इन्डिजविरुद्ध इङल्यान्डलाई अग्रता


नोटिङहम, १५ जेठ । इङल्यान्डले वेस्ट इन्डिजविरुद्धको तीन म्याचको टेस्ट शृंखलाअन्तर्गत दोस्रो टेस्टको पहिलो इनिङमा अग्रता लिएको छ । तेस्रो दिनको दोस्रो सेसनको खेल चलिरहँदा घरेलु टोली इङल्यान्ड  ४ सय २८ रनमा अलआउट भयो र ५८ रनको अग्रता लियो । पहिलो इनिङमा वेस्ट इन्डिजले ३७० रन जोडेको थियो ।
इङल्यान्डको सानदार प्रदर्शनमा कप्तान एन्ड्रयु स्ट्रसले शतकीय इनिङ खेले भने केभिन पिटरसनले ८० रन बनाए । त्यस्तै जोनाथन ट्रटले ३५, एलेस्टर कुकले २४ र इयान बेलले २४ रन बनाए । २०औं टेस्ट शतक बनाउने क्रममा कप्तान स्ट्रसले १४१ रन बनाए । वेस्ट इन्डिजका कप्तान डारेन सामीको बलमा विकेटकिपर डेनिस रामादिनबाट क्याचआउट हुनुअघि स्ट्रसले ३०३ बलमा २२ चौका प्रहार गरे । उनले तेस्रो विकेटका लागि पिटरसनसँग १४४ रनको साझेदारी पनि गरे । २५९–२ को स्थितिबाट तेस्रो दिनको खेल थालेको इङल्यान्डका जोनी बैस्र्टो (४) मात्र दोहोरो अंक छुन असफल भए । तेस्रो दिन स्ट्रसले थप ३९ रन जोडे । रवि रामपलको बलमा एलबिडब्लु आउट हुुनुअघि पिटरसनले ११४ बल खेल्दै ११ चौका र एक छक्का प्रहार गरेका थिए ।
टस जिती पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि मर्लोन सामुएल्स (११७) र सामी (१०६) ले शतकीय इनिङ खेलेका थिए । सामी र सामुएल्सले सातांै विकेटका लागि २०४ रनको साझेदारी गरेका थिए ।

प्रतिक्रिया