दबाबपछि २४ घन्टामै छुटे ४ डन


काठमाडौं,२४  जेठ । सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यारालाई हतियार ‘सप्लाइ’ गरेको आशंकामा पक्राउ परेका काठमाडौँ उपत्यकाका चर्चित ‘डन’ हरूलाई प्रहरीले २४ घन्टा पनि हिरासतमा राख्न सकेन । पक्राउलगत्तै चर्को राजनीतिक दबाब थेग्न नसकेर म्याद थप नगरी उनीहरूलाई छाडिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँंले सोमवार साँझ ‘सिल एन्ड सर्च अपरेसन’ अन्तर्गत मनिराज गुरुङ, शशि अधिकारी, ऋगल ढकाल र दावा लामालाई पक्राउ गरेको थियो । गुरुङलाई सामाखुसीबाट, ढकाल र लामालाई दरबारमार्गबाट र शशिलाई सोह्रखुट्टेबाट पक्राउ गरिएको हो ।
प्रहरी मंगलबार बिहानसम्म चारैजनालाई अनुसन्धानका लागि म्याद थप गर्ने तयारीमा थियो  तर चर्को दबाब आएपछि उनीहरू कसैको म्याद थप नगरी मंगलबार बेलुकी छाडियो । एक प्रहरी अधिकृतले भने, ‘राजनीतिक दलबाट मात्र नभई संगठनभित्रैबाट दबाब आयो, उनीहरूविरुद्ध प्रमाण हुँदाहँदै पनि म्याद थप गर्न सकिएन ।’ एक उच्च प्रहरी अधिकृतलाई उद्वृत गर्दै अर्को प्रहरी स्रोतले भन्यो, ‘उनीहरूलाई एक रात थुन्नु नै काफी छ, म्याद थप नगरौं ।’
प्रहरी परिसर काठमाडाँैका प्रमुख एसएसपी जयबहादुर चन्दले उनीहरूमाथि मुद्दा चलाउने किसिमको कुनै प्रमाण नभेटिएकाले म्याद थप नगरिएको दाबी गरे । अबका दिनमा आपराधिक क्रियाकलाप नगर्न सख्त चेतावनी दिएर उनीहरूलाई आफन्तको जिम्मा लगाइएको एसएसपी चन्दको भनाइ छ ।
उनीहरूलाई प्रहरीले हतियार बिक्री–वितरणमा संलग्न रहेको सूचनाका आधारमा पक्राउ गरेको थियो । प्रहरीका अनुसार ढकाल दुई वर्षदेखि राजधानीका विभिन्न आपराधिक समूहलाई हतियार सप्लाइमा संलग्न छन् । उनी केही वर्षअघि नेपालगन्जमा भएको गोलीकाण्डका फरार अभियुक्त हुन् । उनलाई बाँके जिल्ला प्रहरी कार्यालयले अहिले पनि खोजिरहेको छ ।
परिसरका एक प्रहरी अधिकृतले भने, ‘उपत्यकाका सबै आपराधिक समूहसँग सम्बन्ध रहेका ढकालको हतियार सप्लाइ गर्ने गिरोह नै छ ।’ ढकालले वाफलका समिरमानसिंह बस्नेतसँग मिली हतियार सप्लाइ गर्ने गरेको प्रहरीको भनाइ छ । बस्नेत राजधानीका चर्चित डन बाघे लामाको समूहमा काम गर्छन् ।
पक्राउ परेका गुरुङ दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारीलाई कुटपिट गरेर फरार भएका थिए । गुरुङसहितको गुण्डा समूहले तत्कालीन सिडिओ उद्धवबहादुर थापालाई कार्यालयभित्रै कुटेको थियो । एमाओवादीका जिल्ला नेता विशाल खड्काविरुद्ध सार्वजनिक मुद्दा चलाइएपछि थापामाथि आक्रमण भएको थियो । खड्का पूर्वराज्यमन्त्री देवी खड्काका भाइ हुन् ।
दोलखा खारे–६ का गुरुङ यसअघि तीन पटक पक्राउ परिसकेका छन् । उनी १९ असार २०६३ मा सोह्रखुट्टेस्थित गोगो वारका कुक हेल्पर प्रेम लामाको हत्या अभियोगमा पक्राउ परेका थिए । पछि १७ भदौ २०६४ मा गंगबुस्थित सो गर्ल रेस्टुरेन्ट अगाडि डाइनामिक रेस्टुरेन्टका सञ्चालक विष्णु लामामाथि गोली प्रहार गरेको अभियोगमा पक्राउ परे । त्यसपछि १७ वैशाख २०६० सीतापाइलाकी लीलमाया गिरी हत्याकाण्डमा संलग्न भएको भन्दै पक्राउ परेका थिए । उनी अहिले एमाओवादीनिकट वाइसिएलमा आबद्ध छन् ।
अर्का अभियुक्त लामा दुई वर्षअघि मनमैजु–५ बाट इटालियन र अमेरिकन पेस्तोलसहित आशिष कोइराला र मिलन लामासँगै पक्राउ परेका थिए । उनी ६ माघ २०६६ मा गोठाटारमा भएको गोलीकाण्डमा संलग्न थिए । गत फागुन १ गते लाजिम्पाटबाट व्यापारी सुवास चाचनको अपहरण गरेको आरोपमा उनलाई सिआइबीले पक्राउ गरेको थियो । गृहमन्त्री विजयकुमार गच्छदारका विश्वासपात्र गणेश लामाका उनी दाहिने हात हुन् ।
यसैगरी पक्राउ परेका अधिकारी रसुवाका कांग्रेसनिकट तरुण दलका जिल्ला सभापति हुन् । चर्चित डन कुमार घैंटेको समूहमा उनी अहिले पनि कार्यरत छन् । ‘पक्राउ परेका उनीहरूमध्ये कति फरारको सूचीमा छन्, कति आपराधिक गतिविधिमा संलग्न छन्, तर हामीले २४ घन्टा पनि अनुसन्धान गर्न पाएनाँै,’ परिसरका एक प्रहरी अधिकृतले सौर्यसँग गुनासो गरे ।

प्रतिक्रिया