बक्सिङमा महत्त्वाकांक्षी योजना

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट आधिकारिकताको मान्यता पाएको तीन दिनपछि राजीव श्रेष्ठ नेतृत्वको नेपाल बक्सिङ संघले खेलाडीलाई मासिक भत्ताको व्यवस्था गर्नेसमेत यस वर्षका लागि विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ ।
राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उक्त संघले वर्षभरि महिला र पुरुषतर्फ गरी कुल आठ राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गरिने जानकारी दियो । यसअनुसार महिला र पुरुष दुवैतर्फ नोविस प्रतियोगिता, जुनियर प्रतियोगिता, सब–जुनियर प्रतियोगिता र सिनियर प्रतियोगिता सञ्चालन हुनेछन् । ‘प्रतियोगिताहरू नै नभएका अवस्थामा योजनाबद्ध हिसाबले बनाइएका यी कार्यक्रमले नेपालको बक्सिङलाई बलियो बनाउनेछ,’ अध्यक्ष श्रेष्ठले भने, ‘निर्धारित कार्यक्रम आयोजना गर्न हामी प्रयास गर्नेछौं ।’ पाँचै विकास क्षेत्रमा क्षेत्रीय प्रतियोगिता आयोजना गर्ने पनि लक्ष्य लिइएको छ  ।
बक्सिङ संघले प्रतियोगिताका अतिरिक्त खेलाडीलाई मासिक भत्ता दिने र त्यसका लागि खेलाडीलाई  ए, बी र सी गरी श्रेणीगत विभाजन गर्ने जनाएको छ । प्रत्येक ६ महिना वा एक वर्षमा हुने खेलाडी वर्गीकरणअनुसार ‘ए’ मा पर्ने तौलसमूहगत खेलाडीलाई मासिक भत्ताको व्यवस्था गर्ने  योजना बक्सिङ संघले बनाएको छ । ‘यो हाम्रो वार्षिक कार्यक्रममध्येको महत्त्वाकांक्षी योजना हो,’ अध्यक्ष श्रेष्ठले भने, ‘यसलाई कार्यान्वयन गर्न हामी सकेसम्म प्रयास गर्नेछौं ।’ हाल नेपालमा फुटबल संघ र क्रिकेट संघले मात्र राष्ट्रिय पुरुष टिमका खेलाडीलाई मासिक भत्ता दिने गरेका छन् । तर राष्ट्रिय महिला खेलाडीलाई मासिक भत्ताको व्यवस्था गर्न भने हालसम्म यी संघले सक्रियता देखाएका छैनन् ।
उनका अनुसार अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीको सहभागिता पनि उनीहरूको श्रेणीअनुसार हुनेछ । ‘ए’ श्रेणीमा रहने खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाउने र जीवन बिमाको व्यवस्था गर्ने लक्ष्य उक्त संघले लिएको छ । त्यस्तै खेलाडी तथा प्रशिक्षकहरूका लागि अक्षयकोष स्थापना गर्ने, बक्सिङ कभर्डहल (प्रशिक्षण हल) निर्माण गर्ने र त्यसका लागि सरकारसँग जग्गा माग गरिएको जनाइएको छ । भवन निर्माणका लागि बक्सिङ संघले ३ करोड ३६ लाख ७३ हजार ७ सय ४१ रुपियाँ सरकारसँग माग गरेको छ ।
सन् २०१३ मा दक्षिण एसियाली बक्सिङ च्याम्पियनसिप नेपालमा आयोजना गर्न लागिएको र त्यसका लागि भौतिक पूर्वाधार निर्माणमा संघ केन्द्रित हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए । बक्सिङप्रति चासो राख्ने स्कुल तथा कलेजमा तीन/तीन महिलाको प्रशिक्षण प्याकेज सञ्चालन गर्ने र ‘ग्रासरुट’ लाई बलियो बनाउने पनि वार्षिक कार्यक्रममा समावेश छ ।
यसैबीच प्रथम खुला नोविस बक्सिङ प्रतियोगिता आगामी साउनको दोस्रो साता सञ्चालन हुने भएको छ । १०–१३ साउनमा सञ्चालन हुने उक्त प्रतियोगिता आइबा युथ वल्र्ड बक्सिङ च्याम्पियनसिपका लागि पहिलो चरणको राष्ट्रिय छनोटका रूपमा रहेको छ । पहिलोपटक बक्सिङ प्रतियोगिता खेल्ने १७ वर्ष टेकेका र १८ वर्ष ननाघेका खेलाडीहरू नोविस प्रतियोगितामा सहभागी हुनेछन् । (सौस)

प्रतिक्रिया