खरेलसँग साढे चार लाख धरौटी माग

काठमाडौ : राजस्व हिनामिना गरेको अभियोग लागेका बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व–प्रमुख संरक्षण अधिकृत फणिन्द्रराज खरेलसित विशेष अदालतले साढे चार लाख रुपियाँ धरौटी माग गरेको छ ।
विशेषका अध्यक्ष न्यायाधीश गौरीबहादुर कार्की र सदस्य न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले पछि प्रमाण बुझ्दा ठहर हुने गरी हाललाई साढे चार लाख रुपियाँ धरौटी मागेको प्रवक्ता धीरबहादुर चन्दले बताए । ‘निकुञ्जले प्राप्त गर्ने राजस्वमा हानिनोक्सानी पुर्‍याएको होइन भनी भन्न नसकिने अवस्था भएकोले पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई चार लाख ५० हजार रुपियाँ नगद वा सो खाम्न सक्ने जेथा वा बैंक ग्यारेन्टी दिए लिई तारेखमा छाड्नू,’ थुनछेक बहसपछि अदालतको आदेशमा भनिएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका उपभोक्ता समितिहरूले आफ्नो क्षेत्रका नदी, खोलाबाट उपभोक्ता समितिका नियमानुसार दस्तुर लिई बालुवा, गिट्टी, ढुंगा उपलब्ध गराउने निर्णय भए पनि त्यसको अनुगमन, नियन्त्रण नगरी राजस्व छल्न लगाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो । (सौस)

प्रतिक्रिया