बंगलोरलाई हराउँदै मुम्बई दोस्रो स्थानमा

मुम्बई, २ जेठ । किरोन पोलार्ड र अम्बाटी रायुडुले सानदार ब्याटिङ गरेपछि मुम्बई इन्डियन्स सोमबार रोयल च्यालेन्जर्स बंगलोरलाई ५ विकेटले हराएर इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगिताको अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ । १७२ रनको विजयलक्ष्य पाएको मुम्बई रायुडुले नटआउट ८१ र पोलार्डले नटआउट ५२ रनको योगदान गरेपछि २ बल बाँकी हुँदा पूरा गर्न सफल भएको हो ।
अन्तिम ओभरमा जितका लागि १४ रन आवश्यक रहँदा बलिङ गर्न आएका क्रिस गेललाई पोलार्डले ३ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए । उक्त ओभरको पहिलो बलमा १ रन लिंदै रायुडुले पोलार्डलाई स्ट्राइक दिएका थिए ।
खेल सकिनुअघि रायुडुले ५४ बलमा ६ चौका र ४ छक्का प्रहार गरे भने पोलार्डले ३१ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । रायुडु र पोलार्डबीच पाँचौं विकेटका लागि अविजित १२९ रनको साझेदारी भयो ।
१४ खेलपछि मुम्बईको १८ अंक छ । मुम्बईसँग समान अंक भए पनि रनरेटमा अगाडि रहँदै दिल्ली शीर्षस्थानमा छ । हारपछि बंगलोरलाई प्ले अफ अवसरका लागि धक्का पुगेको छ । १४ खेलपछि १५ अंकमा सीमित भएको बंगलोर अंकतालिकामा पाँचौं स्थानमा छ । समान अंक भएको चेन्नाई सुपरकिङस रनरेटमा अगाडि रहँदै चौथो स्थानमा छ । १३ खेलबाट १७ अंक भएको कोलकाता नाइटराइडर्स दोस्रो स्थानमा छ ।
यसअघि टस हारी ब्याटिङको निम्ता पाएको बंगलोरका लागि मायांक अग्रवालले ६४ र तिलकरत्ने दिल्सानले ४७ रनको योगदान गरेका थिए । मध्यक्रमका मायांकले ३० बलमा ६ चौका र ४ छक्का प्रहार गरेका थिए । विस्फोटक ब्याट्सम्यानद्वय क्रिस गेल ६ र विराट कोहली ३ रन जोडी आउट भए ।
यसअघि आइतबार सम्पन्न रोमाञ्चक भिडन्तमा किङस इलेभेन पन्जाबले डेक्कन चार्जर्सलाई ४ विकेटले पराजित गर्‍यो । १९१ रनको लक्ष्य पाएको पन्जाबले ६ विकेट गुमाउँदै अन्तिम बलमा सो लक्ष्य पूरा गर्‍यो । पन्जाबका लागि म्यान अफ द म्याच डेविड हसीले नटआउट रहँदै ३५ बलमा ६५ रन प्रहार गरे । उनले ४ चौका र ५ छक्का प्रहार गरे । अन्तिम समयमा आकर्षक इनिङ खेल्दै गुरकिरत सिंहले १२ बलमा ४ चौका र १ छक्काको मद्दतमा २९ रन जोडे । त्यस्तै अजहर मेहमुदले २० बलमा ३१ रन प्रहार गरे ।
अन्तिम ओभरमा पन्जाबलाई जितका लागि १६ रन आवश्यक रहँदा बलिङका लागि गएका डेक्कनका गोनी गुरकिरतसामु कमजोर रहे । गुरकिरतले इनिङको अन्तिम ४ बलमा २ चौका र १ छक्कासहित १६ रन जोडेका थिए । गुरकिरतले २०औं ओभरको तेस्रो बलमा छक्का र चौथो बलमा चौका प्रहार गरे भने पाँचौं बलमा २ रन लिंदै आफैले स्ट्राइक लिएका थिए । अन्तिम बलमा जितका लागि एक रन आवश्यक रहँदा उनले चौका प्रहार गरे ।
१३ खेलबाट १४ अंक जोडेको पन्जाब अंकतालिकाको सातौं स्थानमा छ ।

प्रतिक्रिया