नेपाललाई ‘बदला’ लिने अवसर

काठमाडौं : नेपाल एसियाली क्रिकेट काउन्सिल (एसिसी) यु–१६ एलिट कप प्रतियोगिताको फाइलन प्रवेशका लागि शुक्रबार साविक विजेता सिंगापुरविरुद्ध भिड्दै छ । वायुमास क्रिकेट मैदानमा हुने खेलमा साविक उपविजेता नेपाल गत संस्करणमा घरेलु मैदानमा व्यहोरेको हार बिर्संदै बदला लिने प्रयासमा हुनेछ ।
सन् २०१० मा नेपालमा भएको पहिलो संस्करणमा सिंगापुरले सानदार बलिङ प्रदर्शन गरी घरेलु टोलीलाई उपाधिबाट विमुख बनाएको थियो । शुक्रबार नै हुने अर्को सेमिफाइनलमा कनेरा ओवल मैदानमा घरेलु टोली मलेसिया र ओमानबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘बी’ मा सबै खेलमा विजयी हँुदै नेपालले समूह ‘ए’ को उपविजेता सिंगापुरलाई सेमिफाइनलमा प्रतिद्वन्द्वीका रूपमा पाएको हो । वायुमास मैदानमा नेपालले कुनै पनि खेल हारेको छैन । यता सिंगापुर भने पहिलोपटक वायुमासमा उत्रँदै छ । वायुमासको मैदानमा नेपालले २ सय ४६ रनको इनिङ खेल्दै इरानविरुद्ध १६७ रनले जितेको थियो ।
नेपालले चार खेलमा मलेसियाबाहेक अन्य प्रतिद्वन्द्वीसँग उत्कृष्ट ब्याटिङ गर्न सफल भयो । यता, सिंगापुरले भने ब्याटिङ राम्रो गर्न सकिरहेको छैन । विशेषत: पेनाडमा हुने अप्रत्याशित वर्षाका कारण सिंगापुरको ब्याटिङ राम्रो हुन सकेको छैन । सिंगापुरका प्रशिक्षक चेतन सूर्यवंशीले नेपालविरुद्ध हुने सेमिफाइनल भिडन्त आफ्ना टोलीका लागि जारी प्रतियोगिताकै सबैभन्दा कडा हुने अनुमान गरेका छन् । पछिल्लो संस्करणको तुलनामा नेपाली टोली यसपटक बलियो रहेको बताउँदै उनले भने, ‘यसपटक मैले नेपाललाई सर्वाधिक बलियो तथा आत्मविश्वासी टोलीका रूपमा लिएको छु, नेपाली खेलाडीले समूहमा उत्कृष्ट प्रदर्शन गरे ।’ यता, नेपाली टोलीका प्रशिक्षक मन्जुर आलम खानले नेपाल सिंगापुरलाई हराउन तयार रहेको बताए । ‘हामी सिंगापुरविरुद्ध बदलाको मानसिकतामा हुनेछौं । यसका लागि हामीले कडा मिहिनेत गरेका छौं ।’
नेपालले सेमिफाइनलसम्मको यात्रामा कुवेतलाई ७९ रन, बहराइनलाई आठ विकेट, इरानलाई १६७ तथा मलेसियालाई एक विकेटले पाखा लगाएको थियो । सिंगापुरले पहिलो खेलमा हङकङलाई सात रन तथा ओमानलाई १२ रनको झिनो अन्तरले पराजित गरेको थियो । समूहको अन्तिम खेलमा सिंगापुर थाइल्यान्डबाट नौ रनले पराजित भयो ।
प्रतियोगितामा नेपाली चार ब्याट्सम्यानले अद्र्धशतकीय इनिङ खेलेका छन् । दीपेन्द्र चन्द (७५), जगदीश चन्द (५१), अदिल खान (७२) तथा आकाश विष्ट (५५) ले अद्र्धशतक बनाएका हुन् । बलिङतर्फ आकाशले १२ र कालीचरण यादवले ११ विकेट लिएका छन् ।
यता, सिंगापुर क्याम्पमा भने दुई खेलाडी विशेष देखिन्छन् । अर्चित गोयन्का तथा नवीन पुरन मात्र सिंगापुरका भरपर्दा खेलाडी हुन् । दुवै खेलाडीमाथि सिंगापुरको ब्याटिङ टिकेको छ । बलिङमा सिमर मिग्लानी, गोयन्का तथा नवीन नै प्रमुख बलर हुन् । सो टोलीमा सिम बलरभन्दा अफ स्पिनरको बाहुल्यता बढी छ । ‘यतिबेला हामीलाई अभ्यासको निकै खाँचो थियो, मलेसियाविरुद्ध धेरै नराम्रो भयो, ब्याटिङ फिल्डिङ तथा बलिङमा स्तरीय प्रदर्शन हुन सकेन,’ आलमले भने, ‘नेट सेसन निकै राम्रो भएको छ, जहाँ जहाँ खेलाडीले गल्ती गरेका थिए, त्यही पक्षलाई मैले सुधार गर्ने प्रयास गरेको छु, मलाई विश्वास छ सिंगापुरलाई चुनौती दिनेछन् हाम्रा खेलाडीले ।’ (एजेन्सीका सहयोगमा)

प्रतिक्रिया