रक्सौलमा बास बसिन्थ्यो या सोझै स्टेसनतिर लागिन्थ्यो । आज काठमाडौंदेखि बसबाट चार घन्टा पनि समय नलाग्ने वीरगन्ज पुग्न तिनताका कम्तीमा दुई दिन र कोही–कोही त तीन दिन पनि लगाउँथे र त्यतिबेला वरपरसम्म घना जंगलबाहेक केही देखिँदैनथ्यो । उत्तिकै रमाइलोसँग भारतको रेलबाटो गरी जयनगर पुग्दा त्यहाँबाट अमलेखगन्जजस्तै च्यान्टे रेलगाडीद्वारा जनकपुर पुगिन्थ्यो । त्यहाँ पुग्नासाथ त्यो नगरको आकर्षणले तानिहाल्थ्यो ।

प्रतिक्रिया