निर्वाचन घोषणा अबैधानिकः बैद्य

काठमाडौं, १५ जेठ । एकीकृत माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन बैद्यले संविधान जारी नगरेर प्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ संविधानसभाको निर्वाचन घोषणा गर्नु पूर्णतः अबैधानिक भएको दाबी गरेका छन् ।
उनले नयाँ निर्वाचनको घोषणाबाट देशभक्त तथा परिवर्तनकामी जनसमुदायमा गम्भीर आघात पुराएको बताए ।
‘राजनीतिक दलहरुको सहमतिबिना नयाँ संविधान सभा निर्वाचन घोषणा गरिएको छ,’ वरिष्ठ उपाध्य बैद्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संबैधानिक व्यवस्था मिचेर गरिएको घोषणा स्वतः अबैधानिक हो ।’
‘जेठ–१४ गते मध्यरातमा प्रधानमन्त्रीद्वारा सार्वजनिक सम्वोधन मार्फत् २०६९ साल मंसिर–७ गते षडयन्त्रमूलक ढंगबाट संविधानसभाको निर्वाचन गर्ने घोषणा गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्री भट्टराईको कदमलाई अबैधानिक कदमको संज्ञा दिदै बैद्यले सो कार्यको विरोध गरेका छन् । संविधानसभा भंग भएको अवस्थामा वर्तमान सरकार पनि पूर्णत कामचलाउ सरकारमा परिणत भएको उनको धारणा छ ।
‘यस्तो स्थितिमा यो सरकारको हामी तत्काल राजीनामा माग्छौं,’ वैद्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सर्वदलीय राजनीतिक सहमति कायम गरी संविधानसभा निर्वाचनलगयात सम्पूर्ण राजनीतिक निकास र नीतिगत निर्णयसम्बन्धी कामको व्यवस्था गर्नेबारे तत्काल आवश्यक पहल लिन सबै राजनीतिक दलहरुसंग अनुरोध गर्दछौं ।’

प्रतिक्रिया