चेल्सीलाई युरोपियन च्याम्पियन्स लिग


म्युनिख, ८ जेठ । डिडियर ड्रोग्बाले महत्त्वपूर्ण समयमा दुई गोल गरेपछि इङलिस क्लब चेल्सीले शनिबार राति जर्मन क्लब बायर्न म्युनिखलाई टाइब्रेकरमा ४–३ ले पराजित गरी आफ्नो १०७ वर्षे इतिहासमा पहिलोपटक युरोपियन च्याम्पियन्स लिग उपाधि जितेको छ ।
बायर्नको घरेलु मैदानमा भएको उक्त खेलमा निर्धारित समयको अन्त्यतिर गोल गरी चेल्सीलाई खेलमा फर्काएका ड्रोग्बाले टाइब्रेकरमा पनि निर्णायक गोल गरेका थिए । टाइब्रेकरमा बायर्नका अन्तिम दुई प्रहार विफल भएपछि चेल्सीका लागि अन्तिम प्रहार गरेका ड्रोग्बाले विजयी गोल गरे । टाइब्रेकर आफैमा उत्तिकै नाटकीय रहयो ।
चेल्सीको तर्फबाट टाइब्रेकरको पहिलो प्रहार जुवान माटाले गरेकामा त्यसलाई बायर्नका गोलकिपर म्यानुएल नेउरले रोकेका थिए, जसले गर्दा चेल्सी निर्धारित तथा अतिरिक्त समयमा कमजोर भएजस्तै टाइब्रेकरमा पनि राम्रो गर्न सफल हुन नसक्ने आशंका सबैतिर बढेको थियो । त्यसपछिका बायर्नको तर्फबाट फिलिप लाम, मारियो गोमेज र म्यानुयल नेउरले गरेका तीन प्रहार लगातार गोलमा परिणत भएका थिए भने चेल्सीका डेभिड लुइज र फ्रान्क लाम्पार्डले गरेका दुई प्रहारले जाली छोएका थिए । दुवै टोलीबाट भएका तीन–तीन प्रहारको समाप्तिमा घरेलु टोली ३–२ ले अगाडि थियो । त्यसपछि भने बायर्न स्तब्ध हुन पुग्यो ।
चेल्सीका बाँकी दुवै प्रहार गोल भए भने बायर्नका दुवै असफल । बायर्नका लागि चौथो प्रहार गरेका एभिसा ओलिचलाई चेल्सीका गोलकिपर पिटर चेकले रोके भने वास्टिएन स्वान्स्टाइगरले गरेको पाँचांै तथा अन्तिम प्रहार साइड बारमा लागेर फर्कियो । ड्रोग्बाले निर्णायक गोल गर्नुअघि सहखेलाडी एस्ली कोलले गोल गरी बायर्नमाथि रोमाञ्चक दबाब सिर्जना गरेका थिए । ‘मलाई लाग्छ यो उपलब्धि धेरै अघि हात पर्नुपर्ने थियो,’ ब्रिटिस टेलिभिजनसित कुराकानी गर्दै ३४ वर्षीय ड्रोग्बाले भने, ‘टिम
(चेल्सी) ले अचम्मको प्रदर्शन गर्‍यो । हामीले अन्तिम समयसम्म पनि आशा त्यागेनौं ।’
चार वर्षअघिको संस्करणमा मस्कोमा म्यानचेस्टर युनाइटेडविरुद्ध टाइब्रेकरमा पराजित भएपछि चेल्सी उपविजेतामा सीमित भएको थियो । त्यसबेला चेल्सीका जोन टेरीले टाइब्रेकरमा पाँचांै तथा अन्तिम प्रहार गोलमा परिणत गर्न नसकेपछि म्यान यु विजेता भएको थियो । कार्डका कारण प्रतिबन्ध सजाय पाउने क्रममा टेरी यसपटक भने फाइनलमा सहभागी हुन सकेनन् । चेल्सीको यस सफलताले क्लबका ‘अन्तरिम’ प्रशिक्षक रोबर्टो डी माटेओको भविष्य सोही क्लबमा रहने सम्भावना प्रबल भएको छ । गत मार्चमा टोलीको लगातार खराब प्रदर्शनपछि प्रशिक्षक आन्द्रे भिल्लास बोआसलाई बर्खास्त गरी चेल्सी मालिक रोमन इब्राहिमोभिचले तत्कालीन सहायक प्रशिक्षक माटेओलाई सिजनका बाँकी समय टोली सम्हाल्ने जिम्मेवारी दिएका थिए ।
च्याम्पियन्स लिगकै अन्तिम १६ को भिडन्तमा पहिलो लेगमा नेपोलीविरुद्ध ३–१ ले पराजित भएपछि प्रशिक्षक बोआस बर्खास्त गरिएर माटेओ अन्तरिम प्रशिक्षक नियुक्त भएका थिए । त्यसपछि माटेओले चेल्सीलाई नयाँ जीवन दिए । दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गरी नेपोलीको उक्त चुनौती पन्छाउँदै क्वार्टरफाइनलमा पुगेको चेल्सीले बेनेफिकालाई हराएर सेमिफाइनलमा बार्सिलोनाविरुद्ध भिडन्त तय गर्न सफल भएको थियो । साविक विजेता बार्सिलोनाविरुद्ध नाटकीय रूपमा विजयी हँुदै चेल्सी फाइनल पुगेको थियो । ४१ वर्षीय इटालियन माटेओले सम्हालेयता नै चेल्सीले फाइनलमा लिभरपुललाई हराएर गत साता मात्रै एफए कपको उपाधि पनि जितिसकेको छ ।
निर्धारित समयको खेल १–१ ले बराबरी भएपछि अतिरिक्त समयमा प्राप्त एक पेनाल्टी अवसरलाई अर्जेन रोबेनले सदुपयोग गर्न नसकेपछि बायर्न दोस्रोपटक जितनजिक पुगेर निराश हुन पुग्यो । ९५आंै मिनेटमा डच स्ट्राइकर रोबेनले गरेको पेनाल्टी प्रहारलाई चेकले सजिलै बचाए । डी–बक्सभित्र ड्रोग्बाले फ्रान्क रिबेरीलाई कुर्कुचामा प्रहार गरेपछि बायर्नले उक्त पेनाल्टी प्रहार गर्ने अवसर पाएको थियो । खेलभर दबाब सृजना गरेको बायर्नलाई निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा ड्रोग्बाले आकर्षक गोल गरी निराश बनाए । माटाले गरेको कर्नर प्रहारमा आएको बललाई हेडमार्फत ‘फस्ट’ बारमा हाईगोल गरी ड्रोग्बाले बायर्नलाई जितबाट टाढा पुर्‍याएका हुन् । ‘ड्रोग्बा आजका नायक हुन् । उनी हुन्नथे भने आज हामी सायद यहाँ यसरी रहन सक्दैनथ्यौं,’ चेल्सीका कप्तान फ्रान्क लाम्पार्डले भने, ‘आज उनले जे गरे, खेल्न थालेदेखि नै उनले यसरी नै प्रदर्शन गर्दै आइरहेका छन् ।’
घरेलु मैदानमा बायर्नले सुरुआतदेखि नै आफ्नो दबदबा कायम गरेको थियो । खेलभर २० वटा कर्नर प्रहारको अवसर पाएको जर्मन क्लबले ३१ पटक पोस्टमा आक्रमण गरेको थियो । तीमध्ये १३ वटा आक्रमण फ्रेमभित्र जाने गरी भएका थिए भने बाँकी बारभन्दा बाहिरबाट । चेल्सीले भने खेलभर जम्मा आठपटक पोस्ट आक्रमण गरेको थियो जसमा तीनवटा मात्र फ्रेमबाहिर भएर गएका थिए ।
बायर्नका टोनी क्रुज, मारियो गोमेज, थोमस मुलरसँगै रोबेनको फिनिसिङ कमजोर रहयो । ८३आंै मिनेटमा मुलरले हेडमार्फत आकर्षक गोल गर्नुअघि नै बायर्नले जितको हकदार प्रदर्शन गरेको थियो । फ्रान्क रिबेरीको क्रसमा मुलरले फस्ट बारको नजिकबाट हेडले प्रहार गरेको बल मैदानमा बाउन्स हँुदै गोल भएको थियो । यस गोलसँगै खेल जित्ने मनोबलमा देखिएको बायर्नले मुलरलाई लगत्तै इभान लुसिकको रूपमा प्रतिस्थापन गरेको थियो । च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा यसअघि टाइब्रेकरमा पराजय नव्यहोरेको बायर्न आइतबारको नतिजापछि घरेलु मैदानमा युरोपियन च्याम्पियन्स लिगविजेता हुने दुर्लभ अवसरबाट चुक्यो । सन् १९६५ मा इन्टरमिलानले आफ्नो मैदानमा युरोपियन च्याम्पियन्स लिग जितेयता कुनै पनि टोलीले उक्त उपलब्धि हासिल गर्न सकेका छैनन् ।
सन् २००१ को संस्करणमा भ्यालेन्सियालाई टाइब्रेकरमा पराजित गरी विजेता बनेको बायर्नले यसै संस्करणको सेमिफाइनलमा रियल म्याड्रिडलाई पनि टाइब्रेकरमा नै हराएको थियो । चारपटकको विजेता बायर्न पछिल्लोपटक सन् २०१० मा फाइनलमा पुगेर पनि इन्टरमिलानसँग हार व्यहोर्दै उपविजेतामा सीमित भएको थियो ।

प्रतिक्रिया