सय मिटरमा कृष्णालाई स्वर्ण


काठमाडौं, ३२ जेठ । अन्तरक्षेत्र राष्ट्रव्यापी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको एथलेटिक्सतर्फ छात्राको १ सय मिटर दौडमा पश्चिमाञ्चलकी कृष्णा चौधरीले बुधबार स्वर्ण जितेकी छन् । निर्धारित दूरी पूरा गर्न कृष्णाले १३.१ सेकेन्ड समय खर्चिन् । मध्यमाञ्चलकी अनिता थापा दोस्रो तथा मध्यपश्चिमाञ्चलकी सञ्जु चौधरी तेस्रो भए ।
युवा तथा खेलकुद मन्त्रालयको तत्त्वावधानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको छात्र १ हजार ५ सय मिटर दौडमा पूर्वाञ्चलका उमेश कन्दङ्वा पहिलो भए । दौड पूरा गर्न उमेशले ४ मिनेट ३४.४ सेकेन्ड समय लगाए । पश्चिमाञ्चलका अनुप खनाल दोस्रो तथा मध्यपश्चिमाञ्चलका कपिल चौधरी तेस्रो स्थानमा रहे । सोही स्पर्धाको छात्रामा ५ मिनेट २०.८ सेकेन्ड समयमा मध्यपश्चमाञ्चलकी सुनमाया बुढा शीर्षस्थानमा रहिन् । मध्यमाञ्चलकी संगीता खड्का दोस्रो भइन् भने मध्यपश्चिमाञ्चलकी राधा राजी तेस्रो भइन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको छात्राको ४ सय मिटर दौडमा पश्चिमाञ्चलकी विमला चौधरीले स्वर्ण जितिन् । दौड पूरा गर्न विमलाले १ मिनेट ०६.९ सेकेन्ड समय लगाइन् । मध्यपश्चिमाञ्चलकी भागीरथीले रजत तथा मध्यमाञ्चलकी अनिता थापाले कांस्यपदक हात पारे ।
छात्रको हाइजम्पमा पश्चिमाञ्चलका अमृत नेपाली र सुदूरपश्चिमाञ्चलका नरेश चौधरीले समान १.६० मिटर उचाइ नाघे पनि अमृत विजेता बने । अमृतले पहिलो प्रयासमै उक्त उचाइ नाघेकाले विजेता बनेका हुन् । दोस्रो प्रयासमा सफल भएका नरेशले दोस्रो स्थानमा चित्त बुझाउनुपर्‍यो भने मध्यमाञ्चलका उमेश राई तेस्रो भए । उक्त स्पर्धाको छात्रामा १.४३ मिटर नाघ्दै पश्चिमाञ्चलकी प्रभा चौधरी पहिलो भइन् । मध्यपश्चिमाञ्चलकी तुलसा खत्री दोस्रो तथा पूर्वाञ्चलकी मनुजा डाँगी तेस्रो भए ।
यसैगरी, छात्रा भलिबलतर्फ मध्यमाञ्चल समूह ‘बी’ को विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई २५–२० र २५–२३ ले पराजित गर्‍यो । पराजित मध्यपश्चिमाञ्चल पनि समूह उपविजेताका हैसियतले अन्तिम चारमा पुग्यो ।
राखेपको कभर्डहलमा भएका म्याचमा पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विजयी भए । तीन टोली रहेको समूह ‘ए’ को लिग खेलमा पश्चिमाञ्चलले पूर्वाञ्चललाई २५–१४ र २५–१३ तथा सुदूरपश्चिमाञ्चलले पूर्वाञ्चललाई नै २५–१९ र २५–२० को सोझो सेटमा हराए । दोहोरो हारसँगै पूर्वाञ्चल प्रतियोगिताबाट बाहिरियो । विजेता पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल सेमिफाइनलमा पुगे । छात्रमा पश्चिमाञ्चलले मध्यमाञ्चललाई २५–१८, २१–२५ र १६–१४ ले पराजित गरी विजयी सुरुआत गर्‍यो । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयका सचिव सुशील घिमिरेले उद्घाटन गर्नुभएको थियो । राखेपको ९२औं बोर्डबैठकले राष्ट्रपति रनिङ शिल्डलाई अझ प्रभावकारी र व्यापक बनाउने उद्देश्यले कराते, तेक्वान्दो, उसु, फुटबल तथा क्रिकेट गरी ५ खेल थप गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया