स्पेन बलियो तर दौडमा जर्मनी र नेदरल्यान्ड्स पनि


वार्सा, २७ जेठ । तपाईं फुटबलप्रेमी हो ? यदि हो भने विश्वकपपछिको दोस्रो सबैभन्दा ग्ल्यामरस प्रतियोगिता मानिने युरोकपको सम्बन्धमा के भन्नुहुन्छ ? अथवा, तपाईंको मनपर्ने टिम कुनचाहिँ हो ? अथवा, कुन टिमले यसपटक बाजी मार्ला ? खैर, तपाईंको विचार जे छ, त्यो छँदै छ । हामी तपाईंसमक्ष अहिलेको विश्व फुटबलमै सर्वाधिक चर्चित एकजना फुटबल खेलाडीको धारणा राख्छौँ ।
उनी भन्छन्, ‘यदि मसँग एक सुटकेस पैसा हुने थियो भने म यसपटकको युरोकप स्पेन र पोर्चुगलमध्ये एकले जित्छ भनेर उनीहरूको पक्षमा पैसा खन्याउने थिएँ ।’ कसले भन्यो होला यो भनेर केही अनुमान लगाउन सक्नुहुन्छ ? अरू कोही नभएर उनी हुन्– चल्तीका युरोपियन स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको । सम्भवत: यी ‘टप वल्र्ड क्लास प्लेयर’लाई थाहा छ, स्पेन कति बलियो छ भनेर । पछिल्लोपटक सम्पन्न दुई ठूला प्रतियोगिता विश्वकप र युरोकपकै गत संस्करण स्पेनले जितेको थियो । विश्वकप र युरोकप लगातार जित्ने टिम पक्कै पनि कुनै न कुनै रूपमा राम्रो छ भन्ने हुन्छ । त्यसैले यसमा रोनाल्डोले मात्र होइन, फुटबललाई सामान्य रूपमा बुझ्ने तथा अन्य टोलीको ‘डाइ हार्ड’ फ्यानले पनि भन्छ, स्पेनले नै युरोकप जित्न सक्छ ।
दक्षिण अमेरिकापछि फुटबलको सर्वाधिक उर्बर भूमि मानिने युरोपमा र त्यसमा ५१ राष्ट्रमध्ये ३५ लाई पछि पार्दै यस प्रतियोगितामा सहभागी हुने सबै टोली आआफ्नै किसिमले बलिया नै हुन्छन् । अर्थात् सबै टोली उपाधिका लागि योग्य नै हुन्छन् । तर, ‘टफ’ प्रतिस्पर्धालाई चिर्न सक्ने सामथ्र्य सबै टोलीमा नहुन सक्छ । फिफा वर्ष खेलाडी रोनाल्डोले आफ्नो देशलाई उपाधि दाबेदार भन्नु सामान्य होला तर स्पेनलाई नै किन सम्भावित विजेता ठाने त ? कारण स्पष्ट छ, ‘टफ प्रतिस्पर्धामा अन्तिम समयसम्म (विश्वकप फाइलनमा नेदरल्यान्ड्सविरुद्ध जसरी) लड्न सक्ने क्षमता छ स्पेनमा ।’ स्पेनलाई अझ बढी बुझ्न सक्नुमा उनले त्यहाँ करिब दुई वर्षदेखि क्लब फुटबल खेल्दै आइरहनु नै हो । यसक्रममा स्पेनकै राष्ट्रिय खेलाडीको वर्चस्व रहेको त्यहाँका दुई क्लब बार्सिलोना र रियल म्याड्रिडको स्तर पनि राम्रो थाहा छ उनलाई ।
रोनाल्डोले अनुमान गरेबमोजिम भए स्पेनले युरोपमा दुई नयाँ कीर्तिमान रच्नेछ । युरोपका कुनै पनि टोलीले अहिलेसम्म लगातार युरोकप, विश्वकप र फेरि युरोकप जितेका छैनन् । त्यति मात्र होइन, युरोकपका १३ संस्करण समाप्त हुँदासम्म कुनै पनि टोली लगातार दुईपटक विजेता हुन सकेको छैन ।
चार वर्षअघि सम्पन्न युरोकपको पछिल्लो संस्करणमा विजेता बनेको स्पेनले त्यसको दुई वर्षपछि दक्षिण अफ्रिकामा पुगेर विश्वकप उपाधि जितेको थियो । उक्त उपलब्धिमा स्पेनले अर्को युरोपियन सफलता पनि चुमेको थियो युरोपबाहिर आयोजना भएको विश्वकप जित्ने पहिलो युरोपियन टोली भएर । स्पेनको पछिल्लो अभियानमा गोलकिपर इकेर कासिलाससहित डेभिड सिल्भा, फर्नान्डो टोरेस, जाबी, आन्द्रेस इनेस्टालगायत खेलाडी महँगा साबित हुन सक्छन् । तर, दुर्भाग्यवश, स्पेनले जितेका पछिल्ला दुई अन्र्तराष्ट्रिय प्रतियोगितामा सानदार प्रदर्शन गरेका फर्वार्ड डेभिड भिल्ला र कार्लोस पुयोललाई भने यस प्रतियोगितामा देख्न पाइनेछैन ।
स्पेन उपाधि जित्नसक्ने बलियो प्रत्यासी हो तर निर्विकल्प र निर्विवाद भने होइन । युरोकप जित्नसक्ने प्रबल क्षमता भएका स्पेनबाहेक चार टोली छन् । साँच्चै भन्ने हो भने यदि ती टोली समूह विजेता भएनन् भने पनि धेरै फुटबल समर्थक खिन्न हुनेछन् ।
स्पेनबाहेक उपाधिको दौडका सम्भावित चार दाबेदारमा प्रमुख रूपले नेदरल्यान्ड्स, जर्मनी, इंग्ल्यान्ड र फ्रान्स छन् । युरोकपका पछिल्ला सबै १३ मध्ये आठ संस्करणका उपाधि यिनै पाँच टोलीले एकआपसमा बाँडेका छन् । हुन त इटाली पनि बलियो टोली हो तर घरेलु फुटबलमा ‘म्याच फिक्सिङ’ प्रकरणका कारण कमजोर मानसिकतामा देखिएको इटालीको पछिल्ला नतिजाका कारण यसलाई उक्त ‘बास्केट’मा राख्दा त्यसभित्रका अन्य टोलीको अवमूल्यन हुन्छ । म्याच फिक्सिङ प्रकरणकै कारण केही साताअघि इटालीले यस प्रतियोगिताबाट नाम फिर्ता लिनेसम्मको मनस्थिति बनाएको थियो तर सरकारको प्रत्यक्ष निर्देशनपछि भने खेल्ने निश्चित गरेको थियो ।
नेदरल्यान्ड्स र जर्मनी यसपटक पोर्चुगल र डेनमार्कसँगै ‘ग्रुप अफ डेथ’ मानिएको समूहमा छन् । स्पष्ट छ, केवल दुई टोली मात्र समूहचरण नाघेर नकआउट चरणमा पुग्न सक्ने हुँदा एक हदसम्म ती टोली खेलका अतिरिक्त ‘भाग्य’मै निर्भर रहनुपर्ने अवस्था उत्तिकै बलियो छ । त्यसो त नेदरल्यान्ड्स र जर्मनी दुवै उपाधिका लागि प्रबल दाबेदार मानिन सक्छन् । दुई वर्षअघि स्पेनबाट पराजित भएर समग्रमा तेस्रोपटक विश्वकप उपविजेतामा सीमित भएको नेदरल्यान्ड्ससँग अर्जेन रोबेन, रविन भान पर्सी, वेस्ली स्नाइडर जस्ता विश्वस्तरीय खेलाडी छन् । यिनै खेलाडीसमेतको उल्लेखनीय प्रदर्शनमा नेदरल्यान्ड्सले विश्वकप फाइनल यात्रा तय गरेको थियो । रोबेन, पर्सी र स्नाइडर अहिले पनि उत्तिकै चम्किरहेका छन् । पर्सीले यस वर्ष इंग्लिस क्लब फुटबल र रोबेनले जर्मन क्लब फुटबल तताए भने इटालियन क्लब फुटबलमा रहेका स्नाइडर खासै जम्न नसके पनि उनको फुर्ती घटेको छैन ।
नेदरल्यान्ड्स यसपटक गोलकिपरप्रति विश्वस्त हुनेछैन । सन् १९९४ को विश्वकप यता नेदरल्यान्ड्सको ‘नेट’ सम्हाल्दै आएका एडविन भान डर सरको ठाउँ यसपटक मार्टेन स्टेकलेनवर्गले सम्हाल्ने छन् । युरोकपको गत संस्करणमा क्वार्टरफाइनल पुगेको नेदरल्यान्ड्स रुसबाट पराजित भएको थियो । यसपटक युरोपियन च्याम्पियन्स लिगको फाइनल पुगेको वायर्न म्युनिखका प्राय: खेलाडीको वर्चस्व छ जर्मन टोलीमा । वायर्नलाई युरोपको सबैभन्दा ठूलो क्लब प्रतियोगिताको फाइलन पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका मारिओ गोमेज, थोमस मुलर, म्यानुएल नुयर, बास्टियन स्वेस्टाइंगर, फिलिप ल्हामलगायत खेलाडी अहिले राष्ट्रिय टोलीको प्रतिनिधित्वमा छन् । मेसुट ओजिल, मिरोस्लाभ क्लोस र लुकास पोडोलस्कीजस्ता विश्व स्टारको पनि जमघट छ उक्त टोलीमा ।
यति मात्र होइन, पछिल्ला दुई विश्वकपमा अन्तिम चारको यात्रा र युरोकपको गत संस्करणमा फाइनल पुगेर जर्मनीले आफ्नो सदावहार ‘स्टामिना’ प्रदर्शन गरिसकेको छ । युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा इकेर कासिलाससहित केही पहिलो रोजाइका स्पेनिस स्टारको जमघट रहेको रियल म्याड्रिडलाई वायर्नले हराएपछि यसपटक युरोकपमा स्पेनलाई हराउन सक्ने बलियो सामथ्र्य अन्य टोलीको दाँजोमा जर्मनीसित बढी छ भनेर पूर्वानुमान हुन थालेको छ ।
नेदरल्यान्ड्स, जर्मनी र स्पेनको तुलनामा फ्रान्स कम बलियो हुन सक्छ तर उपाधि जित्न सक्ने टोलीको सूचीबाट उसलाई हटाउन भने मिल्दैन । युरोपियन क्लब फुटबलमा बलियो प्रदर्शन गर्दै आएका खेलाडीको वर्चस्व रहेका कारण फ्रान्सलाई कमजोर आँकलन गर्न मिल्दैन । रियल म्याड्रिडका करिम बेन्जीमा, वायर्न म्युनिखका फ्रान्क रिवेरी, आर्सनलका समिर नास्री, चेल्सीका फलोरेन्ट मालाउडा, म्यानचेस्टर युनाइटेडका प्याट्रिक इभ्रालगायत खेलाडीको उपस्थितिले फ्रान्सेली टोली थप प्रभावशाली बनेको छ । पहिलो विश्वउपाधिको रूपमा सन् १९९८ को विश्वकप जितेर त्यसको दुई वर्षपछि आयोजित युरोकपमा पनि विजेता भएको फ्रान्स सन् २००६ मा विश्वकप फाइनल पुगेयताका वर्षमा भने राम्रो प्रदर्शन गर्न असफल रहँदै आएको छ ।
अनुशासनको कारबाही (रेडकार्ड) मा परेकाले प्लेमेकर वेन रुनीले सुरुका दुई खेल गुमाउनुपर्ने भएको छ तापनि इंग्ल्यान्डसित यसपटक युरोकपको उपाधि जित्ने सामथ्र्य छ भन्न सकिन्छ । भेट्रान डिफेन्डर जोन टेरी तथा मिडफिल्डर स्टिफन जेरार्ड, गोलकिपर जोय हार्टसहित एस्ली कोल, डेनी वेल्ब्याक, एन्डी क्यारोललगायत खेलाडीले कुनै पनि खेलमा इंग्ल्यान्डलाई जिताउन सक्छन् ।

युरोकप–२०१२ : केही तथ्य

_    युरोकपको १४आं संस्करण ।
–   पोल्यान्ड र युक्रेनले आयोजना गरेको पहिलोपटक । युरोकप संयुक्त रूपमा आयोजना हुन लागेको यो तेस्रोपटक हो । यसअघि सन् २००० को संस्करण बेल्जियम र नेदरल्यान्ड्सले आयोजना गरेका थिए भने सन् २००८ को संस्करण अस्ट्रिया र स्विजरल्यान्डले । यो संस्करण यसपटक इटालीले आयोजना गर्न सक्ने प्रबल सम्भावना रहेको भए पनि उक्त देश घरेलु फुटबलमा म्याचफिक्सिङ प्रकरणमा फसेपछि पोल्यान्ड र युक्रेनले उक्त अवसर पाएका हुन् ।
–  युरोपका शीर्ष १६ टिम सहभागी हुने यस प्रतियोगितामा उक्त प्रचलन यस संस्करणपछि परिवर्तन हुनेछ । सन् २०१६ मा हुने आगामी संस्करणदेखि युरोपका शीर्ष २४ टोली सहभागी हुनेछन् । यसअघि सन् १९९६ देखि यस प्रतियोगितामा १६ टिम सहभागी गराउन थालिएको थियो । युरोपियन फुटबल महासंघमा अहिले ५३ राष्ट्र सदस्य छन् । सन् १९९६ मा ४८ सदस्य थिए । युरोकपमा सहभागी टोली बढाउन युएफालाई सदस्य राष्ट्रले दबाब दिएका थिए ।
–   दुई देशका आठ सहरमा ३१ म्याच हुनेछन् । त्यसमा वार्सा, जिडान्स्क, रक्ला, पोज्नान, किभ, लिभ, डोनेट्स्क र खार्किभ छन् । यीमध्ये तीन सहरका रंगशालाले मात्र युरोपियन फुटबल महासंघको उच्च श्रेणीको मान्यता पाएका छन् ।
–  सहभागी १६ मध्ये १२ टिम पछिल्लो संस्करणमा सहभागी थिए । सन् २००४ पछि पहिलोपटक सहभागी हुने टोलीमा इंग्ल्यान्ड र डेनमार्क पनि पर्छन् । २४ वर्षपछि पहिलोपटक आयरल्यान्ड सहभागी हुँदै छ । स्वतन्त्र राष्ट्रका रूपमा युक्रेन पहिलोपटक युरोकपमा सहभागी हुँदै छ ।

प्रतिक्रिया