ओलम्पिकका लागि लन्डनमा उच्च सुरक्षा


लन्डन, १० जेठ । आसन्न लन्डन ओलम्पिक खेलकुदको सुरक्षाका लागि बेलायत सरकारले १२ हजार ५ सय प्रहरी अधिकृत परिचालन गर्ने भएको छ । गत वर्ष लन्डनमा भएको हिंसात्मक दंगाका कारण सुरक्षा व्यवस्थालाई लिएर तीव्र आलोचना व्यहोरेको बेलायतले ओलम्पिकमा प्रहरी अधिकृतको बलियो उपस्थिति रहने प्रतिबद्धता जनाएको हो ।
बेलायतका विभिन्न क्षेत्रमा छरिएका ५२ प्रहरी निकायबाट अधिकृत परिचालन हुनेछन् । यसअघि १० हजार ५ सय सैनिक पनि परिचालन हुने बेलायत सरकारले पहिले नै जनाइसकेको छ ।
लुटपाट र अराजकतापछि पाँचजनाको मृत्युसमेत भएको उक्त हिंसात्मक घटनापछि ओलम्पिकका लागि सुरक्षा योजना पुनरावलोकन भएको थियो । ओलम्पिक खेलकुदमा प्रहरी सुरक्षाको संयोजन गर्ने महानगरीय प्रहरी लन्डनका सहायक कमिसनर क्रिस एलिसनले गत वर्ष लन्डनमा भएको उक्त आतंकपूर्ण घटनाबाट पाठ सिकिएको बताए । ‘गत वर्षको गर्मीयाममा भन्दा अहिले हामी फरक स्थितिमा छौं,’ एलिसनले भने, ‘अहिले हामीले सुरक्षाटोलीलाई थप सक्रिय बनाएका छौं । हरेक दिन ‘पिकआवर’ मा ९ हजार ५ सय प्रहरी परिचालन गरिराखेका छौं । यस्तो व्यवस्था गत वर्ष थिएन ।’
ओलम्पिकको पूर्वसन्ध्यामा दैनिक सुरक्षा व्यवस्था बलियो बनाएर अहिले लन्डनका हरेक सडकमा प्रहरी अधिकृत व्यापक संख्यामा परिचालन गरिएको हुन्छ । ‘मेरो विश्वास छ– यदि गत वर्षको जस्तो कुनै घटना भइहाल्यो भने त्यसलाई हामी तत्काल निष्क्रिय बनाउन सक्षम हुनेछौं,’ एलिसनको भनाइ थियो । यसका लागि प्रहरी अधिकृतको वार्षिक बिदा र सामान्य प्रशिक्षण स्थगन गरिएको छ ।
सैनिकहरूले सुरक्षा दिनका लागि जमिनदेखि हावामा प्रहार गर्ने क्षेप्यास्त्र प्रणालीको प्रयोग गर्ने जनाइएको छ । उनीहरूले ‘टाइफुन युद्धक विमान, हेलिकोप्टर, दुईवटा युद्धपोत र बम निष्क्रिय पार्ने विशेषज्ञहरूले प्रयोग गर्नेछन् । विमानस्थलमा अपनाइने शैलीका आधारमा रंगशालाभित्र मानिसलाई प्रवेश गराइनेछ । एलिसनले रंगशालाभित्र पूर्ण सुरक्षाको निश्चितता रहने बताए ।
प्रहरीलाई लन्डनमा प्रमुख पर्यटकीय स्थलमा भारी संख्यामा परिचालन गरिनेछ । कोभेन्ट गार्डेन, लिचेस्टर स्क्वायरसहित खेललाई ठुल्ठूला पर्दामा देखाइने लन्डनका अन्य क्षेत्रमा पनि प्रहरी उपस्थिति बाक्लो रहनेछ ।
६७ वर्षपछि सेना लन्डनको हावामा
सन् १९४५ पछि पहिलोपटक बेलायती सैनिक लन्डन सहरको हवाई क्षेत्रमा रहने भएका छन्, आसन्न ओलम्पिक खेलकुदका क्रममा । रक्षा मन्त्रालयको सुपरिवेक्षणमा ती सैनिक परिचालन हुने जनाइएको छ । पछिल्लोपटक दोस्रो विश्वयुद्धका बेला सैनिकहरू त्यसरी लन्डनको हवाई क्षेत्रमा रहेका थिए ।
बेलायती रक्षा मन्त्रालयले लन्डनमा निश्चित हवाई क्षेत्र तोकी त्यसमा सेना रहने व्यवस्था मिलाइरहेको बताइएको छ । इङल्यान्डको दक्षिणी क्षेत्रमा पर्ने हयामसरमा अवस्थित ‘सैनिक–नागरिक नियन्त्रण केन्द्र’ ले उक्त कार्य गर्ने स्थानीय दैनिक अखबारले जनाएका छन् । ‘सैनिक–नागरिक नियन्त्रण केन्द्रले यो काम गर्छ । यसका लागि हामी साधन उपलब्ध गराउँछौं,’ राष्ट्रिय हवाई ट्राफिक सेवा (नेट्स) का एक अधिकारीले भने । प्रहरी र सेनाका अतिरिक्त ४० हजार सुरक्षागार्ड पनि उक्त प्रतियोगिताको सुरक्षार्थ परिचालन हुनेछन् । यसक्रममा उनीहरूमाथि ५ अर्ब ५३ करोड पाउन्ड खर्च हुने जनाइएको छ । बेलायतमा विभिन्न निकायका सुरक्षा प्रमुखहरूले सम्भावित आतंककारी हमलाविरुद्ध तयारी गरिरहेको अनुमान छ । एपी

प्रतिक्रिया