समयको ऐनामा युरोकप


पेरिस, २६ जेठ । विश्वकपपछिको दोस्रो ठूलो फुटबल प्रतियोगिता मानिने युरोकप फुटबल प्रतियोगिताको १४औं संस्करण शुक्रबार पोल्यान्डको राजधानी वार्सामा उद्घाटन हँुदै छ । युक्रेन र पोल्यान्ड संयुक्त आयोजक रहेको प्रतियोगितामा १६ टोली सहभागी छन् । प्रतियोगिता लिग कम नकआउटको आधारमा सञ्चालन हुनेछ । विगत संस्करण हेर्नेहरूका लागि १९८४ मा फ्रान्सका मिचेल प्लाटिनीको ‘फर्म’ र १९८८ मा मार्को भान भास्टेनले गरेको ‘टिपिकल गोल’ सधंैका लागि सम्झनायोग्य रहनेछ । साथै ओलिभर विएरहाफले जर्मनीलाई र डेविड ट्रेजेगुएको गोल्डेन गोलले फ्रान्सलाई दिलाएको उपाधि त्यत्तिकै चर्चामा रहनेछ । अनेकन सम्भावना बोकेर १४औं संस्करण सुरु हुँदा विगतका १३ संस्करणको संस्मरणीय क्षण पनि चर्चाको विषय बनेको छ । पोल्यान्ड–युक्रेनसम्म आइपुग्नुभन्दा अघि इतिहास बनिसकेको पहिलोदेखि तेह्रौं युरोकप प्रतियोगितासम्मको संक्षिप्त झलक यस्तो रहेको छ :
१९६० फ्रान्स :

पश्चिम जर्मनी, इटाली र इङल्यान्डजस्ता तत्कालीन युरापेली महाशक्तिसमेतको अनुपस्थितिमा फ्रान्समा भएको पहिलो युरोकपमा सोभियत संघ, चेकोस्लोभाकिया र युगोस्लाभिया सहभागी थिए । स्पेनले राजनीतिक कारणले सहभागिता नजनाएपछि सेमिफाइनल खेल्ने अवसर पाएको सोभियत संघले चेकोस्लोभाकियालाई ३–० ले पराजित गर्‍यो । ४–२ ले पछि परेको युगोस्लाभिया खेलमा फर्कंदै फ्रान्समाथि ५–४ को जित हात पार्न सफल भयो । २६ हजार ३ सय ७० दर्शकका सामु खेलिएको भिक्टर पोलेडेनिकको निर्णायक गोलमा २–१ को जितसहित सोभियत संघ पहिलो युरापेली च्याम्पियन बन्यो ।
१९६४ स्पेन : दोस्रो संस्करणको अन्तिम चरणमा आयोजक स्पेनसहित डिफेन्डिङ च्याम्पियन सोभियत संघ, डेनमार्क र हंगेरी समावेश थिए । सेमिफाइनलमा सोभियत संघले डेनमार्कलाई ३–० ले तथा स्पेनले हंगेरीलाई २–१ ले पराजित गरे । फाइनलमा मार्सेलिनाको निर्णायक गोलमा स्पेनले २–१ को जित हात पार्‍यो ।
१९६८ इटाली :

१९६८ मा प्रतियोगिताको तेस्रो संस्करणमा नाम परिवर्तन हुँदै युरोपियन च्याम्पियनसिप भयो । इटालीमा भएको प्रतियोगितामा पनि चार टोली सहभागी थिए । सोभियत संघमा भएको खेलमा गोलरहित बराबरी भएपछि आयोजक राष्ट्र टस जितेर फाइनलमा प्रवेश गर्‍यो । विश्वविजेता इङल्यान्डलाई १–० ले पराजित गर्दै युगोस्लाभिया पनि फाइनलमा प्रवेश गर्‍यो । इङल्यान्डका एलान मुलारी रातो कार्ड पाउने पहिलो इङलिस फुटबलर भए । रोम रंगशालामा भएको पहिलो फाइनलमा १–१ को बराबरी भएको थियो । दुई दिनपछि अर्को खेलमा इटालीले पाँच नयाँ खेलाडी मैदानमा उतार्‍यो र २–० को जित हात पार्‍यो ।
१९७२ बेल्जियम :

१९७२ मा बेल्जियममा भएको प्रतियोगितामा आठ टोली सहभागी गराइए । सुरुआतदेखि नै अप्रत्यासित परिणाम पनि देखिए । डिफेन्डिङ च्याम्पियन तथा दुई वर्षअघि विश्वकप उपविजेता भएको इटाली बेल्जियमसँग पराजित हुँदै क्वार्टरफाइनलबाटै बाहिरियो । दुई वर्षअघि विश्वकपको क्वार्टरफाइनलमा जर्मनीसँग पराजित इङल्यान्ड बेल्जियम युरोकपमा पनि त्यसै चरणमा जर्मनीसँग पराजित भयो । सेमिफाइनलमा पश्चिम जर्मनीले बेल्जियमलाई २–१ ले पराजित गर्‍यो भने चार संस्करणमध्ये तीनमा फाइनल प्रवेश गर्ने क्रममा सोभियत रुसले हंगेरीसँगको खेलमा १–० को जित हात पार्‍यो । फ्रान्ज बेकनबर, गर्ड म्युलर, उली होनस, गुयन्टर नोयट्जर र गोलरक्षक सेप मारियर समावेश जर्मनीले फाइनलमा ३–० को सहज जित हात पार्‍यो ।
१९७६ युगोस्लाभिया : दुई वर्षअघि विश्वकप फाइनलमा पश्चिम जर्मनीसँग पराजित नेदरल्यान्ड्स १९७६ मा युगोस्लाभियामा भएको युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा चेकोस्लोभाकियासँग ३–१ ले पराजित भयो । निर्धारित समयमा दुवै टोली १–१ को बराबरीमा रहेको खेलको अतिरिक्त समय चेक टोली ३–१ ले विजयी भयो । अर्को सेमिफाइनलमा विश्व तथा युरोपेली च्याम्पियन जर्मनीले चोटका कारण गर्ड म्युलरलाई गुमाए पनि उनकै स्थानमा खेलेको नेमेस्कर डटेले हयाट्रिक गरेपछि युगोस्लाभियासँगको खेलमा ४–२ को जित हात पार्‍यो । फाइनलमा २–० ले पछि परेको जर्मनीले अन्तिम मिनेटमा कमब्याक गर्दै २–२ को बराबरी गर्न सफल भयो । पहिलोपटक टाइब्रेकरबाट निर्णय भएको ठूला प्रतियोगिताको खेलमा जर्मनी विजयी भयो । एन्टेनियो पेनेन्काले गरेको निर्णायक पेनाल्टी सुटआउट अहिले पनि चर्चित छ । उनले चिप गर्दै गोल गरेका थिए ।
१९८० इटाली :

१९८० मा इटालीमा भएको प्रतियोगिता अलि फरकखालको थियो । सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गर्दै दुवै समूहका विजेता फाइनल प्रवेश गर्ने नयाँ प्रचलन सुरु भयो । एउटा समूहमा बेल्जियमले एक जित र दुई बराबरीसहित शीर्षस्थान पाएपछि इटाली बाहिरियो । अर्कोमा जर्मनीले नेदरल्यान्ड र चेकोस्लोभाकियालाई पराजित गर्दै लगातार तेस्रोपटक फाइनल प्रवेश गर्‍यो । फाइनलमा हस्र्ट रुब्रकेले गरेको दुवै गोलमा जर्मनी २–१ ले विजयी भयो ।
१९८४ फ्रान्स :

दुई समूहबाट चार टोली सेमिफाइनल प्रवेश गर्ने नयाँ शैलीअनुसार भएको १९८४ को फ्रान्स युरोकपमा आयोजक टोलीका मिचेल प्लाटिनी नौ गोल गर्दै प्रतियोगिताका नायक बने । १९८२ को विश्वकपको सेमिफाइनलमा पश्चिम जर्मनीसँग भएको हारको बदला लिंदै फ्रान्सले समूहचरणको तीनवटै खेल जित्यो । प्लाटिनीसहितको जादुमय मिडफिल्ड रहेको फ्रान्स–पोर्चुगलबीचको सेमिफाइनल अहिलेसम्मकै युरोपेली प्रतियोगिताको उत्कृष्ट खेल मानिन्छ । सेमिफाइनलमा निर्धारित समय १–१ गोलको बराबरी भयो भने अतिरिक्त समयमा अग्रताका बाबजुद पोर्चुगल २–१ ले पराजित भयो । अर्को सेमिफाइनलमा १–१ को बराबरीपछि स्पेनले डेनमार्कलाई टाइब्रेकरमा पराजित गर्दै फाइनलको यात्रा तय गर्‍यो । फाइनलमा प्लाटिनीको प्रहार स्पेनका गोलरक्षक लुइस आरकोन्डाको जिउमा लाग्दै गोल भयो भने ब्रुनो बेलानले अर्को गोल गरेपछि फ्रान्स २–० ले विजयी भयो ।
१९८८ पश्चिम जर्मनी : यो १९८८ मा बर्लिन पर्खाल भत्किनुअघिको अन्तिम युरोकप थियो । पश्चिम जर्मनीले आयोजना गरेको युरोकपमा घरेलु टोली समूहमा शीर्षस्थान प्राप्त गर्दै सेमिफाइनलमा प्रवेश गर्‍यो । सेमिफाइनलमा नेदरल्यान्ड्सले पश्चिम जर्मनीलाई २–१ ले पराजित गर्‍यो । ३२ वर्षपछि नेदरल्यान्ड्सलाई पहिलो जित दिलाउने क्रममा मार्को भान बास्टनले दुवै गोल गरे । सोभियत संघले इटालीलाई २–० ले हराउँदै फाइनलको यात्रा तय गर्‍यो । फाइनलमा नेदरल्यान्ड्सले सोभियत रुसलाई २–० ले पराजित गर्‍यो । फाइनलमा रुड गुलिटको बुले शेड गोल र मार्को भान बास्टेनको साँघुरो कोणबाट गरेको स्तरीय गोलले नेदरल्यान्ड्स २–० ले विजयी भयो । डच गोलरक्षक हान्स भान ब्रुकलेनले रुसी खेलाडी इगोर बेलानोभको पेनाल्टी प्रहार बचाउँदै रुसी टोलीको कमब्याकको आशा नै सकिदिए ।
१९९२ स्वीडेन :

१९९२ को स्वीडेन युरोकप विश्व राजनीतिले प्रभावित बन्यो । जर्मन एकीकरणपछि पहिलोपटक संयुक्त टोली युरोकपमा सहभागी भयो । गृहयुद्धले प्रभावित युगोस्लाभियालाई प्रतिबन्ध लगाउँदै अन्तिम समयमा डेनमार्कलाई खेल्ने अवसर दिइयो । सोभियत संघ विघटनका बाबजुद रुसी गणराज्य संयुक्त टोलीको रूपमा प्रतियोगितामा सहभागी भयो । अन्तिम समयमा प्रतियोगितामा सहभागी डेनमार्कले स्वीडेनभन्दा पछि रहँदै समूहमा दोस्रो स्थान पायो । सेमिफाइनलमा निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि डेनमार्कले नेदरल्यान्डलाई टाइब्रेकरमा पराजित गर्‍यो । अर्को सेमिफाइनलमा जर्मनीले स्वीडेनलाई ३–२ ले पराजित गर्‍यो । फाइनलमा जर्मनीलाई २–० ले पराजित गर्दै डेनमार्कले उपाधि हात पार्‍यो । मिडफिल्डर जोन जेन्सनले २५ मिटरबाट सानदार प्रहार गर्दै ४८ अन्तर्राष्ट्रिय खेलमा दोस्रो गोल गरे । किम भोल्गर्टले अर्को गोल गरे ।
१९९६ इङल्यान्ड :

१९९६ देखि १६ टोलीको सहभागिता र क्वार्टरफाइनलदेखि नकआउट चरणको खेल खेलाइने चलन सुरु भयो । इङल्यान्डले एकदमै स्तरीय प्रदर्शन गर्दै नेदरल्यान्ड्सलाई ४–१ ले पराजित गर्‍यो । स्पेनलाई टाइब्रेकरमा हराउँदै इङल्यान्ड सेमिफाइनलमा प्रवेश गर्‍यो । नेदरल्यान्ड्सलाई टाइब्रेकरमा हराउँदै फ्रान्स पनि सेमिफाइनल प्रवेश गर्‍यो । जर्मनीले क्रोएसियालाई २–१ ले तथा चेक गणतन्त्रले पोर्चुगललाई १–० ले हराउँदै सेमिफाइनल प्रवेश गरे । सेमिफाइनलमा जर्मनीले इङल्यान्डलाई टाइब्रेकरमा पराजित गर्‍यो भने अर्को सेमिफाइनलमा चेकले पनि फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्‍यो । गोल्डेनगोलको आधारमा पहिलोपटक हारजित भएको खेलमा चेकलाई २–१ ले हराउँदै जर्मनीले उपाधि जित्यो । १–० ले पछि परेको जर्मनीका लागि वैकल्पिक खेलाडीको रूपमा मैदानमा प्रवेश गरेका ओलिभर विएरहाफले नियमित समयमा र अतिरिक्त समयमा एक/एक गोल गरे ।
२००० नेदरल्यान्ड्स र बेल्जियम : नेदरल्यान्ड्स र बेल्जियममा भएको युरो–२००० मा नेदरल्यान्ड्सले आफूलाई दाबेदारको रूपमा प्रस्तुत गर्दै पहिलो चरण पार गरेको थियो । क्वार्टरफाइनलमा युगोस्लाभियालाई ६–१ ले पराजित गर्न सफल नेदरल्यान्ड्स सेमिफाइनलमा इटालीको जब्बर रक्षापंक्तिको सामु नतमस्तक हुँदै टाइब्रेकरमा पराजित भयो । इङल्यान्ड र जर्मनी पहिलो चरणबाटै बाहिरिए । उपाधिकै दाबेदार रहेको पोर्चुगल सेमिफाइनलमा विवादास्पद पेनाल्टीका कारण फ्रान्ससँग पराजित भयो । त्यसै विवादमा तीन खेलाडीले लामो समयको प्रतिबन्धको सामना गरे । फाइनलमा इटालीले अग्रता लिए पनि सिलभियन विलटोर्डले खेल सकिन २० सेकेन्ड बाँकीमा बराबरीमा गोल गरे । डेविड ट्रेजेगुएले गोल्डेनगोल गर्दै फ्रान्सलाई उपाधि दिलाए ।
२००४ पोर्चुगल :

२००४ मा पोर्चुगलमा भएको युरोकपमा ग्रीसले फ्रान्सलाई र चेक गणतन्त्रलाई १–० ले हराउँदै फाइनलको यात्रा तय गर्‍यो । अर्को सेमिफाइनलमा नेदरल्यान्ड्सलाई २–१ ले हराउँदै पोर्चुगल फाइनलमा प्रवेश गर्‍यो । फाइनलमा एन्जोलोस हेरिसटसले निर्णायक गोल गरेपछि पोर्चुगल १–० ले पराजित भयो । डेनमार्कले जितेको १२ वर्षपछि ग्रीसले आश्चर्यजनक रूपमा युरोकपको उपाधि जित्यो ।
२००८ स्वीजरल्यान्ड र अस्ट्रिया :

२००८ मा स्वीजरल्यान्ड र अस्ट्रियामा भएको प्रतियोगितामा दुवै आयोजक पहिलो चरण पार गर्न असफल रहे । क्वार्टरफाइनलमा टाइब्रेकरमा जित हात पार्दै स्पेन २४ वर्षपछि ठूला प्रतियोगितामा इटालीलाई हराउन सफल भयो । नेदरल्यान्ड्सलाई हराउँदै रुस पनि सेमिफाइनलमा प्रवेश गर्‍यो । सेमिफाइनलमा फ्लीप ल्हामले अन्तिम मिनेटमा गोल गर्दै टर्कीविरुद्ध जर्मनीलाई ३–२ को जित दिलाए । अर्को सेमिफाइनलमा स्पेनले रुसलाई ३–० ले पराजित गर्‍यो । फाइनलमा फर्नान्डो टोरेसको सानदार गोलमा स्पेनले जर्मनीलाई १–० ले पराजित गर्‍यो ।

प्रतिक्रिया