सुदूरपश्चिम १६औँ दिन पनि बन्द

कैलाली, ३१  वैशाख । अखण्ड सुदूरपश्चिमको माग राखेर जारी आन्दोलन १६ औँ दिन नाघेको छ । कैलालीको धनगढी, अत्तरिया, टीकापुर, लम्की तथा कञ्चनपुर, डोटी, डडेलधुरामा आन्दोलनकारीले नाराजुलुस, कोणसभा गरेर बन्द जारी राखेका छन् ।

नेकपा(एमाले)डोटीका प्रेम आलेले आफूहरू जातीय राज्यको विपक्षमा रहेको र सिंगो सुदूरपश्चिमलाई एक प्रदेश नबनाउँदासम्म आन्दोलन जारी रहने बताए । उनले एकीकृत नेकपा(माओवादी) ले सदियौँदेखि मिलेर बसेका समुदायबीच जातीय राज्य दिएर लडाउन खोजेको आरोप लगाए ।
यसैबीच बन्दकर्ताले धनगढीस्थत विनायक टोलमा रहेको ब्याकवार्ड एजुकेसन सोसाइटी (बेस)को कार्यालयमा आगजनी गरेका छन् । उता शुक्रबार राति थारूवान कार्यकर्ताले कैलाली श्रीपुर घोरपुरमा अखण्ड सुदूरपश्चिम समर्थकलाई मेस चलाएर खाना खुवाएको भन्दै कृष्ण थापाको पसलमा ढुंगामुढा गरेका छन् । उनीहरूको ढुंगामुढाबाट थापा र स्थानीय हुकुम विष्ट घाइते भएका छन् । त्यस्तै थारूवान कार्यकर्ताले धनगढी जाइमा से २ प ६८३२ नम्बरको मोटरसाइकल जलाएका छन् ।

प्रतिक्रिया