रजस्वला हुने छात्रालाई अब क्याम्पसमै…

चितवन, १ जेठ । चितवनको मैयादेवी कन्या कलेजको स्वतन्त्र विद्यार्थी युनियनले कलेजमा अध्ययनरत छात्राहरुलाई महिनावारी अर्थात रजस्वला भएको समयमा उपलब्ध गराउन सहयोगका लागि सेनिटरी प्याड कलेज प्रशासनलाई हस्तान्तरण गरेको छ ।
पढ्दै गर्दा क्लासमा महिनावारी भएको अवस्थामा छात्राहरु पढाई छोडेर जानुपर्ने बाध्यतालाई मध्यनजर गरि स्ववियुले कलेज प्रशासनले आकस्मिक अवस्थामा छात्राहरुलाई दिने गरेर सेनिटरी प्याड हस्तान्तरण गरेको हो ।
कलेजकी स्ववियु सभापति निशा अधिकारीले मैयादेवी कन्या कलेजका प्रमुख कृष्णप्रसाद न्यौपानेलाई सेनिटरी प्याड हस्तान्तरण गरेकी हुन् । सभापति अधिकारीले छात्राहरुले पढाई छोडेर प्याड किन्न बाहिर जानुपर्ने अवस्था हटाउनको लागि कलेजलाई प्याड उपलब्ध गराएको बताईन् ।
भरतपुरको मैयादेवी कन्या कलेजमा एक हजार सात सय जना छात्रा अध्ययनरत छन् । कलेजमा कक्षा ११ देखि स्नातकोत्तर तहसम्म पढाई हुन्छ । कन्या कलेज भएपनि कलेजले यसअघि छात्राहरुको यस्तो समस्याको समाधानको लागि कुनै व्यवस्था गरेको थिएन ।
स्ववियुले एक वर्षको लागि आवश्यक पर्ने सेनिटरी प्याड व्यवस्था गर्ने पनि अधिकारीले जानकारी दिईन् ।

प्रतिक्रिया