पल्सर पपुलर वर्षखेलाडी मनोनयन सार्वजनिक


काठमाडौं,२६  जेठ । गत वर्षका लागि प्रदान गर्न लागिएको पल्सर स्पोर्टस अवार्डअन्तर्गत सर्वाधिक चर्चित विधा पपुलर वर्षखेलाडीका लागि बिहीबार मनोनयन सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले वर्षभरि चर्चामा रहेका खेलाडीमध्ये यस संस्करणका लागि फुटबलका भरत खवास, क्रिकेटका शक्ति गौचन, लनटेनिसकी अश्लेषा लिसानोभिच, भलिबलकी रमिला तण्डुकार र एथलेटिक्सकी सविता चौधरीलाई मनोनयन गरेको छ ।
एसएमएस भोटिङका आधारमा उक्त विधाको विजेता घोषणा गरिनेछ । एसएमएसका लागि आयोजक मञ्चले बिहीबार नै टिएचटी लाइभसँग सम्झौता गर्‍यो । पल्सर टाइप गरी स्पेस थिचेर खेलाडीको नामको सुरुको अक्षर र थरको सुरुको अक्षर टाइप गरी ३१३१ मा एसएमएस गरेपछि आफूलाई इच्छा लागेको खेलाडीलाई भोट गर्न सकिन्छ ।
नेपाल पुलिस क्लबलाई गत वर्ष सहिद स्मारक ए डिभिजन लिग र ए डिभिजन राष्ट्रिय लिग उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका भरतले नै विश्वकप छनोट चरणअन्तर्गत जोर्डनविरुद्ध घरेलु मैदानमा खेलिएको दोस्रो लेगमा नेपालले १–१ ले बराबरी खेल्दा गोल गरेका थिए । त्यस्तै साफ च्याम्पियनसिपमा नेपाललाई सेमिफाइनल पुर्‍याउने क्रममा उल्लेखनीय प्रदर्शन गरेका उनले समूहचरणमा पाकिस्तानविरुद्ध एक गोल गरेका थिए ।
भरतभैंm गत वर्ष शक्ति पनि निकै चर्चामा रहे । दुबईमा सम्पन्न आइसिसी टी–ट्वान्टी विश्वकपको विश्वस्तरको छनोटमा यी स्पिनरले १६ विकेट लिएका थिए । साथै, उक्त प्रतियोगितापछि ‘क्रिकइन्फो’ ले घोषणा गरेको सो प्रतियोगिताको ड्रिम टिममा पनि चयन हुन सफल रहेका थिए । त्यस प्रतियोगितामा एक हयाट्रिकसमेत गरेका शक्तिलाई लगत्तै सञ्चालन भएको आइपिएल क्रिकेटमा राजस्थान रोयल्सले ट्रायल लिन बोलाएको थियो ।
एथलेटिक्सअन्तर्गत हडल्र्सको १ सय र ४ सय मिटर स्पर्धामा सविता राष्ट्रिय कीर्तिमान बनाएर घरेलु खेलकुदमा छाइन् । त्यस्तै रसियन मूलकी नेपाली खेलाडी अश्लेषा लिसानोभिचले गत वर्ष भएका सम्पूर्ण घरेलु प्रतियोगिता जितेर नेपाली महिला लनटेनिसमा एकछत्र राज गरिन् । छैटौं र सातांै ढोरपाटन राष्ट्रिय महिला डबल लिग भलिबलमा उत्कृष्ट खेलाडी घोषित रमिला कम उमेरमै प्राप्त सफलताका कारण पनि उत्तिकै चर्चामा रहेकी छन् ।
‘मैदानमा कसरी क्लब तथा राष्ट्रलाई जिताउने भन्नेमा मेरो ध्यान केन्द्रित हुन्थ्यो । बाहय वातावरणबारे केही थाहा थिएन,’ पछिल्लो समय नेपाली फुटबलमा आशाका केन्द्र बनेका फरवार्ड खवासले पपुलर खेलाडी मनोनयन सार्वजनिक कार्यक्रममा भने, ‘तर म त पपुलर खेलाडी पो भइसकेंछु । आजैबाट पपुलर भएजस्तो अनुभव भइरहेको छ ।’ यता गौचनले यसअघि सुन्ने मात्र गरेको अवार्डका लागि मनोनीत हुन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । त्यस्तै लिसानोभिचले नेपाली महिला टेनिसका सम्पूर्ण ‘एक्सपेक्टेसन’ आफूले पूरा गरिदिने भन्दै आफूलाई जिताइदिन आग्रह गरिन् ।
गत वर्षका लागि प्रदान गर्न लागिएको स्पोर्टस अवार्ड आगामी २० असारमा प्रदान गरिंदै छ । उत्कृष्ट पुरुष र उत्कृष्ट महिला खेलाडी विधामा पल्सर मोटरसाइकल प्रदान गरिनेछ भने अन्य विधाका विजेतालाई जनही ३०/३० हजार रुपियाँ दिइनेछ । पपुलर खेलाडीका लागि पनि मोटरसाइकल दिने प्रयास भइरहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया