राजस्थानको आशा जीवितै

जयपुर, १ जेठ । पुणे वारियर्सलाई ४५ रनले पराजित गर्दै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगितामा प्लेअफ खेल्ने सम्भावना जीवित नै राखेको छ । १७१ रनको लक्ष्य पछयाएको पुणेले नौ विकेटको क्षतिमा १२५ रन जोडेको थियो । जितपछि राजस्थान १४ अंकसहित छैटौं स्थानमा छ ।
आइतबारको खेलमा राजस्थानलाई जित दिलाउने क्रममा अजित चान्डिलाले यस सत्रको पहिलो हयाट्रिक गरे । उनले चार ओभरको बलिङ कोटामा १३ रन खर्चिंदै चार विकेट लिए । यस सिजनमा यसभन्दा अघि चान्डिलाले कुनै पनि विकेट लिएका थिएनन् । आश्चर्यजनक हयाट्रिक गरेका चान्डिलाले सिकार गरेका कुनै पनि ब्याट्सम्यान शून्यमा आउट भएनन् । दक्षिण अफ्रिकी अफ स्पिनर योहान बोथाले चार ओभरमा २५ रन खर्चिंदै दुई विकेट लिए । चान्डिलाको धारिलो बलिङका सामु निरीह पुणे सुरुआतमै संकटमा फसेको थियो । लगातार चार ओभर बलिङ गरेका २८ वर्षीय अफस्पिनर चान्डिलाले सुरुआती चार ब्याट्सम्यान सौरभ गांगुली (२), जेसी राइडर (१), रोबिन उथप्पा (६) तथा अनुस्टुप मजुम्दार (९) लाई आउट गरे । उथप्पाको विकेटपछि उनको हयाट्रिक पूरा भएको थियो । चौथो विकेट गुमाउँदा पुणेले २६ रन मात्र जोडेको थियो ।
पुणेले स्कोरबोर्डमा तेहोरो अंक पनि छुन कठिन हुने अवस्थामा क्यालुम फर्गुसनले २३ तथा स्टिभ स्मिथले ३७ रन जोडे । यी दुईले पाँचांै विकेटका लागि ३४ रनको साझेदारी गरे । बोथाले यी दुवै ब्याट्सम्यानलाई आउट गरे । सेन वाट्सनको बलमा आउट हुनुअघि एन्जेलो म्याथ्युजले २३ रन जोडे । पुणेका अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले चार विकेटको क्षतिमा १७० रन जोडयो । राजस्थानका लागि सेन वाट्सन र अजिङ्क्या रहानेले सानदार ब्याटिङ गरे । अन्तिम ओभरमा आउट भएका ओपनर रहानेले ४७ बलको सामना गर्दै ६१ रन जोडे । उनले सात चौका प्रहार गरे । वाट्सनले ३१ बलमा ५८ रन जोडे । उनको विस्फोटक इनिङमा ६ चौका र ४ छक्का समावेश थिए । यी दुईले दोस्रो विकेटका लागि ९४ रनको साभेदारी गरे । कप्तान राहुल द्रविडले २१ रन जोडे । पुणेका बलरमा आशीष नेहरा प्रभावकारी रहे । उनले चार ओभरमा २३ रन खर्चिंदै शीर्ष तीन ब्याट्सम्यानलाई आउट गरे ।
प्रतियोगिताको शनिबार राति भएको दिवा–रात्री खेलमा चेन्नाई सुपरकिङसले शीर्षस्थानको दिल्ली डेयरडेभिल्सलाई नौ विकेटले पराजित गर्‍यो र दिल्लीले छाडेको ११५ रनको लक्ष्य चेन्नाईले १५.१ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्‍यो । चेन्नाईका ओपनर मुरली विजयले ४० बलमा ४८ रन तथा माइक हसीले ३२ बलमा ३८ रन जोडे । सुरेश रैनाले २० बलमा २८ रन जोडे ।
दिल्लीलाई कम योगफलमा सीमित गर्ने क्रममा बेन हिल्फेन्हसले घातक बलिङ गरे । उनले चार ओभरमा २७ रन खर्चेर शीर्ष तीन ब्याट्सम्यानलाई आउट गरे । उनले डेविड वार्नरलाई ८, वीरेन्द्र सहवागलाई ४ तथा नमन ओझालाई ३ रनमा आउट गरे । दिल्लीका योगेश नागरले ४३ तथा बेनुगोपाल रावले २७ रन जोडे । दिल्लीले पाँच विकेट मात्र गुमाए पनि सबै बलरले कसिलो बलिङ गरेपछि ११४ रनभन्दा अघि बढ्न सकेन । पराजयका बाबजुद दिल्ली १८ अंकसहित शीर्षस्थानमा छ भने कोलकाता नाइटराइडर्सको १७, मुम्बई इन्डियन्सको १६ तथा चेन्नाईको १५ अंक छ । राजस्थान रोयल्सको १५ अंक छ ।

प्रतिक्रिया