पोर्चुगलको सम्भावना बाँकी, नेदरल्यान्ड्सको दोस्रो हार

खार्किभ, १ असार । जर्मनीसँगको २–१ को पराजयपछि पनि नेदरल्यान्ड्सको युरोकप फुटबल प्रतियोगिता–२०१२ को क्वार्टरफाइन प्रवेश गर्ने झिनो सम्भावना भने बाँकी नै छ । बुधबार राति भएको अर्को खेलमा डेनमार्कलाई ३–२ ले पराजित गर्दै पोर्चुगलले पनि क्वार्टरफाइनल प्रवेशको सम्भावना जीवितै राखेको छ । मारियो गोमेजले पहिलो हाफमा गरेको दुवै गोलका कारण पराजित नेदरल्यान्ड्सको दुई खेलमा कुनै अंक छैन । नेदरल्यान्ड्सले समूहको अन्तिम खेल पोर्चुगलसँग खेल्नेछ ।
पोर्चुगललाई कठिन जित दिलाउने क्रममा सिल्भस्ट्रे भारेलाले नियमित समय सकिन तीन मिनेट बाँकी रहँदा निर्णायक गोल गरे । यसअघि दुई गोलले पछि परेको डेनमार्कका लागि निकोलास बेन्डलरले दुवै गोल गरेका थिए । समूह ‘बी’ मा जर्मनीको तीन अंक छ भने डेनमार्क र पोर्चुगलको तीन/तीन अंक छ । बास्टिग श्वेन्सटाइगरको पासमा दुवै गोल गरेका गोमेजले प्रतियोगितामा गरेको व्यक्तिगत गोलसंख्या तीन पुगेको छ । उनीसँगै रुसका एलान जागोयेभले पनि तीन गोल गरेका छन् ।
नेदरल्यान्ड्सका लागि रोबिन भान पर्सीले गोल गरे । पोर्चुगलसँगको खेलमा पनि आर्जेन रुबेन खेल्ने या नखेल्ने अनिश्चत नै रहेको छ । दुवै खेलमा रुबेन निष्प्रभावी रहेका छन् । प्रशिक्षक भान मर्जविकले अन्तिम खेलमा पनि केही आशा जीवित नै रहेको बताए । जर्मन प्रशिक्षक जोचिम लोउले नेदरल्यान्ड्सले बनाएको राम्रो मुभलाई आफ्नो टोलीले बचाएको र ६० मिनेटपछिको अवस्था कमजोर रहेको प्रतिक्रिया दिए । पोर्चुगलले फराकिलो अन्तरको जितको मौका पाए पनि कप्तान क्रिस्टियानो रोनाल्डोले अनेकौं अवसर गुमाउँदा त्यो सम्भव नभएको हो । नेदरल्यान्ड्सको पराजयपछि थुप्रै नाम चलेका डच स्टारभन्दा जर्मन श्वेन्सटाइगर धेरै स्तरीय रहेको प्रतिक्रिया व्यक्त हुन थालेको छ । २७ वर्षीय मिडफिल्डरकै जर्मनीले डच टोलीमाथि जित हात पारेको थियो । बायर्न म्युनिखका मिडफिल्डर श्वेन्सटाइगरले दुई वर्ष जर्मनीले युरोकपको फाइनलमा प्रवेश गर्दा पनि त्यत्तिकै स्तरीय प्रदर्शन गरेका थिए । जर्मन प्रशिक्षक लोउले पनि उनको खुलेर प्रशंसा गर्ने क्रममा संसारकै एक उत्कृष्ट मिडफिल्डर भएको दाबी गरेका छन् ।
पोर्चुगल र डेनमार्कबीचको रोमाञ्चक खेलमा पेपेको हेडगोलमा पोर्चुगलले पहिलो अग्रता लिएको थियो । हेल्डर पोस्टिगाको गोलपछि पोर्चुगल सहजै विजयी हुने सम्भावना देखिएको थियो । पोस्टिगाले पोर्चुगलका लागि गरेको उक्त गोल २०आंै हो । पेपेले भने आफ्नो गोलले टिमले जितेकोमा खुसी व्यक्त गरे । पराजित टोलीका प्रशिक्षक मार्टिन ओल्सनले २–० ले पछि परेर कमब्याक गर्दा पनि भाग्यले साथ नदिएको बताए ।
पहिलो २० मिनेट प्रभावकारी फुटबल खेलेका पोर्चुगलका कप्तान रोनाल्डो र मिडफिल्डर राउल मिरालेस मिलेर बनाएको पहिलो मुभ आकर्षक थियो । २४आंै मिनेटमा कर्नरमा पेपेले गरेको हेड डेनिस मिडफिल्डर लिभियम केभिस्टको टाउकोमाथिबाट पार हुँदै गोल भएको थियो । ३२औं मिनेटमा अर्को प्रहार डेनिस रक्षकलाई लागेर डिफ्लेक्ट हुँदै फर्के पनि पोर्चुगल टिम लामो समय निराश भने हुनुपरेन ।
रोनाल्डो म्यानचेस्टर युनाइटेडमा हुँदा क्लबको पनि सहयात्री रहेका नानीको पासमा पोस्टिगाले गोल गरे । उनलाई मार्क गरिरहेका सिमोन काजरले पोस्टिगालाई रोक्ने कुनै अवसर नै पाएनन् । माइकल फ्लिकले गरेको बल कुनै निगरानीमा नरहेको बेन्डलरले पाएपछि उनले पनि कुनै गल्ती नगरी गोल गरे । दोस्रो हाफको सुरुआतमै रोनाल्डोले अग्रतालाई फराकिलो बनाउने अवसर पाए पनि उनले वान भर्सेस वानमा प्रहार गरेको बल डेनिस गोलरक्षक स्टिफन एन्डरसनले गोडाले बचाए । रोनाल्डोले गल्ती गर्ने क्रम यत्तिमा मात्र रोकिएन । नानीको पासमा उनले आठ यार्डमा गोलरक्षक मात्र भएको अवसरमा बल पाए पनि बाहिर प्रहार गरे ।
बेन्डलरले लार्स ज्याकोब्सनको क्रसमा सानदार हेडगोल गरे पनि रोनाल्डोको गल्ती महँगो सावित हुने सम्भावना देखिएको थियो । त्यसको लगत्तै भारेलालले गोल गर्दै पोर्चुगललाई जित दिलाए । एजेन्सी

फ्रान्समा जिदानको खोजी
डोनेट्स्क : ६ वर्षअघि जिनेदिन जिदानले फ्रान्सका लागि अन्तिमपटक खेलेका थिए तर अझै पनि उनलाई प्रतिस्थापन गर्न सक्ने खेलाडी देखिएका छैनन् फ्रान्सेली टोलीमा ।
युरोकप–२०१२ मा इङल्यान्डविरुद्ध फ्रान्सले १–१ ले बराबरी खेल्दा जिदानको अनुपस्थिति खड्किएको थियो । इङल्यान्डविरुद्ध लामो समय दबाब कायम गरे पनि फ्रान्स गोल थप्न तथा निर्णायक गोल गर्न असफल भएको थियो ।
फ्रान्सलाई जिदानजस्तो खेलाडीको अभाव देखिएको छ जसले फ्रान्सलाई सन् १९९८ को विश्वकप र २००० को युरोकप जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सन् २००६ को विश्वकपमा पनि फ्रान्सलाई फाइनल पुर्‍याएका जिदान इटालीविरुद्धको उपाधि भिडन्तमा रातो कार्ड पाउँदै बाहिरिएपछि अन्तर्राष्ट्रिय फुटबलमा त्यसपछि निस्क्रिय भएका थिए । उनी निस्क्रिय भएयता भएका अन्तर्राष्ट्रिय प्रतियोगितामा फ्रान्सको प्रदर्शन भने निराशाजनक रहँदै आएको छ । सन् २००८ को युरोकप र त्यसको दुई वर्षपछि भएको विश्वकपमा फ्रान्सले इतिहासमा सम्झनलायक प्रदर्शन गर्न सकेन ।

युरोकपमा ‘मेसी…मेसी… मेसी’
वार्सा : युरोकप–२०१२ मा पूर्वफिफा वर्षखेलाडी क्रिस्टियानो रोनाल्डोले एक गोल पनि गर्न सकेका छैनन् । त्यसो त उनले अवसर नै नपाएका होइनन् । विश्वका सर्वाधिक चर्चित खेलाडी लिओनेल मेसी यस प्रतियोगितामा सहभागी नभए पनि उनीसँग हैसियतको लडाइँ गरिरहेका रोनाल्डो नै ‘मेसी’ का रूपमा प्रस्तुत हुन सक्ने अनुमान गरिएको थियो । तर ‘गोल’ गर्न नसकेको हिसाबले रोनाल्डो यस प्रतियोगितामा त्यत्तिकै गुमनाम हुन पुगेका छन् ।
बुधबार डेनमार्कविरुद्धको खेलमा लगातार ‘वन भर्सेस वन’ जस्ता सुन्दर अवसरमा चुकेपछि २७ वर्षीय रोनाल्डोलाई गिज्याउँदै डेनिस समर्थकले ‘मेसी…मेसी…मेसी’ भनेर हुटिङ गरिरहेका थिए । यसको मतलब रोनाल्डोभन्दा मेसी धेरै माथिल्लो स्तरका खेलाडी हुन् भन्ने नै थियो । मेसी लगातार तेस्रो वर्ष अहिले विश्व सर्वोत्कृष्ट फुटबल खेलाडीको ताज पहिरिरहेका छन् ।
मेसी र रोनाल्डोबीच अहिले मात्र होइन विगत केही वर्ष यतादेखिको सर्वोत्कृष्ट भन्नेमा प्रतिस्पर्धा भइरहेको छ । सन् २००८ मा रोनाल्डो फिफा वर्षखेलाडी भएयताका वर्षहरूमा उक्त उपाधि मेसीले आफूबाट फुत्किन दिएका छैनन् ।
ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा रोनाल्डोको प्रदर्शन त्यति राम्रो छैन, तसर्थ उनले युरोकप–२०१२ मा गरिरहेको प्रदर्शनलाई ‘आश्चर्य मान्न नहुने धेरैको तर्क छ । सन् २००४ मा पहिलोपटक युरोकपमा खेलेयता रोनाल्डोले ठूला प्रतियोगितामा सहभागी भएका १५ खेलमा पाँच गोल मात्र गरेका छन् ।
मेसीले पनि ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गर्न सकेका छैनन् । तर यतिबेला भरखरै मात्र मेसीले ब्राजिलविरुद्धको मैत्रीपूर्ण भिडन्तमा हयाट्रिक गरेर रोनाल्डोलाई थप दबाब दिएको मान्नेहरू थुप्रै छन् । (एजेन्सी)

जितको खोजीमा फ्रान्स
वार्सा : समूहको पहिलो खेलमा इङल्यान्डविरुद्ध बराबरीमा रोकिएको फ्रान्स युरोकप–२०१२ मा पहिलो खेल जितेर उत्साही भएको आयोजक टोली युक्रेनविरुद्ध शुक्रबार भिड्दै छ । समूह ‘डी’ अन्तर्गतको यस भिडन्तमा पछिल्लोपटक सन् २००० को संस्करण जितेको फ्रान्स जित्नैपर्ने दबाबमा छ । युक्रेनविरुद्ध हार व्यहोरे फ्रान्सको अघिल्लो चरण प्रवेश सम्भावना संकटमा पर्नेछ । फ्रान्सका लागि समिर नास्री, करिम बेन्जिमा, फ्रान्क रिबेरी र प्याट्रिक इभ्रा लयमा देखिएका छन् । फ्रान्सको रक्षापंक्ति बलियो देखिएको छ । वेन रुनीविना पनि राम्रो प्रदर्शन गरेको इङल्यान्डले बलियो रक्षापंक्तिकै कारण फ्रान्सविरुद्ध तीन अंक हात पार्न असफल भएको थियो ।
यता आयोजकका रूपमा युक्रेनको मनोबल उच्च हुनेछ । यद्यपि स्वीडेनविरुद्ध जसरी फ्रान्सविरुद्ध भने युक्रेनले महसुस गर्न नपाउने पक्का छ । युक्रेनका सेभचेन्को राम्रो लयमा छन् । उनले स्वीडेनविरुद्ध प्राप्त २–१ को जितमा शेभचेन्कोले दुवै गोल गरेका थिए । समूह ‘डी’ मा युक्रेन तीन अंकसहित शीर्षस्थानमा छ । पहिलो खेलमा समान १–१ ले बराबरी खेलेका फ्रान्स र इङल्यान्डको समान एक अंक छ भने स्वीडेनले अंक जोड्न सकेको छैन ।
यता स्वीडेनविरुद्धको खेल इङल्यान्डका लागि सहज हुने अनुमान गरिएको छ । याल्टन इब्राहिमोभिकबाहेक स्वीडेनका अन्य चुनौती इङल्यान्डले सहजै पार गर्न सक्नेछ । पहिलो खेलमा जम्न नसकेको डानी वेल्ब्याक इङल्यान्डका लागि दोस्रो खेलमा नायक बन्न सक्नेछन् । त्यस्तै गोलकिपर जोए हार्टलाई पार गर्न पनि युक्रेनलाई मुस्किल हुनेछ । कप्तान स्टेफन जेरार्डले सम्हालेको मिडफिल्ड र जोन टेरीको निगरानीमा रहेको रक्षापंक्तिले स्वीडेनलाई हारदिक्क बनाउनेमा दुई मत नहोला । (एजेन्सी)

प्रतिक्रिया