घुस लिँदालिँदै कर्मचारी पक्राउ

काभ्रे, २३ जेठ । सेवाग्राहीसँग घुस लिँदा लिँदै नापी शाखा काभ्रेका सर्वेक्षक सञ्जय मानन्धरलाई मंगलबार दिउँसो पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय काभ्रेका मुद्दा फाँटका सुब्बा रामप्रसाद भट्टराईको नेतृत्वमा गएको टोलीले नापी शाखाका सर्वेक्षक सञ्जय मानन्धरलाई पक्राउ गरेको हो । मंगलटार गाविसबाट पाँचवटा ट्रेस नक्सा निकाल्न आएका मानवहादुर लामासँग संञ्जयले ५ हजार घुस मागेका थिए । आइतबार दिउंसो ३ हजार दिंदा पनि काम नभएपछि मंगलबार २ हजार दिने शर्तमा मानन्धरले लामालाई बोलाएका थिए ।
मंगलबार विहानै लामाको सट्टा उनका आफन्त आएर सहायक प्रमुख जिल्ला अधिकारी नन्दिकेशर त्रिपाठीलाई हस्ताक्षर गराएर २ वटा हजारको नोट मानन्धरलाई दिदै गर्दा नापी कार्यालयबाटै मानन्धरलाई पक्राउ गरिएको थियो । प्रमुख जिल्ला अधिकारी रुद्रनाथ बस्यालले पक्राउ परेका कर्मचारी मानन्धरलाई अनुसन्धान गरी आवश्यक कारवाही प्रकृया अगाडी बढाउने जानकारी दिए ।

प्रतिक्रिया