ज्ञानको शाश्वतता

अन्धकारको अर्थ हो–अज्ञानता/ अज्ञानताको अर्थ हो– ज्ञानको न्यूनता । केवल बाँच्नु मात्रै कुनै कला होइन । तिमी सास फेरिरहेका छौ अर्थात् जिउँदो छौ, घुमफिर गरिरहेका छौ यो कुनै कला होइन । कला हो तिमीले जीवनलाई कुन तरहबाट गतिशील गरेका छौ । जीवनलाई गतिशील गर्ने जुन क्रिया छ त्यो स्वयंमा पूर्ण ज्ञान हो, चेतना हो । र, अनि त्यो छैन भने त फेरि अन्धकार हो । अन्धकारमा हिंसा, स्वार्थ, झुट फट्याइँ भइरहन्छ । ज्ञानले व्यक्तिलाई सिर्जन गर्छ र ऊभित्र जुन झुट छ, छल छ, द्वेष छ, त्यसलाई खतम गरिदिन्छ । ज्ञानले उसको मानसबाट त्यो विन्दुलाई धोइदिन्छ, जसले गर्दा हिंसा आदि समस्या पैदा नहोस् । यस्तै अन्धकार युग ऋषिकालमा पनि आयो जहाँ ऋषिहरू आपसमा लड्न लागे, उनीहरूको इगो टकराउन थाल्यो, उनीहरूको विद्वता टकराउन थाल्यो । हरेकले भन्ने गर्थे– म बडो विद्वान् हुँ ।
यो अहंकार यति धेरै टकरायो कि विश्वामित्रजस्ता ऋषिले वशिष्ठका सय भाइ छोरालाई समाप्त गरिदिए एक–एक गरेर । यो एक चरम सीमा थियो अन्धकारको । अन्धकार त पटक–पटक आउने गर्छ । यस्तो अन्धकारमा हामी कति दीप जलाएर राख्छौँ, कति ज्ञानको ज्योति जगमगाएर राख्छौँ, यो महत्त्वपूर्ण कुरा हो । हामी स्वयं एकाइ हौँ, दुनियाँसित हाम्रो सम्बन्ध होस् वा नहोस् । यदि कुनै कार्यक्रमका लागि सबै मिलजुल गरेर सुन्दर मञ्च सजायो, त्यो प्रेमको द्योतक हो– सबै एकसाथ छौँ, मिलेर काम गर्‍यौँ । यस्तो काम तनावबाट हुन सक्तैनथ्यो, आपसी घृणाले हुन सक्दैनथ्यो, आपसी फुट गुटबन्दीबाट हुन सक्दैनथ्यो । यसर्थ हृदय परिमार्जन हुने क्रियाबाट अन्धकारमाथि ज्ञानको विजय प्राप्त गर्न सकिन्छ । त्यो समयमा जब यस्तो अन्धकार चारैतिर फैलियो, सय पुत्र समाप्त गर्ने स्थिति बन्न गयो, सब ऋषिहरू एकगठ भए । उनीहरू सय, दुई सय, तीन सय वर्षको आयु प्राप्त ८८ हजार ऋषिका बीच कसलाई अध्यक्ष बनाउने भन्ने प्रश्न उठ्यो । निर्णय भयो– अध्यक्ष त्यस्ता बनुन् जो ज्ञानको उचाइमा माथि हुन्, जसभित्र ज्ञानको ज्योति प्रज्वलित होस्, जो स्वयंमा ज्ञानका सरोवर हुन् । त्यतिबेला शुकदेव उमेरमा केवल १२ वर्षका मात्रै थिए, उनलाई व्यास पीठमा बसाइयो । उनी मुख्य अधिष्ठाता बने– उनका पिता, हजुरबा, काका र बाँकी सब ८८ हजार ऋषि मुन्तिर आसनमा बसे शिष्यवत् । यस्तै निर्णय भयो ।
ज्ञानोपि शत बशेतां प्रदेन : जोसँग ज्ञान छ, ऊ नै जीवनमा पूर्ण छ । जोसँग ज्ञान छ, विवेक छ, उसले जान्दछ मैले के गर्नुपर्दछ, म के गरिरहेको छ । के म प्रेम फैलाइरहेको छु, म घृणा फैलाइरहेको छु, या आनन्द फैलाइरहेको छु, चेतना फैलाइरहेको छु, अर्कोलाई सुमार्गमा गतिशील गराइरहेको छु या कुमार्गतिर हिँडाइरहेको छु ? यो नै विवेक हो । उहिले प्रश्न उठ्यो– कुन प्रकारले संसारको अन्धकार दूर हुन्छ, कुन प्रकारबाट हामीले आफ्नो जीवनलाई परिमार्जन गर्न सक्छौँ, जीवनका समस्त भोग पनि भोग्न सकियोस् हामीले चाहेको प्राप्त गर्न गर्न सकियोस् र जीवनलाई माथि उठाउन सकियोस् । र, दोहोर्‍याएर भनिरहेको छु– साधारण रूपले जिउनु जीवन होइन, तिमी किशनलाल या छमनलाल बनेर बित्यौ, त्यो जीवन होइन । सारा संसार आँखा तानेर हेरोस् कि यो व्यक्ति को हो ? तिम्रो हातले मन्दिर बनेको छ, तिम्रो हातले शुभकार्य भएको छ भने समाजमा शिरोमणि हो ।
तिमी संगीतको क्षेत्रमा, कलाको क्षेत्रमा या अन्य कुनै क्षेत्रमा उच्चस्तरको हुनुपर्‍यो । महानताको परिभाषा हो– तिम्रो कामबाट संसारमा कस्तो प्रभाव पर्‍यो ? तिमी के हौ भन्ने हेरिँदैन, तिमीले गरेको कामले समाजमा कस्तो प्रभाव पारेको छ, त्यो महत्त्वपूर्ण कुरा हो । तिमी धनको दास हुने होइन, धन तिम्रो दासी बनोस्, सहयोगी बनुन् चाहे देवता नै किन नहुन् । तिमीमा छल–कपट नहोस्, झुट नहोस्, घृणा नहोस् । ऋषिहरूले शुकदेवसित यही प्रश्न गरे– हाम्रो मनमा छल, कपट, झुट, व्यभिचार, असत्य, अत्याचार बढ्यो, हामी कसरी पुन: उही ऋषितुल्य जीवन बाँच्ने हो, हामी कुन तरिकाले स्वयं एक स्तम्भ बन्ने हो, त्यसमा तपाईंको विचार के छ ? हामी के गरौँ, कुन साधना गरौँ ? कस्तो साधना ? मार्ग कुन हो ? यजुर्वेदमा ५० पटक यो शब्द आएको छ–
तन्मे मन शिव संकल्पमस्तु: त्यसैले मनलाई शिव भनिएको हो । शिवमय बन्नाले नै मनमा प्रसन्नता आउन सक्तछ । माथि उठ्नका लागि उमेर कुनै बाधक बन्दैन । ५० वर्ष उमेरको विद्वान् होस् यो आवश्यक छैन । चेतनाको पुञ्ज निरन्तर बलिरहनुपर्‍यो । ज्ञानको दीपक जब निभ्छ, मानिस मर्छ । दीपक निभ्छ स्वार्थले, दीपक निभ्छ छलले । सम्बन्धले कुनै काम दिँदैन, न माता, न पिता, न पढाइ न डिग्री– केही काम लाग्दैन । मेरो कर्तव्य छ माता पिताप्रति । किनभने उनीहरूले मलाई जन्म दिएका हुन्, तर यो सम्बन्ध केवल शरीरगत सम्बन्ध हो । त्यसैले भनिएको छ–
तन्मे मन शिव संकल्पमस्तु: तनबाट कोही कसैको हुँदैन, हुन्छ भने मनबाट नै हुन सक्छ । किनभने मन स्वयंमा पूर्ण पवित्र हुन्छ । मनबाटै मनसँग सम्बन्ध हुन सक्तछ । मेरो मन शुद्ध छ भने अगाडि बस्नेको मन पनि शुद्ध छ– मेरो मनमा प्रेम पैदा हुन्छ । मैले मुस्कुराएर कुरा गरेँ भने तिमी त्यसरी नै कुरा गर्नेछौ । मैले झुट–छलका साथ कुरा गर्छु भने तिम्रो मन पनि स्वत: झुट र छलबाट कुरा गर्नेछ ।
अनुवाद : शिव ढकाल
निखिलमन्त्र विज्ञान पत्रिकाबाट

प्रतिक्रिया