फाइनल जितेर इतिहास बनाउने चुनौती

काठमाडौं, ३१ वैशाख । नेपालले एसियाली क्रिकेट काउन्सिल (एसिसी) का यु–१६ बाहेक सम्पूर्ण उमेरसमूहका प्रतियोगितामा उपाधि जितेको छ । नेपाल एसिसी यु–१६ एलिट कपमा पनि उपाधिनजिक त पुगेको थियो तर स्वदेशमै आयोजना भएको गत संस्करणमा घरेलु टोली फाइनलमा सिंगापुरद्वारा पराजित भएको थियो ।
नेपाललाई यसपटक सो ‘ग्याप’ पूर्ति गर्ने राम्रो अवसर मिलेको छ । उमेरसमूहका प्रतियोगितामा क्लिनस्विप गर्नबाट नेपालसामु अब मलेसिया मात्र चुनौतीका रूपमा बाँकी छ । आइतबार मलेसियाविरुद्ध विजयी भए नेपाल सहभागी देशमध्ये एसिसीका सबै उमेरसमूह प्रतियोगिताको उपाधि जित्ने पहिलो टोली बन्नेछ ।
मलेसियामै सञ्चालन भइरहेको यस प्रतियोगितामा नेपालले सानदार प्रदर्शन गरिरहेको छ । कहाँसम्म भने फाइनलमा पुगेको मलेसिया पनि समूहचरणमा नेपालसँग पराजित भएको थियो । मलेसियाले यस उमेरसमूहमा नेपाललाई अहिलेसम्म हराउन सकेको छैन । गत संस्करणको सेमिफाइनलमा नेपालले नै मलेसियालाई पराजित गरेको थियो ।
नेपालले कुनै पनि खेल हारेको छैन, जारी प्रतियोगितामा । यसक्रममा गत संस्करणको विजेता सिंगापुर पनि सेमिफाइनलमा नेपालसँग पराजित भयो यद्यपि मलेसियाविरुद्ध समूहचरणमा प्राप्त सफलता नेपाली टोलीका लागि कठिन रहयो । अन्तिम विकेटका लागि ५२ रनको साझेदारी भएपछि मात्र नेपाल एक विकेटले विजयी भएको थियो ।
मलेसियाबाहेक नेपालले जारी प्रतियोगिताका हरेक खेलमा सानदार प्रदर्शन गरिरहेको छ । बलिङ र ब्याटिङ दुवैमा नेपालको प्रदर्शन जोडदार छ । नेपालका नुरध्वज सेन र जगदीश चन्दले दुई–दुईवटा अद्र्धशतक बनाइसकेका छन् भने अदिल खान, दीपेन्द्र चन्द, आसिफ शेख र आकाश विष्टले पनि अद्र्धशतकीय इनिङ खेलेका छन् । सुरुदेखि अन्तिमसम्म नेपालको ब्याटिङक्रम जमेको छ ।
बलिङ तथा फिल्डिङमा पनि नेपाली टोली अब्बल देखिएको छ । अलराउन्डरका रूपमा उदाएका आकाश विष्टले पाँच खेलमा गरी १५ विकेट लिइसकेका छन् । मलेसियाविरुद्ध समूहचरणको खेलमा आकाशले तीन विकेट लिनुका साथै ५५ रन जोडेका थिए । त्यस्तै कालीचरण यादवले पनि ११ विकेट लिएका छन् भने जगदीश चन्दले अलराउन्ड प्रदर्शन गरिरहेका छन् ।
यता समूहचरणमा नेपालबाहेक सबै टोलीलाई हराएको मलेसियाको ब्याटिङ प्रदर्शन भने कमजोर नै देखिएको छ । मलेसियाको जितको हतियार ‘बलिङ’ बन्ने गरेको छ । मलेसियाको बलिङ कति राम्रो छ भने सेमिफाइनलमा ७८ रनमा सीमित हुनुपरे पनि खेल सकिंदा उसले ओमानलाई ३२ रनले पराजित गरेको थियो । मलेसियाको उक्त योगफलमा २२ रन अतिरिक्त थियो । नेपालविरुद्ध मलेसिया १३९ रनमा सीमित भएको थियो यद्यपि सामान्य लक्ष्य पछयाएको नेपाललाई घरेलु टोली मलेसियाले कुनै समय ८८–९ को स्थितिमा पुर्‍याएको थियो ।
उमेर विवादका कारण यु–१५ र यु–१७ लाई ‘मर्ज’ गरी खेलाउन थालिएको यो प्रतियोगिता अहिले दोस्रो संस्करणका रूपमा चलिरहेको छ । एसिसीका यु–१५, यु–१७ र यु–१९ प्रतियोगितामा नेपाल च्याम्पियन भइसकेको छ । यु–१९ मा नेपालले लगातार चारपटक उपाधि जितेको थियो ।

प्रतिक्रिया