महिला बिच भलिबललाई तीन लाखको प्रायोजन


काठमाडौ,१९  जेठ । दोस्रो राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता जेठको अन्त्यमा काठमाडौमा हुने भएको छ । २७ देखि २९ जेठसम्म हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बिहीबार आयोजित प्रायोजक हस्ताक्षर कार्यक्रममा नेपाल भलिबल संघले जानकारी गरायो । प्रतियोगितालाई पेन्टागन इन्टरनेसनल कलेजले मुख्य प्रायोजन गर्ने भएको छ ।
पेन्टागनका अध्यक्ष एवं कार्यकारी प्रमुख एसपी सिंह र प्रतियोगिता आयोजक नेपाल भलिबल संघका अध्यक्ष दानबहादुर तामाङले मुख्य प्रायोजनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । मुख्य प्रायोजनसँगै प्रतियोगिताका नामको अगाडि पेन्टागन थपिने भएको छ ।
प्रायोजनबापत पेन्टागनले खेलाडीको आवास, भोजन, यातायात खर्च, रेफ्रीको पारिश्रमिक, खेलसामग्री व्यवस्थापनका लागि संघलाई ३ लाख रुपियाँ उपलब्ध गराउनेछ । प्रतियोगिताको कुल लागत ५ लाख रुपियाँ रहेको भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी गराए । उनका अनुसार भलिबल संघले कुनै पनि प्रतियोगिताका लागि मुख्य प्रायोजक पाएको यो पहिलो अवसर हो । प्रतियोगिताको पहिलो संस्करण चितवनमा भएको थियो । दोस्रो संस्करण काठमाडौंमा भए पनि यसै वर्ष मोफसलमा अन्तर्राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता आयोजनाको तयारी रहेको पनि संघले जनाएको छ । प्रतियोगिता आयोजनाका लागि नेपाल भलिबल संघले कीर्तिपुरमा १० वर्षका लागि जग्गा लिजमा लिएर मैदान बनाइसकेको छ ।
प्रतियोगितामा पाँच विकास क्षेत्रबाट २ का दरले १० तथा विभागीय टिमबाट एपिएफ र नेपाल प्रहरीबाट पनि २ का दरले ४ गरी जम्मा १४ टिमको सहभागिता रहनेछ । शीर्ष तीन स्थान प्राप्त गर्ने टिमले क्रमश: १० हजार, ७ हजार र ५ हजार रुपियाँ पुरस्कार पाउनेछन् । पेन्टागनका कार्यकारी प्रमुख सिंहले पेन्टागनका प्रशासनिक निर्देशकसमेत रहेका महासचिव चन्दले प्रेरित गरेकाले प्रतियोगितालाई मुख्य प्रायोजन गर्न आकर्षित भएको बताए ।
अध्यक्ष तामाङले चीनको हायाङमा हुने तेस्रो एसियाली बिच खेलकुद २ असारदेखि हुने भए पनि बिच भलिबलको प्रतिस्पर्धाअगाडि नै हुने भएकोले एसियाली बिच भलिबलमा सहभागी हुने टोली राष्ट्रिय बिच भलिबलमा सहभागी नहुने बताए । एसियाली बिच भलिबलका लागि टोली २६ जेठमा चीन प्रस्थान गर्ने अध्यक्ष तामाङले जानकारी दिए । पहिलो महिला बिच भलिबल प्रतियोगिताका विजेता नेपाल पुलिस क्लबका चुडा खड्का र नीता शाहले बिच खेलकुदमा सहभागिता जनाउनेछन् ।
एसियाली बिच भलिबलमा भाग लिने टोलीले दोस्रो राष्ट्रिय बिच भलिबलमा सहभागी नभए पनि आगामी दिनमा हुने विभिन्न अन्तर्राष्ट्रिय बिच भलिबलको बन्द प्रशिक्षणमा भने स्वत: बस्न पाउने महासचिव चन्दले प्रष्ट पारे ।

प्रतिक्रिया