जीवनको क्यानभासमा शुद्ध बुद्ध

के हो जीवनको हेतु ? जीवनलाई ढुक्कै बाँध्यो भने परिभाषामा के बन्ला जीवनको परिभाषा ? अनि लगाइदियो भने जामा, सजाइदियो भने केश आफ्नो मनमाफिक कस्तो देखिएला जीवन ? चिन्न सकिएला के सजिलै बाटातिर भेट हुँदा ? यी यावत् किरिङमिरिङ जिज्ञासा र प्रश्नले एउटा निश्चित आकार पाए,  बिहानै दौराका तुना कसेर त्यसमाथि इस्टकोट ढल्काएर जब धाउन थाले रामकृष्ण खाछिभोया भिक्षु अश्वघोषका उपस्थितिहरूमा †
‘२०२९/०३० तिर हुनुपर्छ’, सम्झनाका पत्रहरू उनी पल्टाउन थाल्छन्, जुन समय उनी बनेपाका प्रधानपञ्च थिए, त्यसमाथि निर्विरोध चुनिएका । त्यसै समय उनको भेट भिक्षु अश्वघोषसँग भयो । उनले हालको बनेपास्थित ध्यानकुटी बिहारका नाममा पर्ती जग्गा उपलब्ध गराइदिए र भिक्षुसँगको सम्पर्कले उनको जीवनको बाटो मोडियो । एउटा प्रभावशाली प्रधानपञ्च आफूलाई बिस्तारै बुद्धका वचनले परिवर्तन गर्दै लगेको पाउन थाले । सेवा नै सबभन्दा ठूलो धर्म हो भन्ने जान्न थाले । जहान परिवार, साथीभाइ र समाजले सम्झाउँदा–सम्झाउँदै पनि दैनिक बिहारको सेवामा रमाउन थाले । एकातिर पञ्चायतको झाँगिएको वैभव थियो, अर्कातिर थियो नि:स्वार्थ सेवा । उनले सेवा रोजे र बिहारका दुबो काँटछााट गर्दै सजाउन थाले बगैँचा ।
दुई कार्यकाल पूरा गरेका उहिलेका प्रधानपञ्च विनापारिश्रमिक ध्यानकुटी बिहारमा बिहानैदेखि घोटिन्छन् । भिक्षु राहुल महास्थवीरका संसर्गमा रहेर ध्यान गर्छन् । बुद्ध वचन चाख दिएर सुन्छन् र साँझ आफ्नो घरतिर लाग्छन् । टाढा गएका चरा गुँडमा फर्केजस्तै लाग्दो हो उनकी जीवन संगिनीलाई उनी घर पुग्दा साँझमा । पुन: सखारै नित्यकर्म गरेपश्चात् उनी जीवन संगिनीलाई छाडेर चाराको खोजीमा क्षितिज ताकेर उड्ने चराजस्तै उड्छन् । ९२ वर्ष झरी तुसारो खपेका उनका पँखेटा अझै टाठै छन् । उनी उड्छन् सेवा र उपकार आफ्नो ध्येय मानी । बुद्धका उपदेश उनलाई गुनिला लाग्छन् । शुद्ध आचरणका पक्षपाती बुद्धका अष्टांगिक मार्ग अपनाएमा आजको समाज रसातलतिर जाँदैनथ्यो भन्ने रामकृष्णलाई विश्वास छ । यो विश्वासले आजका दिनमा छोरा–नातिको मायाले गरिएको गनगनलाई पचाउँदै उनी बुद्धका नजिक हुन सेवामा अग्रसर हुन्छन् । काठमाडौंको दरबारमार्गमा र बनेपामै पनि होटल चलाएर बसेका छोरानाति उनले बिहारको हाता सफा गरी बसेको हेर्न चाहँदैनन् । ‘हामीहरू नोकर राख्छौँ, बाजे नोकरजस्तै काममा घोटिनुहुन्छ ।’ नातिहरूको माया मिसिएको छेडलाई उनी सजिलै पचाउँछन् । उनी यस्तो बेलामा गान्धी र विश्वेश्वरप्रसादलगायतका मानिसको उदाहरण दिई कामलाई ठूलो–सानो भन्न नहुने जिकिर गर्छन् । ‘मनमा खुसी, आनन्द अनि शान्ति जे कुरामा मिल्छ मानिसले त्यही कार्य गर्नुपर्छ तर शुद्ध आचरणका साथ । लाखौँ करोडौँ कमाउँदैमा आनन्द पाइँदैन । आनन्द पाउन त परोपकारी हुनुपर्छ । अर्काको उपकार गरी निष्कलंक मर्न पाउनु नै दु:खबाट पार हुनु हो,’ यी र यस्ता अनेकौँ भावना बुद्धका उपदेशका सारमा मसक्क मिलेर उनका ओठमा झुन्डिन पुगेका छन् ।
उनी हरदिन अशान्त दुनियाँबाट शान्तिको खोजीमा गौतम बुद्धले घर छाडेजस्तै घर छाडेर बिहारमा आउँछन् । उनले रोपेका धुपीहरू हावाको लयमा ‘बुद्धं शरणं गच्छामि, धम्मं शरणं गच्छामि’ को मन्त्र जपिरहेका हुन्छन् । ती युवा धुपीका रूख घर छाड्दाताकाका सिद्धार्थ गौतमजत्तिकै जीवन्त लाग्छन् उनलाई । उनले छाँटेका भुइँभरिका दुबोहरू शीतका थोपाले नुहाएर प्रणायाम गर्न व्यस्त बुद्धका चेलाहरूमा रूपान्तरित हुन्छन् । उनले बढारेका बिहारका भुइँकुना कलिलो घाममा मुस्कुराइरहेका हुन्छन् । तिनै बिहारका सुकिला बेन्ची र पर्खालहरूमा अनाथ आश्रमका कलिला मुनाहरू छुनुमुनु गरिरहेका हुन्छन् । बिहारले सञ्चालन गरेको बालगृहमा रहेका कलिला मुनाहरू खेल्ने कुद््ने आँगन सफा गर्न सकेकामा उनी तृप्त हुन्छन् । उनीहरूका बालवयका प्रत्येक जिज्ञासामा उनी एक–एक सिद्धार्थ गौतम भेट्छन् । यिनै जीवनदायी क्षणहरू भोग्न उनी ध्यानकुटी बिहार आउँछन् । संसारलाई केही दिएर जाऔँ भन्ने भावना जगाउने काम बुद्ध वचनले गरेकाले उनले सेवाको मार्ग समातेको कुरा उनी बताउँछन् । ‘हामीले लिएर जानु केही छैन, मरेपछि रित्तो हात जाने न हो,’ उनी चाउरी परेका निधार अझ खुम्च्याउँदै विश्वविजेता सिकन्दरको अन्त्यावस्थाको बयान गर्छन्, ‘संसारका सारा वैभव बटुलेको सिकन्दर अन्त्यावस्थामा आफ्नो कर्म सम्झेर निरास बन्न पुग्यो । तब उसले आफ्ना सहयोगीलाई मृत्युपश्चात् अन्त्येष्टि कर्म गर्न लाँदा आफ्ना दुवै हात मुर्दा राख्ने बाकसबाट बाहिर निकाली सबैलाई देखाउँदै लानू भनी अह्रायो । ऊ संसारलाई बताउन चाहन्थ्यो, म संसार जितेँ भन्थेँ । सबै मेरो भन्थेँ । खोइ त मेरो सम्पत्ति ? हेर † म खालीहात जाँदै छु ।’ अहँ, रामकृष्ण खाचिभोया खाली हात मर्न चाहँदैनन् । उनी दुवै हातमा आफ्ना असल कर्मका जीवन्त ठेलाजस्तै सुनाम लिएर मर्न चाहन्छन् ।
‘मानिसको जीवनलाई मानिसले जीवनजस्तै बाँच्नुपर्छ अज्ञानी पशुको जीवनजस्तो होइन । आफैँ मात्र खानु, लाउनु र मोजमज्जा गर्नुमा मानिसको जीवनको सार हुन्न । अत: परोपकारी बन, उपकारी बन,’ चार बीस र बाह्र वसन्तको पालुवा फेरेको उनको अनुभवलाई ज्ञानका रूपमा बाँड्न कर गर्दा उनी आफ्नै जीवन दोहोर्‍याउँछन् । उनीसँग किताबी कोरा ज्ञान छैनन्, जान्दैनन् उनी पढ्न लेख्न । उनी बाँचेको जीवन र आफ्नो दैनन्दिनीलाई पस्कन्छन् अप्ठ्यारो मानी–मानी । नभए त ढुक्कै भनिदिन्छन्, ‘म नपढेको मान्छे, बाबुहरू पढेलेखेको आफैँ जान्नुभएकै छ नि ।’ छैन बाजे छैन, कहाँ जानेका छौँ र जीवन † किताबले जीवन पढाउँछ तर भोगाउँदैन । भोग्ने त मानिसले नै हो । त्यसमाथि आजको युगको किताबले रोटी–पाउरोटी कमाउन सिकाउँछ, अझै धेरै रोटी–पाउरोटी कमाउन सिकाउँछ । कहाँ सिकाउँछ र जीवन जीवनजस्तै हुनुपर्छ भनी ।
हातगोडाले धर्म नछाडेसम्म मानव धर्म अर्थात् सेवा नछाड्ने प्रण गर्दै हावाजत्तिकै निरन्तर खटिइरहेका छन् उनी । भिक्षु राहुलको उमेरको ख्याल राख्नु, धेरै जर्‍याकजुरुक् गर्नुपर्ने काम नगर्नु भन्ने अनुरोधलाई उनी मुस्कानले टार्छन् । उनका हातमा खनीखोस्री गर्ने कुटो टुट्दैन । उमेरले भिक्षु बन्न रोके पनि उनी दिनभरिको लर्‍याङतर्‍याङले थाकेर निद्रादेवीको काखमा लुटपुटिन्छन् र यदाकदा सपनामा आफूलाई गेरुवा वस्त्रमा ‘बुद्धं शरणं गच्छामि’ को शीतल जीवनदायी सूत्र उच्चारण गरिरहेको पाउँछन् ।
यस धर्तीमा सबै मानिसले भोग्ने यिनै घामछाया, शीतताप सहेर रामकृष्ण खाचिभोया बुद्धको बगैँचाको झार उखेलिरहेछन् । बिहारको हाता बढारकुँडार गरिरहेछन् । थपिरहेछन् उज्यालो फूलहरूका हाँसो थपेर बिहारमा । पारिवारिक जिम्मेवारी पनि निभाउँदै एउटा परिवारका मूली चालीस–चालीस वर्षदेखि बुद्धका चरण कल्पिएर बिहानदेखि साँझसम्म आफूलाई चन्दनसरि घोट्टिइरहेछन् । अनि टल्काइरहेछन् बुद्ध प्रतिमा । यी गिजामा दुई–चार दाँत अझ अल्झिरहेका, अझै चालिरहेका हात पाउ, अझै आँखाले प्रस्ट ठम्याउने बयानब्बे वर्षे ठिटा, के यिनै नहोलान् शुद्ध बुद्ध †

प्रतिक्रिया