ली पनि बाहिरिइन्


पेरिस,२३  जेठ । साविक विजेता ली ना वर्षको दोस्रो ग्रान्डस्लाम टेनिस फ्रेन्च ओपनको प्रि–क्वार्टरफाइनलबाटै बिदा भएकी छन् । विश्व टेनिसमा कम चर्चामा रहेकी यरोस्लाभा स्वेदोभाले सोमबार महिला एकल भिडन्तमा चिनियाँ खेलाडी लीलाई ३–६, ६–२ र ६–० ले पराजित गरिन् ।
यसअघि गत संस्करणको फाइनलमा सामन्था स्टोसरलाई हराउँदै ली ग्रान्डस्लाम जित्ने पहिलो एसियाली खेलाडी भएकी थिइन् । यसपटक ३० वर्षीया नालाई क्वार्टरफाइनलअघि नै रोक्ने खेलाडी पनि एसियाली नै रहिन्, कजाखस्तानकी । २५ वर्षीया स्वेदोभाले लीविरुद्ध पहिलो सेट गुमाए पनि दोस्रोदेखि सानदार पुनरागमन गरेकी थिइन् । यसक्रममा उनले तेस्रो सेटमा कुनै पनि ‘गेम’ गुमाइनन् । लीको हारसँगै प्रेmन्च ओपनको महिला एकलतर्फ नयाँ विजेता थपिने निश्चित भएको छ । जारी संस्करणको उपाधि यात्रामा कायम रहेका कुनै पनि खेलाडीले यसअघि प्रेmन्च ओपन जितेका छैनन् । रोचक के छ भने पछिल्ला चार ग्रान्डस्लाम प्रतियोगितामा फरक–फरक र नयाँ विजेता निस्किएका छन् ।
सोही स्पर्धातर्फ अन्तिम १६ कै अर्को खेलमा क्लारा जाकोपालोभालाई हराएर दोस्रो वरीयताकी मारिया सारापोभाले फ्रेन्च ओपन यात्रालाई अगाडि बढाइन् । पूर्वविश्व नम्बर–१ रसियन सारापोभाले हालसम्म फ्रेन्च ओपन मात्र ग्रान्डस्लाम जित्न सकेकी छैनन् । लीको बहिर्गमनपछि सारापोभाले उपाधि जित्न सक्ने धेरैले अनुमान लगाउन सुरु गरिसकेका छन् । पहिलो सेट ६–४ ले जितेपछि दोस्रो ७–६ ले गुमाएकी सारापोभा तेस्रो तथा अन्तिम र निर्णायक सेटमा खेलमा फर्किन् र ६–२ ले उक्त सेट जितेर अन्तिम आठमा पुगिन् ।
थोमस बर्डिचलाई हराउँदै अर्जेन्टिनाका हुवान मार्टिन डेल पोट्रो पुरुष एकलतर्फ क्वार्टरफाइनल पुगे । सेमिफाइनल प्रवेशका लागि उनको भेट तेस्रो वरीयताका रोजर फेडेररविरुद्ध हुनेछ ।
तेस्रो सेटपछि प्रकाशका कारण आइतबार राति स्थगन भएको खेलमा पोट्रो ७–६, १–६, ६–३ र ७–५ ले विजयी भए । हालसम्म फेडेररविरुद्ध १३ पटक भिडेका पोट्रो दुईपटक मात्र विजयी भएका छन् । १६ वटा ग्रान्डस्लामका विजेता फेडेररविरुद्ध थोरै खेलमा विजयी भए पनि त्यसलाई स्मरणीय बनाएका पोट्रोका लागि तीमध्ये सन् २००९ को युएस ओपन फाइनल यादमा रहिरहनेछ जसमा फेडेररलाई हराएर उनी ग्रान्डस्लाम उपाधि जित्ने पहिलो अर्जेन्टिनी खेलाडी भएका थिए । सन् २००९ को प्रेmन्च ओपन संस्करणमा सेमिफाइनलसम्म पुगे पनि पोट्रोलाई अगाडि बढ्नबाट फेडेररले नै रोकेका थिए ।
त्यस्तै प्रतिस्पर्धात्मक खेलमा पाँचौं सेटपछि मात्र जित निश्चित गरेर फ्रान्सका जो विल फ्राइड सोंगाले अन्तिम आठको यात्रा तय गरे । कठिन खेलमा उनले स्टानिसलास वारिन्कालाई पराजित गरेका हुन् । सन १९८३ यता ग्रान्डस्लाम जित्ने पहिलो फ्रान्सेली बन्ने प्रयासमा छन् सोंगा । स्पेनका डेभिड फेरर र निकोलास अल्माग्रो पनि क्वार्टरफाइनल पुगेका छन् ।

प्रतिक्रिया