मेसीलाई ‘युरोपियन गोल्डेन बुट’

लन्डन : स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टिनी खेलाडी लिओनेल मेसीले यस सिजनको ‘युरोपियन गोल्डेन बुट अवार्ड’ जितेका छन् । युरोपका घरेलु लिगमध्ये यस सिजनमा सर्वाधिक गोल गरेबापत मेसीले उक्त अवार्ड जितेका हुन् । २४ वर्षीय मेसीले यस सिजनमा स्पेनिस लिगमा ५० गोल गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी स्पेनिस लिगकै अर्को टोली रियल म्याड्रिडका पोर्चुगाली खेलाडी क्रिस्टियानो रोनाल्डो उनीभन्दा चार गोलले पछि रहे । लिगको अन्तिम खेलमा रोनाल्डोले एक गोल मात्र गरेपछि लगातार तीनपटकका फिफा वर्षखेलाडी मेसी युरोपका घरेलु लिगमा यस वर्ष सर्वाधिक गोल गर्ने खेलाडी भएका हुन् ।
बार्सिलोनाले सिजनको अन्तिम लिग खेलमा रियल बेटिसविरुद्ध २–२ ले बराबरी गर्दा मेसी गोल गर्न असफल भएका थिए । यद्यपि, रियलले अन्तिम खेल खेल्नुअघि नै मेसीले युरोपियन गोल्डेन बुट अवार्ड प्राप्त गरिसकेको धेरैले विश्लेषण गरिसकेका थिए ।
इङलिस क्लब आर्सनलका डच स्ट्राइकर रविन भान पर्सी युरोपका घरेलु लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा तेस्रो स्थानमा रहे । उनले ३० गोल गरेका हुन् । उनी पनि आर्सनलले वेस्ट ब्रुमविरुद्ध खेलको अन्तिम लिग खेलमा गोल गर्न असफल भएका थिए ।
जर्मन लिग बुन्डेसलिगामा सर्वाधिक गोल गरेका क्लस–जोन हन्टेलार समग्रमा युरोपमा चौथोमा रहे । इटालियन सेरी ‘ए’ मा सर्वाधिक गोल गरेका एसी मिलानका जिलाटन इब्राहिमोभिकलाई एक गोलले मात्र पछि पारेका साल्केका हन्टेलारले २९ गोल गरेका थिए । यता इटालियन सेरी ‘ए’ मा दुई फरक क्लबबाट एउटै लिग सिजनमा सर्वाधिक गोलकर्ताको उपाधि जित्ने जिलाटन पहिलो खेलाडी भए । यद्यपि, उनले पनि एसी मिलानको नोभारविरुद्ध अन्तिम लिग खेलमा गोल गर्न सकेनन् ।
त्यसैगरी, २७ गोल गरेका इङलिस क्लब म्यानचेस्टर युनाइटेडका वेन रुनी छैटौं स्थानमा रहे । उनले सन्डरल्यान्डविरुद्ध टोलीले अन्तिम लिग खेल १–० ले जित्दा निर्णायक गोल गरेका थिए । (एपी)

प्रतिक्रिया