अफ्रिदी जमेपछि


हम्बानटोटा,२३ जेठ । साहिद अफ्रिदीको उत्कृष्ट अलराउन्ड प्रदर्शनपछि पाकिस्तानले आइतबार राति भएको दोस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रिय प्रतियोगितामा घरेलु टोली श्रीलंकालाई २३ रनले पराजित गर्‍यो । दुई म्याचको शृंखलाअन्तर्गत भएको पहिलो म्याच श्रीलंकाले जितेको थियो ।
अफ्रिदीले एकसमय नराम्ररी लडखडाएको पाकिस्तानी इनिङलाई ६ विकेटमा १२२ रनको अपेक्षाकृत सम्मानजनक स्कोरसम्म पुर्‍याउन सुझबुझपूर्ण आक्रामक ब्याटिङ गर्दै नटआउट ५२ रन बनाए । पछि बलिङ गर्ने क्रममा पनि उनले कसिला ओभर गरे जसले गर्दा उनले आफ्नो ओभर कोटा पूरा गरिसक्दा श्रीलंकासित विशाल विजयलक्ष्य पछयाउन सक्ने अवस्था नै थिएन । खेलको समाप्तिमा अफ्रिदी सातौंपटक प्लेयर अफ द म्याच भए, जुन आफैमा कीर्तिमान हो । टी–ट्वान्टीमा अरू कुनै खेलाडी यति धेरैपटक प्लेयर अफ द म्याच भएको छैन ।
आइतबारको म्याच एक हदसम्म शुक्रबार खेलिएको पहिलो म्याचकै प्रतिविम्ब जस्तो रहयो, जम्मा फरक यति मात्र देखियो पहिलो म्याचमा टस जितेर श्रीलंकाले पहिले ब्याटिङ रोजेको थियो । प्रारम्भिक र मध्यक्रम छिट्टै धराशयी भएपछि पुछारतिरका हार्डहिटर ‘क्यामियो’ ले टोलीको उद्धार गरेको थियो । यसपटक पालो पाकिस्तानको थियो । शुक्रबार सामान्य लक्ष्य पछयाउँदै अगाडि बढेको पाकिस्तान एक सय रनभित्रै ढलेको थियो । आइतबार त्यो पालो श्रीलंकाको रहयो ।
श्रीलंकाली बलरहरूले कसिलो बलिङ गर्ने क्रममा सट प्रहार गर्ने किसिमका बल खासै गरेनन् । नुवान कुलासेकराले थुप्रै तेज इनस्विङ्गर गर्दै पाकिस्तानलाई पहिलो झड्का दिएका थिए । करिब तीन वर्षपछि देशका लागि फेरि खेल्न आएका इसुरु उदानाले मेडनबाट आफ्नो स्पेल सुरु गरे भने कौशल लोकुराचीले आफ्ना प्रथम दुई ओभरमै सफलता पाए । माहेला जयावद्र्धने र लासिथ मालिङ्गालाई विश्राम दिएको श्रीलंकाले १०.१ ओभरमा पाकिस्तानलाई ४१–४ को स्थितिमा पुर्‍याएको थियो ।
त्यसपछि अफ्रिदी र शोएब मलिकले स्ट्राइक रोटेट गर्दै पाकिस्तानी इनिङलाई ‘रिकभरी’ तर्फ डोर्‍याएका थिए । अफ्रिदीले साचित्रा सेनानायकेलाई कभर बाउन्ड्रीमा लगातार दुई चौका प्रहार गरेर आफ्नो सुर प्रष्टयाए भने मलिकले लोकुराचीले गरेको इनिङको १५औं ओभरमा लगातार तीन चौका प्रहार गरे । उनीहरूबीच ६८ रनको साझेदारी भयो । निजी स्कोर ४२ रन हुँदा जीवनदान पाएका अफ्रिदीले थिसारा परेराले गरेको १९औं ओभरमा इनिङको पहिलो छक्का हानेका थिए । उनले ३० बलमा ५० रन पूरा गरे र पाकिस्तानको स्कोर तान्दैतान्दै १२२ सम्म पुर्‍याए ।
श्रीलंका ३८–२ को स्थितिमा रहेका बेला आठौं ओभरमा अफ्रिदी बलिङ गर्न आएका थिए । अर्जुना रणतुङ्गापछि सबैभन्दा कान्छा कप्तान बनेका एन्जेलो म्याथ्युजले अन्तिम ओभरमा लङ्अफ क्षेत्रमा लामो प्रहार गर्न खोजेका थिए तर मिसटाइम भएपछि बाउन्ड्री लाइनबाट दौडिंदै आएर फिल्डरले क्याच समाते । त्यसपछि घरेलु टोली ९९ रनमा समेटियो । त्यो क्याच समात्ने पनि उही अफ्रिदी थिए । पाकिस्तानका लागि अराफात र मोहम्मद सामीले ३–३, अफ्रिदीले २ तथा सइद अजमल र प्लेयर अफ द सिरिज सोहेल तनवीरले १–१ विकेट लिए ।

प्रतिक्रिया