पुफा कप बनेपा ब्वायजलाई

काभ्रे : बनेपा ब्वायज क्लब (बिबिसी) ले काभ्रेको पाँचखालमा आयोजित प्रथम पुफा देशव्यापी आमन्त्रण कप फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ । उपाधिसँगै बिबिसीले नगद एक लाख रुपियाँ पुरस्कारसमेत प्राप्त गरेको छ ।
शनिबार भएको फाइनलमा काठमाडौंको स्पार्क हेल्थ होम फुटबल क्लबलाई १–० ले पराजित गर्दै उपाधि जितेको हो । बिबिसीका तर्फबाट एक मात्र निर्णायक गोल राम थापाले खेलको २३औं मिनेटमा गरेका थिए । उनी फाइनलको म्यान अफ द म्याचसमेत घोषित भए । फाइनलमा दुवै टिमले उत्कृष्ट प्रदर्शन गरेका थिए । राष्ट्रिय खेलाडी भोला सिलवालसहित मैदानमा उत्रेको स्पार्कले बिबिसीलाई दबाबमा राख्दै केही राम्रा गोल गर्ने अवसर चुकाएपछि ऊ उपविजेतामै सीमित हुन पुग्यो । उसले नगद ५० हजार रुपियाँ पुरस्कार पाएको छ ।
प्रतियोगितामा बिबिसीका प्रकाश वैद्यले बेस्टकोचको पुरस्कार पाए भने नवज्योति युवा क्लब अनुशासित टिम घोषित भयो । यस्तै स्पार्क हेल्थ होमका सुवास गुरुङ ‘बी’ सर्वाधिक गोलकर्ता, बिबिसीका धिरज सुनुवारले बेस्टकिपरको उपाधि पाए । उनीहरू सबैले जनही पाँच हजार रुपियाँ पुरस्कारसमेत पाएका छन् । काभ्रेमा पहिलोपटक आयोजना गरिएको सर्वाधिक पुरस्कार राशिको उक्त प्रतियोगितामा काभ्रे र काठमाडौंका गरी आठ टिमको सहभागिता थियो ।

प्रतिक्रिया