‘घरको बाघ’ बन्यो पुलिस क्लब

काठमाडौं, २९ वैशाख । नेपाली फुटबलमा पछिल्लो आधा दशकदेखि एकतर्फी प्रभाव जमाउँदै आएको नेपाल पुलिस क्लबको अन्तर्राष्ट्रिय प्रतियोगितामा, र त्यसमा पनि विदेशमा, प्रदर्शन खस्कँदो रहँदै आएको देखिएको छ । भरखरै कम्बोडियाको नोम्पेन्हमा भएको एएफसी प्रेसिडेन्ट्स कप फुटबल प्रतियोगिताको छनोट खेलमा पुलिसको प्रदर्शन कमजोर रहयो । २०६३ मा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन भएदेखि नेपालको प्रतिनिधित्व गर्दै पाँचपटक एएफसी प्रेसिडेन्ट्स कपमा सहभागिता जनाएको पुलिस क्लबले पहिलो सहभागितामा नै उपविजेता भए पनि त्यसपछि प्रत्येक प्रतियोगितामा खस्कँदो प्रदर्शन गर्न पुग्यो ।
२०६३ सालमा अन्तिम खेलमा नेपाल आर्मी क्लबलाई पराजित गर्दै पहिलोपटक प्रेसिडेन्ट्स कपमा सहभागिता जनाएको पुलिस क्लबका जुमानु राई, अर्जुन रिजाल र भोला सिलवालको प्रदर्शन स्तरीय रहेको थियो । रक्षापंक्तिमा दीपक पौडेलको त्यत्तिकै स्तरीय प्रदर्शन र राकेश श्रेष्ठको प्रहरी टोलीको आकर्षण थिए । प्रेसिडेन्ट्स कप खेल्नकै लागि संकटा क्लबबाट पुलिस पुगेका रविन श्रेष्ठ त्यही समयदेखि नेपाली फुटबलका स्टारको रूपमा उदाएका थिए ।
दोस्रोपटक मुस्किलले छनोट भएको पुलिस क्लबले पूर्ववत् प्रदर्शन कायम राख्न सकेन । पछिल्लो समय घरेलु भूमिमा भएको प्रेसिडेन्ट्स कप छनोट खेलमा कुनै पनि जित हात पार्न नसकेको नेपाली टोलीले नोम्पेन्हमा सम्पन्न प्रतियोगितामा एक जित हात पारे पनि डोरडोई बिस्केकसँग फराकिलो अन्तरको हार व्यहोरेको थियो । नोम्पेन्ह क्राउन एफसीसँगको दोस्रो खेलमा १–० को साँघुरो गोलअन्तरले पराजित भए पनि खेलमा नोम्पेन्हले एकोहोरो दबाब दियो ।
नेपाली फुटबलमा व्यावसायिकताको चरण र विभागीय टोलीको उपस्थिति बारे बहस सुरु भइरहेको समयमा नेपाल च्याम्पियनको हैसियतले सहभागी भए पनि पुलिस क्लबको कमजोर प्रदर्शनले यो बहसलाई अझ उकास्ने नै छ । सन् २०१३ देखि क्लब लाइसेन्ससहितको घरेलु फुटबल सञ्चालन गर्नुपर्ने सोच एएफसीले ल्याइसकेपछि एउटा सरकारी निकाय त्यसमा रहन सक्ने या नसक्ने भन्ने प्रश्न त झनै जटिल बनेको छ ।
फुटबल संघको कुनै पनि नीतिको विरुद्धमा प्रष्ट आवाज उठाउन सक्ने जमात फुटबलको दुनियाँमा कम रहे पनि पर्दापछाडि मसिनो स्वरमा नै एउटा प्रश्न नउठेको होइन । आम नागरिकको पसिना बगेको र सरकारी हैसियत बोकेको विभागीय टोलीको एउटै प्रतियोगितामा सहभागिता कसरी ? यो प्रश्नको उत्तर सायद फुटबल अधिकारीसँग पनि छैन । यो प्रश्नको विगतमा एउटा जवाफ आउने गथ्र्याे । ‘पुलिस क्लबले राम्रो खेल्छ ।’ पुलिस क्लबको यो कमजोर प्रदर्शनपछि अब धेरैले यो जवाफ पनि दिन सक्नेछैनन् ।
घरेलु फुटबलमा पुलिस क्लबको प्रदर्शन गर्व गर्नलायक छ भन्नेमा कुनै शंका छैन । तर, यसपछिका अन्य पाटालाई बेवास्ता गरियो । रविन श्रेष्ठ, रितेश थापा, योगेश श्रेष्ठ, पर्वत पाण्डे र भोला सिलवालबाहेक अन्य खेलाडी अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता खेल्नलायक थिए कि थिएनन् भन्ने स्वाभाविक प्रश्न नउठेको होइन । घरेलु फुटबलमा पुलिसको आत्मविश्वास छ, पुलिससँग मैदानमा भेट हुनुअगाडि नै अन्य टोली मानसिक रूपले पराजित भइसकेका हुने गरेका छन् । तर, यो नै अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता खेल्नका लागि आवश्यक मापदण्ड त पक्कै होइन ।
टोलीमा रहेका दीपेन्द्र पौडेल र राकेश श्रेष्ठको उमेर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नका लागि योग्य थिएन (उनीहरूको उमेर झन्डै ३५ वर्षको हाराहारीमा छ) । दिलिप राई र भरत शाहको अनुभव पर्याप्त थिएन । जुमानु राईको फिटनेसको समस्या त्यस्तै थियो । पुलिस क्लबको सिंगो खेलकुद संरचनाकै बारे पनि प्रश्न उठेको समयमा यो कमजोर प्रदर्शन थप बहसको विषय बनेको छ । यो हारपछि पुलिस फुटबल टोली केवल ‘घरको बाघ’ मात्र भन्नमा बढी सुहाउने देखिएको छ ।

प्रतिक्रिया