जोकोभिकलाई चुनौती


पेरिस, १४ जेठ । नोभाक जोकोभिकले ग्रान्डस्लाम टेनिस प्रतियोगितामा पछिल्ला २१ खेल जिते । यसक्रममा उनी विम्बल्डन, युएस ओपन र अस्ट्रेलियन ओपन ग्रान्डस्लाम च्याम्पियन भए । उनले लगातार यी प्रतियोगिता जितेका हुन् ।
यदि उनले यस गतिलाई अबको दुई साता फ्रान्सको रोलाँ ग्यारोसस्थित रातो माटोको कोर्टमा हुने फ्रेन्च ओपनमा पनि कायम राखे उनी सन् १९६९ पछि लगातार चार ग्रान्डस्लाम उपाधि जित्ने पहिलो खेलाडी हुनेछन् । रोडलेभरले पछिल्लोपटक लगातार चार ग्रान्डस्लाम टेनिस उपाधि जितेका थिए ।  आइतबारदेखि सुरु हुने सिजनको दोस्रो ग्रान्डस्लाम टेनिस फ्रेन्च ओपनमा २५ वर्षीय सर्वियन स्टार जोकोभिकले अधिकतम शक्ति खर्च गर्नेछन्, उक्त सफलताका लागि । जोकोभिकले लगातार चौथोपटक ग्रान्डस्लाम जित्नुको मतलब ‘विश्व मेरा लागि’ भन्ने प्रतिक्रिया दिएका छन् । उनले आफू दबाबविना नै खेल्ने बताए । गत वर्षको जुलाईयता उनले कुनै पनि ग्रान्डस्लाम टेनिस उपाधि गुमाएका छैनन् ।

प्रतिक्रिया