कोपिला र सुशीला सेमिफाइनलमा


काठमाडौं,२९ जेठ । एपिएफ क्लबका दुवै टिम दोस्रो पेन्टागन महिला राष्ट्रिय बिच भलिबल प्रतियोगिताको आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् । एपिएफका विनिता बुढाथोकी/नेबिका चौधरी तथा निमा श्रेष्ठ/ज्योति चौधरीको जोडीले आइतबार आ–आफ्ना प्रतिद्वन्द्वीमाथि २–० को सोझो सेटमा जित हात पार्दै
सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । विनिता/नेबिकाको जोडीले नेपाल प्रहरीका पार्वती अर्याल/इन्दिरा कठायतको जोडीलाई २१–८ र २१–५ ले पराजित गरे । अर्को खेलमा निमा/ज्योतिको जोडीले मध्यपश्चिमाञ्चलका विनिता थापा/सरस्वती नेपालीको जोडीलाई २१–१० र २१–१५ ले पाखा लगाए । अन्य क्वार्टरफाइनलमा जित हात पार्दै प्रहरीका सुशीला थापा/कोपिला उप्रेती तथा मध्यमाञ्चलका रमिला तण्डुकार/कमला पुनको जोडी पनि अन्तिम चारमा पुगे ।
सुशीला/कोपिलाले मध्यमाञ्चलका मनिषा तामाङ/कृपा अधिकारीमाथि २१–६ र २१–५ को सहज जित प्राप्त गरे । रमिला/कमलाको जोडीले पश्चिमाञ्चलका मञ्जु गुरुङ/अरुणा शाहीको जोडीलाई १६–२१, २१–१२ र १५–६ को सेटमा पन्छाए ।
सेमिफाइनलमा सुशीला र कोपिलाले विनिता र नेबिका तथा निमा र ज्योतिले रमिला र कमलासँग प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको उपाधि भिडन्त सोमबार हुँदै छ ।

प्रतिक्रिया