बन्द कारण सर्वसाधारणलाई सास्ती

काठमाडौं, २९ वैशाख । नेपाल बन्दको दोस्रो दिन राजधानी लगायत मुलुकभरीको जनजीवन कष्टकर बनेको छ ।
राष्ट्रिय अखण्डता र भावी संविधानमा आफ्नो पहिचानलगायतका मागसहित संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको दुईदिने नेपाल बन्दको दोस्रो पनि उपत्यकाको जनजीवन प्रभावित भएको महानगरीय प्रहरीले जनाएको छ ।
क्षेत्री, ब्राह्मण, दशनामी सन्यासी, ठकुरी, दलित, पिछडावर्गलगायतलाई आदिवासीमा सूचीकृत गर्नुपर्ने मागसहित आह्वान गरिएको बन्दको प्रभाव राजधानीमा उल्लेख्य रुपमा परेको छ । बन्द अवज्ञा गरेको भन्दै नयाँबानेश्वरमा बन्द आयोजकले बा १ ज ५५०२ नम्बरको ट्याक्सी जलाइदिएका छन् ।
संघर्ष समितिको बन्दका कारण राजधानी उपत्यकाका शैक्षिक संस्था, उद्योग÷कलकारखाना, यातायात, पसललगायत ठप्प छन् ।
नयाँबानेश्वर, कोटेश्वर, सातदोबाटो, कलङ्की, कालीमाटी, गोङ्गबु, महाराजगन्ज, चाबहिल, पुतलीसडकलगायतका स्थानमा प्रदर्शनकारीले नारा, जुलुससहित सडकमा उत्रिएका छन् । बन्दको प्रभाव हिजोको तुलनामा आज अलिधेरै परेको छ ।
उनीहरुले छिटफुटरुपमा चलेका सवारी साधनलाई पनि चेकजाँच गर्ने गरेका छन् ।
यसैवीच, चितवनमा बन्दको उलंघन गरेको आरोप आयोजकले रेडियो चितवनका समाचार सम्पादक शालिग्राम नेपाल माथि हातपात गरेका छन् । नेपालमाथि रत्ननगरको बकुल्लहर चोकमा बन्दकर्ताहरुले हातपात गरेका हुन् ।
विराटनगरमा पनि बन्दको उल्लेख्य प्रभाव परेको छ । बन्द सफल बनाउन संघर्ष समितिका नेता तथा कार्यकर्ता सडकमा उत्रिएका छन् ।

प्रतिक्रिया