मुम्बईको सहज जित


मुम्बई, ९ जेठ । इन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगिताको पहिलो चरणको अन्तिम खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई १० विकेटले पराजित गर्‍यो । १६३ रनको लक्ष्य मुम्बईले १८ ओभरमा कुनै विकेटको क्षतिविना पूरा गर्‍यो । मुम्बईका सचिन तेन्दुलकरले ५८ तथा ड्वाइन स्मिथले ८७ रनको योगदान गरे । म्यान अफ द म्याचसमेत भएका स्मिथले ५८ बलको सामना गर्दै १० चौका र तीन छक्का प्रहार गरे । यसैगरी तेन्दुलकरले ५१ बलको सामना गर्दै ६ चौका प्रहार गरे । राजस्थानमा अजित चन्डालाले दुई ओभरमा २४ तथा स्टुवार्ट बिन्नीले एक ओभरमा १३ रन खर्चेका थिए ।
राजस्थानका सेन वाटसनले तीन ओभरमा १७ रन खर्चे भने अन्य पाँच बलरको इकोनमी सातभन्दा बढी रहयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले ६ विकेटको क्षतिमा १६२ रनको योगफल खडा गर्‍यो । राजस्थानका लागि सेन वाटसनले सर्वाधिक ४५ रन जोडे । बिन्नीले ३० तथा ओएसिस साहले नटआउट २८ रन जोडे । ३६ बलको सामना गरेका वाटसनले चार चौका र दुई छक्का प्रहार गरे । मुम्बईका धवल कुलकर्णीले चार ओभरमा १८ रन खर्चिंदै तीन विकेट लिए । ओपनर राहुल द्रविडलाई ५ र अजान्का रहानेलाई १३ रनमा आउट गरेका उनले १३ रन जोडेका अशोक मेनरियाको रिटर्नक्याच लिए । किरोन पोलार्ड र लासिथ मालिङ्गाले एक/एक विकेट लिए ।

प्रतिक्रिया