सेरेना पहिलोपटक पहिलो चरणबाटै बाहिर

पेरिस, १८ जेठ । एक दशकभन्दा बढी समय भयो, स्वास्थ्य होस् वा खेलस्तरका कारण, सेरेना विलियम्सले ग्रान्डस्लाम टेनिस प्रतियोगिताको पहिलो चरणमा कहिल्यै हार व्यहोर्नुपरेको थिएन । तर मंगलबार राति उनको यो अपराजेय यात्रामा पूर्णविराम लाग्यो ।
कुल १३ वटा एकल ग्रान्डस्लामविजेता सेरेना प्रेmन्च ओपन टेनिसको पहिलो चरणमै कम चर्चामा रहेकी प्रतिद्वन्द्वी फ्रान्सेली सुन्दरी भर्जिनी रजानोविरुद्ध पराजित भइन् । सेरेनाको प्रदर्शन कमजोर भने रहेन र जितनजिक पनि नपुगेकी होइनन् । पहिलो सेटमा विजयी भएकी उनी दोस्रो सेटमा दुई प्वाइन्टले विजयी हुने अवसर नौपटक पाइन् तर त्यसलाई सदुपयोग गर्न नसक्दा उनी तेस्रो तथा निर्णायक सेटमा धकेलिनुपर्‍यो जसमा उनी ६–३ ले सहजै पराजित भइन् र ग्रान्डस्लाम टेनिसमा एक दशकयताकै खराब नतिजा आत्मसात् गरिन् ।
प्रतिस्पर्धात्मक दोस्रो सेट दुवै खेलाडीको गरी जम्मा ३० प्वाइन्टको रहयो जसले २३ मिनेट समय लिएको थियो । यो एउटा खेलले नै लिने समय थियो । पहिलो सेट ६–४ ले जितेकी सेरेनाले दोस्रो सेट ७–६ (५) ले गुमाइन् ।
फ्रेन्च ओपनअघि सहभागी भएका कुनै पनि ग्रान्डस्लाम प्रतियोगितामा सेरेनाले पहिलो चरणमा हार व्यहोर्नुपरेको थिएन । यसबीचमा उनी ग्रान्डस्लाम प्रतियोगिताको पहिलो चरणमा ४६ पटक कोर्टमा रहिन् जहाँ उनी कहिले निराश हुनुपरेको थिएन । तर अब उक्त ‘रेकर्ड’ भने ४६–१ अर्थात् ग्रान्डस्लाम टेनिसको पहिलो चरणमा सेरेनाको पहिलो हार दर्ता भएको छ । यो प्रतियोगिता सुरु हुनुअघि सम्भाव्य उपाधिविजेताको रूपमा हेरिएकी पाँचांै वरीयताप्राप्त सेरेनाले रजानोविरुद्ध दोस्रो सेट टाइब्रेकरमा ५–१ ले अग्रता लिएकी थिइन् । तर उनले लगातार १३ प्वाइन्ट गुमाइन् जसले गर्दा जितको मुखैबाट सेरेना उछिट्टिनुपर्‍यो । कोर्ट ‘कभरेज’ सधैंको जसरी गरे पनि सेरेनाले प्रहार गरेका ‘सट’ सिकारु खेलाडीका जस्ता देखिएका थिए ।
चोटका कारण करिब १० महिना बाहिर रहेर गत वर्ष मात्र सेरेना कोर्टमा पुन: फर्किएकी थिइन् । कोर्ट फिलिपे च्याट्रिअरमा खेलिएको खेलमा घरेलु खेलाडी रजानोले व्यापक दर्शकसमर्थन पाएकी थिइन् । फ्रान्सेली भएकैले मात्र रजानोलाई त्यति ठूलो दर्शकसपोर्ट भने भएको होइन ।
अविवाहित अवस्थामै विधवा भएका कारण उनले दर्शकको ‘इमोसनल साथ’ पाएकी थिइन् । गत वर्ष विवाहको तयारी भइरहेका बेला रजानोका मंगेतर स्टिफन भिदालको ३२ वर्षको उमेरमा ब्रेन टयुमरका कारण निधन भएको थियो । स्वर्गीय भिदालले रजानोलाई लामो समय प्रशिक्षण पनि गरेका थिए । गत संस्करणको फ्रेन्च ओपनमा पहिलो चरणमा भिड्नु करिब एक साताअघि मात्र भिदालको त्यसरी असामयिक निधन भएको थियो ।
स्टिफनले अगाडि बढ्न र फ्रेन्च ओपन खेल्न रजानोलाई सदैव प्रोत्साहित गरिरहन्थे । स्टिफनलाई सम्मान गर्दै उनले टेनिस कोर्टमा कदम अगाडि बढाइन् । महिला टेनिसमा सनसनीपूर्ण प्रदर्शन गरेकी सेरेनाविरुद्धको भिडन्तमा सोझो सेटमै पराजित हुने अनुमान गरिएकी रजानोले कोर्टमा खेल्न लकर रुमबाट निस्कनुअघि भिदालले केही वर्षअघि भ्यालेन्टाइनमा दिएको सुनको सिक्री लगाएकी थिइन् । ‘इमानदारीपूर्वक भन्नुपर्दा विगत विगत हो,’ जितपछि रजानोले भनिन्, ‘यो जितसँगै मैले शोक मनाएँ । मलाई आज खुसी लागिरहेको छ । यसका लागि लामो समय लाग्यो ।’
यता सेरेनाले रजानोले गरेको जीवन संघर्षको तारिफ गरिन् । ‘मलाई थाहा छ, उनी र उनका श्रीमानबारेका कथा । हामी सबैसँग कथा हुन्छ । मेरो मतलब, म पनि प्राय: मरिसकें । मेरी दिदी भेनस संघर्ष गरिरहेकी छिन् । त्यसैले हामीले बुझ्नुपर्छ, यो जीवन हो । तपाईं जीवनमा आइपर्ने घटनालाई कसरी सामना गर्नुहुन्छ भन्ने कुरा महत्त्वपूर्ण हो । यसमा रजानोले निकै राम्ररी सामना गरिन् ।’
फ्रेन्च ओपनमा सहभागी हुनुअघि सेरेनाले गत साता इटालीकपमा सेमिफाइनलसम्म पुगे पनि ढाडमा समस्या आएपछि नाम फिर्ता लिएकी थिइन् । त्यसअघि उनले लगातार १७ खेल जितेकी थिइन् जुन सबै क्लेकोर्टमा खेलिएका थिए । गत साता रजानोविरुद्ध आफूलाई चोटले नसताएको सेरेनाको भनाइ थियो । ‘म शतप्रतिशत ठीक थिएँ,’ फ्रेन्च ओपनको सन् २००२ को संस्करणविजेता सेरेनाले भनिन् । सेरेनाले जित्ने धेरैले अडकल काटिसकेका थिए जब उनी दोस्रो सेटमा ५–४ ले अगाडि थिइन् । तर रजानोले पुन: खेललाई ५–५ ले बराबरीमा ल्याइन् । यसपछि भने नाटकीय रूपमा सो गेम अगाडि बढिरहेको थियो । तेस्रो तथा अन्तिम सेटमा ५–० ले अगाडि रहेकी रजानोले खेल भने ६–३ मा पुर्‍याएर जित्नुपरेको थियो ।
सन् १९९८ देखि ग्रान्डस्लाम खेल्न थालेकी सेरेना एकपटक मात्र दोस्रो चरणबाट बाहिरिएकी थिइन् । आफ्नो पहिलो ग्रान्डस्लामका रूपमा अस्ट्रेलियन ओपनमा दोस्रो चरणसम्म पुगेकी सेरेना ग्रान्डस्लाममा ७ पटक तेस्रो चरण, ६ पटक चौथो चरण, १२ पटक क्वार्टरफाइनल, ३ पटक सेमिफाइनल पुगिन् । १७ पटक फाइनल प्रवेश गर्ने क्रममा उनी ४ पटक भने उपविजेतामै सीमित भइन् । सन् १९९९ मा युएस ओपन जितेर पहिलो ग्रान्डस्लाम उपाधि हात पारेकी सेरेनाले पछिल्लोपटक हात पारेको ग्रान्डस्लाम उपाधि सन् २०१० को विम्बल्डन हो । एएफपी

प्रतिक्रिया