आइपिएलमा ‘स्पट फिक्सिङ’ प्रकरण


नयाँदिल्ली,  ३ जेठ । भारतीय एक टेलिभिजनले जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगितामा स्पट फिक्सिङ भएको रिपोर्ट सार्वजनिक गरेपछि आइपिएल काउन्सिलले दाबी गरिएका सबै पाँच खेलाडीलाई मंगलबार निलम्बन गरेको छ । घटनाबारेको अनुसन्धान नसकिंदासम्म ती खेलाडीलाई निलम्बन गरिएको आइपिएल काउन्सिलले जनाएको छ ।
निलम्बन हुने खेलाडीमा डेक्कन चार्जर्सका टिपी सुधिन्द्र, पुणे वारियर्सका मोह्निस मिश्र, किङस इलेभेन पन्जाबका सलभ श्रीवास्तव र अमित यादव छन् । आइपिएल अध्यक्ष राजीव शुक्लाले निलम्बन हुने अर्का खेलाडीको नाम स्पष्ट नगरे पनि ‘मिस्टर बाली’ भनेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को एन्टी करप्सन तथा सेक्युरिटी युनिट
(एसिएसयु) का पूर्वअध्यक्ष रवि सवानीले यस घटनाको छानबिन गर्ने शुक्लाले जानकारी दिए ।
भारतीय टेलिभिजन इन्डियन टिभीले ‘स्टिङ अप्रेसन’ मार्फत स्पट फिक्सिङ प्रकरण बाहिर ल्याएको थियो । ‘वार्तालाप (स्टिङ अप्रेसनमा भएको) अरू म्याचबारे पनि छ जुन आइपिएलभन्दा बाहिर र आइपिएलका विगतका संस्करणसँग पनि सम्बन्धित छन् ।’ मंगलबार बसेको आकस्मिक बैठकपछि शुक्लाले भने, ‘बिसिसिआई अध्यक्षले छानबिनका लागि सवानीलाई कमिस्नर नियुक्त गर्ने निर्णय गर्नुभएको छ । सवानीले प्रारम्भिक अनुसन्धान गर्नुहुनेछ । त्यसको प्रतिवेदन अनुशासन कमिटीमा पठाइनेछ ।’
घटनाका एक आरोपित सलभले आफू दोषी नरहेको दाबी गरे । ‘स्पट फिक्सिङबारे के भनिएको छ भन्नेमा मैले केही बुझेकै छैन । यदि टिभीले सबै भिडियो क्लिप देखाइरहेको छ भने किन मलाई सो देखाउँदैनन् जसमा म १० लाख रुपियाँ मागिरहेको
छु ?’ सलभले भने । उनले टेलिफोन वार्तालापमा आफ्नो भनिएको स्वर ‘झुटो’ भएको दाबी गरे ।
इन्डिया टिभीले एक खेलाडीले नो बल फ्याँकेको भिडियो र उसले नो बलका लागि पैसा माग गरेको टेलिफोन ‘रेकर्ड’ सार्वजनिक गरेको थियो । अन्य तीन खेलाडीले पनि फिक्सिङका लागि वार्ता गरिरहेको उक्त टिभीले सार्वजनिक गरेको छ । ‘स्टिङ अप्रेसन’ का लागि इन्डिया टिभीले आफ्नै रिपोर्टरलाई ‘स्पोटर््स एजेन्ट’ का रूपमा प्रयोग गरेको थियो ।

प्रतिक्रिया